वार्षिक चार लाख ९२ हजार नेपाली वैदेशिक रोजगारीमा
किरण भट्टराई
काठमाडौँ । विसं २०७० मा नेपालबाट चार लाख ९२ हजार ५३२ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । गत वर्ष वैशाखदेखि चैत्र मसान्तसम्म रोजगारीका लागि विदेशिनेमध्ये चार लाख ६१ हजार ७६९ जना पुरुष र ३० हजार ७६३ जना महिला रहेका छन् ।
वैदेशिक रोजगार विभागमार्फत रोजगारका लागि स्वीकृत लिएर जानेको सङ्ख्या चार लाख ९२ हजार ५३२ भए पनि विभागको स्वीकृत बेगर जाने, पढ्नका लागि भनेर गएर काम गरेर बस्ने र भारतीय भूमि भएर जाने नेपाली कामदारको सङ्ख्या भने यकिन गर्न गाह्रो छ ।
वैदेशिक रोजगारीमा जानेको तथ्याङ्कअनुसार औसतमा प्रतिमहिना ४१ हजार ४४ रहेको छ भने प्रत्येक दिन एक हजार ३४९ नेपाली विदेसिने गरेका छन् ।
जसमध्ये गत वर्ष सबैभन्दा बढी असार महिनामा ५० हजार ४५३ जना वैदेशिक रोजगारीमा गएका थिए भने सबैभन्दा कम भदौ महिनामा २४ हजार २१४ जना वैदेशिक रोजगारीमा गएका थिए ।
गत वर्ष वैशाखमा ३९ हजार २८० जना, जेठमा ४५ हजार ३८३ जना, असारमा ५० हजार ४५३ जना, साउनमा ४५ हजार ९३७ जना, र भदौमा २४ हजार २१४ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।
त्यसैगरी असोज महिनामा ३१ हजार ९५९ जना, कात्तिकमा ३१ हजार ९४९ जना, मङ्सिरमा ४१ हजार ६३४ जना, पुसमा ५० हजार ३२ जना, माघमा ३७ हजार २८५ जना, फागुनमा ४८ हजार ५५२ जना, र चैतमा ४५ हजार ८५४ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।
विसं २०६९ मा नेपालबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या चार लाख ३३ हजार २६ रहेकामा २०७० सालमा ५९ हजार ५०६ ले बढेर चार लाख ९२ हजार ५०० जना पुगेको छ ।
विभागका प्रवक्ता कार्की विदेशमा गएर दुःख पाउनेमा अधिकांश कामदार भारत हुँदै तेस्रो मुलुकमा जाने पाइएको बताउँदै जनचेतनाको अभावमा दलालले त्यसरी तेस्रो मुलुकमा लैजाने गरेको बताउनुहुन्छ ।
विशेषगरी नेपाली महिला कामदारलाई खाडीलगायतका देशमा रोजगारीका लागि कडाइ गरेकाले दलालहरूले भारत हुँदै ती मुलुकमा महिलालाई ओसारपसार गरिरहेका छन् ।
त्यस्ता महिलाहरू यौन शोषण र श्रम शोषणमा बढी पर्ने गरेको देखिएको छ । लुकेर भारत हुँदै गएकाले नेपाली दूतावासमा सम्पर्क गर्न पनि गाह्रो हुने तथा दलालले पासपोर्टलगायतका सामग्री जाने वित्तिकै आफ्नो कब्जामा राख्ने भएकाले ती महिला झनै शोषणमा पर्ने गरेका छन् ।
नेपालमा आवश्यक मात्रामा रोजगारीको अवसर नहुँदा अहिलेको युवापुस्ता विदेशिन बाध्य छन् । तर पछिल्लो समय विदेशबाट नेपाल फर्किएका गाउँघरमै गाईपालन, कुखुरापालन, बाख्रापालन, तरकारीखेतीलागायत विभिन्न नयाँ प्रविधि निर्माणसमेतको काम गर्न थालेका छन् ।
यस्ता कार्यहरूले इच्छा शक्ति हुने हो भने गाउँघरमै कृषिमार्फत सम्मानजनक जीवन जीउन सकिन्छ भन्ने सन्देश प्रभावित गर्न सफल भएको छन् । प्रवक्ता कार्की नेपालको आर्थिक मेरुदण्डको प्रमुख माध्यम विदेशिएका नेपालीले पठाएको विप्रेषण भएकाले वैदेशिक रोजागरीलाई नियन्त्रण गर्नेभन्दा पनि व्यवस्थित गर्नु अहिलेको आवश्यकता भएको बताउनुहुन्छ ।
विसं २०७० का १२ महिनामा विदेशिने महिला र पुरुषको सङ्ख्या
महिना
|
पुरुष
|
महिला
|
जम्मा संख्या
|
अघिल्लो वर्ष (२०६९)
|
|---|---|---|---|---|
वैशाख
|
३६,८१३
|
२,४६७
|
३९,२८०
|
२९,१२३
|
जेठ
|
४२,४७४
|
२,९०९
|
४५,३८३
|
३७,०५०
|
असार
|
४७,८६२
|
२,५९१
|
५०,४५३
|
३४,५८१
|
साउन
|
४३,०२८
|
२,९०९
|
४५,९३७
|
३२,६८५
|
भदौ
|
२२,८७३
|
१,३४१
|
२४,२१४
|
४,१९३२
|
असोज
|
२९,४१३
|
२,२४६
|
३१,९५९
|
३८,००५
|
कात्तिक
|
२९,५६४
|
२,३८५
|
३१,९४९
|
२५,६१७
|
मङ्सिर
|
३९,०५६
|
२,५७८
|
४१,६३४
|
३४,९४७
|
पुस
|
४६,८८२
|
३,१५०
|
५०,०३२
|
४०८६४
|
माघ
|
३४,८७८
|
२,४०७
|
२,४०७
|
३७,४८१
|
फागुन
|
४५,४५५
|
३,०९७
|
४८,५५२
|
३९,१०१
|
चैत
|
४३,१७१
|
२,६८३
|
४५,८५४
|
४१,६४०
|
जम्मा
|
४,६१,७६९
|
३०,७६३
|
४,९२,५३२
|
४,३३,०२६
|
वैदेशिक रोजगारीका शीर्ष पाँच गन्तव्य मुलुक
नेपालीहरू वैदेशिक रोजगारीका लागि जाने पाँच शीर्ष मुलुकहरूमा क्रमशः मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स(दुबई) र कुवेत रहेका छन् ।
गत वर्ष मलेसियामा सबैभन्दा बढी नेपाली रोजगारीमा गए । एक लाख ६६ हजार ८९८ जना नेपाली कामदारले मलेसियालाई आफ्नो गन्तव्य बनाए । जसमध्ये एक लाख ६१ हजार ६९२ जना पुरुष र पाँच हजार २०६ जना महिला थिए ।
त्यसैगरी नेपालीको प्रमुख दोस्रो गन्तव्यका रूपमा कतार रहेको छ । गत वर्ष एक लाख १२ हजार ७९ कतार गएकामा एक लाख १० हजार ४८५ जना पुरुष र एक हजार ५९४ जना महिला थिए ।
त्यसैगरी तेस्रो गन्तव्य रहेको साउदी अरबमा ७३ हजार ६०८ पुरुष र ७८० महिला गरी ७४ हजार ३९१ जना नेपाली रोजगारीका लागि सो मुलुकमा गएका थिए ।
चौथो प्रमुख गन्तव्यका रूपमा रहेको दुबईमा ४३ हजार ६३० पुरुष र पाँच हजार चार जना महिला गरी ४८ हजार ६३४ जना नेपाली गत वर्ष राजगारीका लागि गएका थिए ।
त्यस्तै पाँचाँै प्रमुख गन्तव्य रहेको कुवेतमा ११ हजार ५०७ पुरुष र नौ हजार २१७ महिला गरी २० हजार ७२४ जना नेपाली रोजगारीका लागि गएका थिए ।
मलेसियाको हावापानी नेपालको जस्तै भएकाले त्यहाँ गएर काम गर्न सजिलो हुने हुनाले अधिकांश नेपाली कामदार मलेसियालाई आफ्नो गन्तव्य बनाउन चाहेको देखिन्छ ।
विभागका प्रवक्ता कार्की मलेसियाको हावापानी राम्रो हुनुका साथै सो मुलुकबाट नेपाली कामदारको अत्यधिक माग हुने गरेकाले सो मुलुकमा सबैभन्दा बढी नेपाली कामदार गएको बताउनुहुन्छ ।
मलेसियामा सेक्युरिटी गार्डमा काम गर्ने प्रायः सबै व्यक्ति नेपाली नै रहेका छन् । सो मुलुकले पनि सेक्युरिटी गार्डमा नेपालीलाई नै प्राथमिकता दिने नीति लिएको छ ।
त्यस्तै नेपाली रोजगारीमा जाने दोस्रो प्रमुख मुलुक रहेको कतार पछिल्लो समय आर्थिक क्षेत्रमा उदाउँदो मुलुक हो । कतारले सन् २०२२ मा विश्व कप फुटबलको आयोजना गर्न लागेकाले सो मुलुकमा नेपाली कामदारको अत्यधिक माग रहेको प्रवक्ता कार्की बताउनुहुन्छ ।
श्रम क्षेत्रमा कतारबाट आउने कामदारको माग उल्लेख्य रहेको र मागअनुसार कामदार पठाउन नसकिएको वैदेशिक रोजगार व्यवसायी बताउँछन् ।
विसं २०७० मा नेपालीहरू वैदेशिक रोजगारीमा गएका प्रमुख पाँच मुलुक
देश
|
पुरुष
|
महिला
|
जम्मा
|
|---|---|---|---|
मलेसिया
|
१,६१,६९२
|
५,२०६
|
१,६६,८९८
|
कतार
|
१,१०,४८५
|
१,५९४
|
१,१२,०७९
|
साउदी अरब
|
७३,६०८
|
७८०
|
७४,३९१
|
युएई (दुबई)
|
४३,६३०
|
५,००४
|
४८,६३४
|
कुवेत
|
११,५०७
|
९,२१७
|
२०,७२४
|
अन्य देश
|
६०८४७
|
८९६२
|
६९८०७
|
जम्मा
|
४,६१,७६९
|
३०,७६३
|
४,९२,५३२
|
-रासस
