दुई लाख नेपाली महिला यौन व्यवसायमा संलग्न
काठमाडौँ, बैशाख ७–एक अध्ययन अनुसार भारतमा मात्रै करिब दुई लाख नेपाली महिला यौन व्यवसायमा संलग्न भएको पाइएको छ ।
ग्रीन तारा नेपाल र बेलायतको शेफिल्ड विश्वविद्यालयले संयुक्त रुपमा गरेको अनुसन्धानमा यस्तो पाइएको हो । यस्तै पछिल्लो समय खाडी मुलुक र अफ्रिकामा समेत नेपाली महिला यौनधन्दाका लागि लैजान सुरु गरिएको र त्यसलाई तत्काल नियन्त्रण गर्न आवश्यक रहेको प्रतिवेदनमा आँैल्याइएको छ ।
वैदेशिक रोजगारीमा जाने नेपाली महिलाहरुले कामका सिलसिलामा गन्तव्य मुलुक र स्वदेश फिर्तापछि पनि जटिल समस्या भोग्नुपरेको समेत अनुसन्धान प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदनमा नेपालबाट विदेशिने कामदारको सङ्ख्या बर्सेनि बढ्दै गएपनि राज्य पक्षबाट यसलाई व्यवस्थित गर्न नसक्दा विकराल समस्या उत्पन्न भएको औंल्याइएको छ ।
आर्थिक अवस्था कमजोर, बच्चाको शिक्षा, परिवारको दबाब र आर्थिक प्रलोभन जस्ता कारणले महिलाहरु विदेशिने गरेको प्रतिवेदनमा उल्लेख छ ।