मोदीको शपथ ग्रहणमा प्रधानमन्त्री कोइराला आज भारत जाँदै
कोइरालाले दैनिक पत्रिकाका सम्पादक तथा केही पत्रकारसँग आइतबार बालुवाटारमा भने, ‘नेपालमा शान्ति, स्थायित्व र विकास भएमात्रै दुवै छिमेकीका चासो पूरा गर्न सक्छौं। नेपालको शान्ति र स्थायित्वबाट भारत र चीन दुवैलाई फाइदा हुन्छ। यो कुरा बुझाएर हामीले दुवै विकसित देशबाट फाइदा लिन सक्नुपर्छ।’ भारत भ्रमणका क्रममा आफूले शान्ति, स्थायित्व र लोकतन्त्रका लागि सहयोग लिने प्रयास गर्ने पनि उनले बताएको समाचार आजको अन्नपूर्णपोष्टमा किरण पोखरेलले लेखेकाछन्।
मोदीले आफ्नो शपथ ग्रहणमा छिमेकीलाई पनि निमन्त्रणा गरेर शान्ति र स्थायित्वबाट मात्रै यस क्षेत्रको समृद्धि हुन्छ भन्ने सन्देश दिन खोजेको कोइरालाले बताए। ‘यस क्षेत्रमा यो नौलो घटना हो। मोदीले आफ्नो निर्वाचन अभियानमा विकास र छिमेकी मुलुकसँगको सम्बन्धलाई विशेष जोड दिनुभएको थियो’, कोइरालाले भने, ‘यो विशेष परिस्थितिमा बोलाइएको हो। भेटघाट र कुराकानी हुने राम्रो अवसर मिल्यो भने म मुलुकको विकास र प्रगतिका लागि आवश्यक पर्ने शान्ति, स्थायित्व र हामीले भन्दै आएको एक वर्षमै लोकतान्त्रिक संविधान निर्माण गर्ने विषयमा सहयोग लिने प्रयास गर्नेछु।’
कोइरालाले सद्भावना भ्रमणमात्र हुन लागेकाले द्विपक्षीय विषयमा धेरै लामो छलफल गर्ने अवसर मिल्न नसक्ने बताए। उनले भने, ‘यसअघि कसैले यस्तो गरेका थिएनन्। सामान्य भेटघाट त हुन्छ नै, छलफल गर्ने मौका मिल्यो भने नेपालको प्रगतिका लागि जलस्रोत, कृषि र पर्यटनको विकासमा जोड दिनेछु।’
प्रधानमन्त्रीले भारत र चीन दुवैले नेपालसँग सुरक्षा चासो प्रकट गर्ने गरेको र नेपालले पनि त्यसमा दुवै देशलाई विश्वास दिलाउन खोजेको बताए। भारत र चीनको आर्थिक समृद्धिले सार्क क्षेत्रलाई नै फाइदा पुग्ने बताउँदै उनले भने, ‘मैले यो क्षेत्रमा सकारात्मक आशा देखेको छु।’
मोदीको निम्तोलाई आफूले छिमेकीसँग रहेका समस्या उच्चस्तरीय राजनीतिक स्तरमै गर्ने इच्छा प्रकट गर्न खोजेको रूपमा बुझेको पनि कोइरालाले बताए।
प्रधानमन्त्री कोइरालाले नेपालमा भारतीय उच्चस्तरीय भ्रमण लामो समयदेखि नभएकाले मोदीलाई भ्रमण गराउन आफूले सक्दो प्रयास गर्ने पनि बताए। सन् १९९७ मा तत्कालीन प्रधानमन्त्री इन्द्रकुमार गुजरालले नेपाल भ्रमण गरेयता कुनै भारतीय प्रधानमन्त्री आएका छैनन्।
सार्क सम्मेलनका क्रममा भने सन् २००२ मा तत्कालीन भारतीय प्रधानमन्त्री अटलविहारी बाजपेयी काठमाडौं आएका थिए।
‘मैले बिमस्टेकमा जाँदा तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहसँग पनि नेपाल भ्रमणको ग्याप धेरै भयो भनेको थिएँ। उहाँले आउने पनि भन्नुभएको हो। मोदीलाई मैले टेलिफोनमा पनि तपाईं नेपाल आउनुपर्छ भनें। यो भ्रमणमा म जसरी पनि उहाँलाई आग्रह गर्छु’ कोइरालाले भने, ‘मोदी धार्मिक प्रवृत्तिको मानिस पनि हुनुहुन्छ। यहाँको पशुपतिनाथ, मुक्तिनाथ र यतैबाट मानसरोवर दर्शनको महिमाले पनि उहाँलाई आकर्षित गर्छ भन्ने मलाई विश्वास छ।’
कोइरालाले भारतमा नवनिर्वाचित प्रधानमन्त्री मोदी, राष्ट्रपति प्रणव मुखर्जी, भाजपा अध्यक्ष राजनाथ सिंह, कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
