स्वास्थ्यचौकी भित्रै बलात्कार प्रयास, पानीपट्टी लगाउने बहानामा नाङ्गै बनाए

ज्वरोले थलिएर उपचारका लागि अभिभावकसहित बिहान ११ बजे स्वास्थ्यचौकीमा आएकी उनलाई पानीपट्टी लगाउने बहानामा निर्वस्त्र बनाएर दुई दुई घण्टासम्म यौन दुव्र्यवहार गरेका हुन्
नुवाकोट -  ‘म ज्वरोले सिकिस्त भएर स्वास्थ्यचौकीमा आएको थिएँ, तर उसले मलाई जबरजस्ती बलात्कार गर्न खोज्यो –जिल्ला प्रहरी कार्यालय नुवाकोटमा न्याय माग्न आएकी खड्गभञ्ज्याङकी एक किशोरीले बर्बरी आँसु झार्दै प्रहरीसामु आफ्नो वेदना यसरी पोखिन्। ‘पानीपट्टी गर्ने भन्दै सबै कपडा खोल्न लगायो, उनले भोगेको घटनाको कहानी सुनाइन्– ‘साथी पनि राख्न नदिई दुई घण्टासम्म ढोका बन्द गरेर यसै गरी निको पार्ने हो भन्दै जथाभावी मात्रै गर्यो।
खड्गभञ्ज्याङ गाविस वडा नं.–३ बाँसपानीकी १४ वर्षीया किशोरी सरिता गुरुङ (नाम परिवर्तन) लाई गएको बुधबार इलाका स्वास्थ्यचौकी खड्गभञ्ज्याङका ५६ वर्षीय अहेव शत्रुधन शाहले उपचार गर्ने नाममा जबरजस्ती बलात्कारको प्रयास गरेका थिए। ज्वरोले थलिएर उपचारका लागि अभिभावकसहित बिहान ११ बजे स्वास्थ्यचौकीमा आएकी उनलाई पानीपट्टी लगाउने बहानामा निर्वस्त्र बनाएर दुई दुई घण्टासम्म यौन दुव्र्यवहार गरेका हुन्। ‘किन यस्तो गरेको ? बाहिर बसेकी मेरो केटी साथीलाई बोलाइदिनु भन्दा पनि उसले अरूलाई भित्र ल्याउनु हुँदैन, उपचार गर्न गाह्रो हुन्छ भनेर टार्यो –पीडित किशोरीले भनिन्। उनका अनुसार अहेव शाहले शरीरका सबै कपडा खोल्न दबाब दिनुका साथै नखोलेमा उपचार नभएर मर्न सक्नेसम्मको त्रास देखाएका थिए।
‘कपडा खोल्न लगाएपछि मलाई डर लाग्यो र मानिनँ, उनले भनिन्– ‘लाज लागेको भए आँखा बन्द गर भनेर आँखा छोप्न लगायो अनि सबै कपडा जबरजस्ती खोलिदियो। अहेवको यौन दुव्र्यवहारको यातना सहेर छट्पटाउन पनि नसकेपछि चिच्च्याएकी उनको रुवाबासी सुनेपछि अभिभावकहरूले ढोका खोल्दा बलात्कारको सिकार हुन लागेको अवस्थामा भेटिएको स्थानीयले बताएका छन्। ज्वरोको उपचार गर्दा कपडा खोल्नु नपर्ने भए तापनि नियतवश बदमासी गरेको गाउँलेको आरोप छ। यदि त्यसरी उपचार गर्नैपरेमा महिला स्वास्थ्यकर्मीसँगै राख्नुपर्ने र त्यो पनि नभए अभिभावक वा अन्य कुनै महिला साथी राख्नुपर्ने प्रावधान छ। तर, उपचारका नाममा जबरजस्ती करणीको प्रयास गर्ने शाहलाई हदैसम्मको कारबाहीको माग गर्दै पीडित अभिभावक र गाउँलेले प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका छन्।
जाहेरीको आधारमा प्रहरीले अहेव शाहलाई पक्राउ गरी अनुसन्धान शुरू गरेको छ। घटनाको अनुसन्धान भरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख विपिनकुमार कर्माचार्यले बताउनुभयो। एक वर्षदेखि सो स्वास्थ्यचौकीमा कार्यरत शाहले उपचार गर्न आउने अन्य युवती तथा महिलाहरुलाई पनि संवेदनशीन अंगमा छुनेजस्ता यौन दुव्र्यवहारहरु गर्ने गरेको गाउँलेहरुले बताएका छन्। किशोरीमाथिको घटनापछि अहेवको हिंसा भोगेका धेरै महिलाहरु खुलेर कारबाहीको पक्षमा उत्रिएका थिए। ‘उसले धेरै महिलाहरुलाई यस्तै व्यवहार गर्ने गरेको रहस्य यो घटनापछि खुलेको छ, स्थानीय हरि रिमालले भने– ‘सामाजिक र पारिपारिक रूपमा तिरस्कृत हुने डरले आफूमाथि परेको पीडा लुकाएका रहेछन्। उनीहरुले अन्य पीडित महिलासहित सयौं जना स्थानीयको हस्ताक्षरसहित जिल्ला स्वास्थ्य कार्यालयमा पनि विभागीय कारबाहीको मागपत्र बुझाएका छन्। आजको नेपाल समाचारपत्रमा रामहरि गजुरेलले लेखेको खबर छ ।

, ,

news and entertainment