रेखाले स्विकारिन् सुदर्शनसँगको प्रेम

अभिनेत्री रेखा थापाले फूलपाती रिलिजको फिल्म ‘हिम्मतवाली’का को-स्टार सुदर्शन गौतमसँग आफ्नो प्रेम रहेको स्विकार गरेकी छिन् । कान्तिपुर दैनिकका सुशील पौडेलसँगको कुरामा रेखाले भनेकी छिन्, ‘म उसलाई माया गर्छु । तर यो लुकीछिपी गरिने जस्तो लभ पनि होइन । अनि मेरो कारण उसको परिवारमा पनि असर गर्दैन ।’


रेखाकै निर्माण एवम् निर्देशन रहेको ‘हिम्मतवाली’मा पहिलो पटक अभिनय गरेका सुदर्शनले १३ वर्षको उमेरमा करेन्ट लागेर दुवै हात गुमाएका छन् । क्यानडामा विवाहित परिवार सहित रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका सुदर्शनबारे रेखाले भनेकी छिन्, ‘सुदर्शन मेरो सन्तान पनि हो । ‘हिम्मतवाली’बाट ऊ रियल हिरोको रुपमा जन्मिदैछ । अभिभावकको हिसाबले माया लाग्नु नौलो होइन ।’

आफैं खुट्टाले गाडी समेत हाँक्ने सुदर्शनले चाहि अभिनेत्री थापा आफ्नो लागि भगवान भएको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘फिल्ममा मैले जति अभिनय गर्न सकें त्यो सबै रेखाकै देन हो ।’ सुदर्शनबाट अभिनय लिन आफुले धेरै नै पसिना बगाएको रेखाले बताएकी छिन् । उनले भनेकी छिन्, ‘काम गर्दा असहज नहोस् भनेर सानो बच्चालाई जसरी उसलाई काखमा राखेर पनि अभिनय सिकाएकी छु । मलाई आफ्नो को-स्टार मजबुत हुनुपर्छ भन्ने थियो । त्यसैले नजिक राखेर काम लिएँ ।’ 


कामको सिलसिलामा घुलमिल हुँदा एक अर्काबिच घनिष्टता बढेको रेखाले बताएकी छिन् । सुदर्शनले पनि अनयासै सम्बन्ध नजिकको हुन गएको बताएका छन् । रेखाले उत्साहित हुँदै भनेकी छिन्, ‘भगवान् कसम ऊ जस्तो केटा पाए भोली नै बिहे गर्थें ।’ सुदर्शन मजाकमा प्रतिउत्तर दिन्छन्, ‘म जस्तो केटा त म नै हुँ ।’ सुदर्शनप्रति हित्तचित्त जानुमा उसको हिम्मतवाला छवि रहेको रेखाको ठम्याइ छ । उनले भनेकी छिन्, ‘दुवै हात नभएरपनि उसले सगरमाथा चढ्यो ।’

क्यानडास्थित कन्जरभेटिभ पार्टीका निर्वाचित नेता सुदर्शनले सगरमाथा सहित पाँच हिमालको आरोहण गरेका छन् । रेखा र सुदर्शनबिचको प्रेम रहेको कुरा फेसबुक स्टाटसमा भएको कमेन्टले बाहिरिएको थियो । सुदर्शनले भनेका छन्, ‘म जे गर्छु आफ्ना लागि गर्छु । मैले सगरमाथा आफ्नो सन्तुष्टिका लागि चढें । कमेन्ट पनि मलाई लागेको भावना लेखें ।’

रेखाले पनि आफ्नो होम प्रोडक्सनबाट आएका अन्य हिरोहरु भन्दा सुदर्शन ‘रियल’ हिरो भएको बताएकी छिन् । रेखाले भनेकी छिन्, ‘सुदर्शन वास्तविक हिम्मतवाला हुन् । अब कपाल पालेका वा मुक्का हान्ने मात्रै हिरो हुने सोचका दर्शक पनि छैनन् ।’

, ,

news and entertainment