यात्रुवाहक बस दुर्घटना, ३० जनाको मृत्यु ; ४१ जना भन्दा बढी घाइते
डोटीको जोरायलबाट धनगढीतिर आउँदै गरेको ना ३ ख ५७०७ नम्वरको यात्रुवाहक बस जोरायलको बाँझीलेक नजिकै कटपट्टे भन्ने ठाउँमा दुर्घटना हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ भने ४१ जना भन्दा बढी यात्रुहरु घाइते भएका छन् ।
बस दुर्घटनामा मृत्यु भएका मध्ये अहिलेसम्म १३ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।
घटना भएको चार घण्टापछि मात्र उद्दारको लागि नेपाली सेना, शसस्त्र प्रहरी र जनपथप्रहरी को टोली घटनास्थल पुगी उद्धारमा खटिएको छ । अहिले मृतकको शवलाई बाटोमा ल्याउने काम भइरहेको छ । प्रहरीले मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा सरस्वती नगर गाविस वडा नम्बर १ का २५ वर्षीया कृष्णा मल्ल, सकुन्तला मल्ल, वडा नम्बर २ का ४० वर्षीय राजेन्द्र शाही, वडा नम्बर ४ का टेकराज भट्ट, वडा नम्बर ६ का भूमिराज भण्डारी र सोही ठाउँका हरिष कठायत रहेका छन् ।
त्यस्तै सोही गाविस वडा नम्बर ७ का डम्बरी जोशी, वडा नम्बर ८ का कृष्णराज भण्डारी र २४ वर्षीया पशुपति भट्ट रहेको प्रहरीले बताएको छ । दुर्घटनामा मृत्यु हुनेमा लक्ष्मीनगर गाविस वडा नम्बर ३ की २७ वर्षीया शान्ति मल्ल, वडा नम्बर ५ की इन्द्रा मल्ल र सोही ठाउँकी भागिरथी बडुवाल रहेका छन् ।
प्रहरीका अनुसार दिउँसो जोरायलको चनकट्टेबाट धनगढीका लागि हिँडेको सो बस कट्पट्टेमा पुगेपछि भिरमा खसेको थियो । कतिपय घाइते यात्रुहरु भिडमा छटपटाइरहेको स्थानीयले बताएका छन् ।
घाइतेहरुलाई उपचारका लागि डोटीको बुडर र अत्तरियास्थित पद्मा अस्पताल ल्याउने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
बस सडक बाट ३ सय मिटर तल खसेको प्रहरीको भनाइ रहेको छ । बसमा ६५ सवार रहेको अनुमान गरिएको छ । बस ४ टुक्रा भइ तितर वितर अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
nepaliheadlines.com

