मेनेन्जाइटिस नामक घातक रोग एमाले नेता ओलीलाई देखियो, केही दिन अस्पतालमै राख्नुपर्ने


वैशाख १५ गते,काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई मेनेन्जाइटिस नामक घातक रोग देखिएको छ ।
आइतबार राति उपचारार्थ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना हुनुभएका नेता ओलीलाई स्वास्थ्य परिक्षणका मेनेन्जाइटिस भेटिएको उपचारमा संलग्न चिकित्सक डा. कृष्णकुमार ओलीले जानकारी दिनुभयो । मेनेन्जाइटिसको आशंकामा ढाडको पानी निकालेर परीक्षण गरिएको थियो ।
गत महिना भारतको म्याक्स अस्पतालमा एक महिना उपचार गरी स्वदेश फर्कनुभएका नेता ओलीलाई ज्वरो आउने र बान्ता भएपछि चिकित्सकको सल्लाहमा आइतबार राति २ बजे अस्पताल भर्ना गरिएको थियो । उहाँको उपचारमा न्यूरोलोजिष्ट डा. ओलीसहित बिक्रम गजुरेल तथा मिर्गौला रोग विशेषज्ञ दिब्या सिंह र कनकबहादुर राउतको टिम संलग्न छ । नेता ओलीलाई स्वास्थ्योपचारका लागि अझै केही दिन अस्पतालमै राख्नुपर्ने चिकित्सकको भनाइ छ ।
ओलीको सात वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । ओली पुनः अस्वस्थ भएपछि पार्टीको नवौंँ महाधिवेशनको तयारीका लागि दस्तावेज लेखनलगायत पूर्वनिर्धारित कार्यक्रम प्रभाव हुन सक्ने औंल्याइएको छ ।
१२ दिन अघिमात्र उपचार गराएर भारतबाट फर्किएका ओलीलाई भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालका चिकित्सकहरुले कम बोल्न र आराम गर्न सल्लाह दिए पनि स्वदेश फर्केलगत्तै महाधिवेशनको दौडधुमा लाग्नुभएको थियो ।

के हो मेनेन्जाइटिस ?

मेनेन्जाइटिस एउटा सरुवा रोग हो । मेनेन्जाइस रोगका जीवाणुहरु मानिसको मस्तिष्कमा पुगेपछि यो रोगको लक्षण देखापर्छ । यो रोग लागेपछि दिमाग र यसका अन्य भागहरु सुनिन्छन् र। यो रोग लागेर बिरामी अपाङ्ग हुनसक्छ । यो रोग लागेर कुनैकुनै बिरामीको मृत्युसमेत हुने सम्भावना हुन्छ । यो रोग छोटो समयमै धेरै व्यक्तिहरुमा लाग्नसक्छ । कहिलेकाँही भाइरसका कारण पनि यो रोग सर्न सक्छ ।

रोग लाग्नुको कारण

यो रोग मेिनन्जोकोकस वा न्युमोकोकस नामक सुक्ष्म जीवाणु वा बिभिन्न किसिमका विषाणु वा फङ्ग्सको कारणले लाग्दछ । नेता ओलीलाई यसअघि हातमा फङ्ग्स देखिएको थियो । जसका कारण यो रोग लागेको आशंका गरिएको छ ।

रोग सर्ने तरिका

यो रोग बिरामीसँगको प्रत्यक्ष सम्पर्कबाट निरोगी व्यक्तिमा सर्दछ ।

रोगका लक्षणहरु

अचानक उच्च ज्वरो आउने, टाउको दुख्ने र बान्ता हुने ।
गर्दन र घाँटी अर्रो र कडा हुने ।
अचेत हुने र मुर्छा पर्ने ।
मांसपेशीहरु दुख्ने र कमजोर हुने ।
दिमागमा असर परेका लक्षणहरु देखापर्ने ।
काँप्ने, थरधराउने, रिँगटा लाग्ने ।
शरीरमा बिबराहरु आउने ।

,

news and entertainment