कोइरालालाई सुझाव- ‘मोदीलाई सबैभन्दा पहिला नेपाल बोलाउनुस्’


 
 जेठ ११
काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले प्रमुख सत्तारुढ तथा विपक्षी दलका शीर्ष नेताहरुसँग आइतबार आफ्नो आसन्न भारत भ्रमणका विषयमा परामर्श गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान उहाँले नेपाली काँग्रेस, एकीकृत नेकपा (माओवादी), मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टीलगायत नेतासँग सोमबारदेखि हुने भ्रमणका बारेमा परामर्श गर्नुभएको हो । भेटका क्रममा नेताहरुले अहिलेको अवस्थामा क्षेत्रीय र द्विपक्षीय सहयोग, शान्ति, स्थायित्व र समृृद्धिका विषयमा केन्द्रित रहेर भारतसँग कुराकानी गर्न प्रधानमन्त्रीलाई सुझाएका थिए ।
छलफलमा सहभागी मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले दुई देशबीच रहिआएको लामो सुमधुर सम्बन्धलाई थप प्रगाढ बनाउँदै द्विपक्षीय सहयोग सम्बन्ध बढाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिकालाई बढाउनका लागि पहल गर्न प्रधानमन्त्री कोइरालालाई सुझाव दिइएको बताउनुभयो । मोदीको शपथग्रहण समारोहमा नेपालका सम्पूर्ण दलहरुका तर्फबाट शुभकामना दिन पनि प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।
अध्यक्ष भण्डारीका अनुसार लामो समयदेखि नेपालमा भारतबाट उच्चस्तरको भ्रमण नभएको हुनाले भारतीय प्रधानमन्त्रीलाई उहाँको प्रथम भ्रमण नेपालबाटै गर्न र पशुपतिनाथको दर्शनका लागि निमन्त्रणा गर्न प्रधानमन्त्री कोइरालालाई सुझाव दिइयो ।
प्रधानमन्त्री कोइरालाले भारत भ्रमणबारे शनिबार नेकपा (एमाले)का पदाधिकारी र कूटनीतिक क्षेत्रका विज्ञसँग परामर्श गर्नुभएको थियो । भारतीय प्रधानमन्त्रीले आफ्नो शपथ ग्रहण समारोहमा प्रधानमन्त्री कोइरालासहित सार्क राष्ट्रका सरकार प्रमुखलाई निमन्त्रणा गर्नुभएको छ । प्रधानमन्त्री कोइराला सो समारोहमा सहभागी हुन सोमबार त्यसतर्फ जाँदै हुनुहुन्छ ।

,

news and entertainment