वामदेवले भने, ‘म गृह होइन, भेटघाटमन्त्री भए
काठमाडौं, ९ वैशाख, उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले प्रहरीका एसएसपी रमेश खरेल आफूलाई भेट्न नआएको भन्दै आक्रोश पोखेको धेरै भएको छैन । उक्त अभिव्यक्तिलाई लिएर उनी आलोचित पनि हुनुपर्यो ।
गृहमन्त्रीको पदमा बसेर प्रहरीको एसएसपी भेट्न नआएको झोकमा उनले पोखेको पीडा साँच्चिकै गजबको थियो । तर मंगलबार गौतमले घुमाउरो गरी यसको कारण बताएका छन् ।
आफ्नै पार्टी एमाले निकट मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको विचार गोष्ठीमा उनले आफूलाई ‘गृहमन्त्री’ नभइ ‘भेटघाटमन्त्री’को रुपमा प्रस्तुत गरे । गौतमले भेटघाटकै व्यस्थताका कारण आफूले गृह मन्त्रालयको कतिपय महत्वपूर्ण काम पनि गर्न नभ्याएको बताए ।
‘म हुन त गृहमन्त्री भएको मान्छे हुँ तर आजभोलि भेटघाटमन्त्री भएको छु’ उनले विचार गोष्ठीलाई सम्बोधन गर्दै भने, ‘घरमा गयो भेटघाट, मन्त्रालय गयो त्यही भेटघाट भएन भनेर यो कार्यक्रममा आएको यहाँ पनि भेटघाट, भन्ने हो भने म सँग त समय नै छैन ।’
गृहमन्त्री गौतमले यसो बताइरहँदा कार्यक्रम भएको राष्ट्रिय सभागृह हाँसोले भरिएको थियो । गौतम आफै केहीबेर हाँसो रोक्न सकेनन् ।
पार्टीको महाधिवेशन नजिकै गर्दा विचारका बहस चर्किएका बेला आफूले त्यसको अध्ययन गर्ने फुर्सद पनि नपाएको पार्टी उपाध्यक्ष समेत रहेका गौतमले बताए । गोष्ठीमा कार्यपत्र प्रस्तुत गरेका सचिव शंकर पोखरेल तर्फ हेर्दै उनले फेरि भने, ‘यो भेटघाट व्यस्थताले होला, मैले उहाँको कार्यपत्र पाउँदा पनि पाइन पाएको भएपनि पढ्ने थिइन होला ।