केन्या र तान्जानियाका डान्सबारमा नेपाली चेली, कसरी लगिन्छ ?
जेठ १८ गतेकेन्या र तान्जियाका डान्सबारमा रहेका नेपाली युवतीको उद्धारमा सघाउन नेपाल प्रहरीले ती मुलुकका इन्टरपोललाई पत्राचार गरेको छ ।
नेपाल प्रहरीको इन्टरपोलको पत्रको जवाफमा ती मुलुकले उद्धारका लागि थप सूचना माग गरेका छन् । ती युवतीको नाम, ठेगाना र उनीहरूको राहदानीको फोटोकपी माग गरिएको छ । तर प्रहरीले सूचना उपलब्ध गराउन सकेको छैन ।
ती युवतीको पहिचान खुलाउन नसकेकाले उद्धारमा कठिनाइ भएको प्रहरी प्रवक्ता एसएसपी गणेश केसीले बताए । ‘उनीहरू आफ्नै राहदानीमा गएका हुन् या अरू कसैकोमा भन्ने समेत खुलाउन सकिएको छैन,’ उनले भने । पीडितले आफन्तलाई सम्पर्क गरे र आफन्तले प्रहरीलाई जानकारी उपलब्ध गराएमा उद्धार सहज हुने उनले बताए ।
नेपाल प्रहरीको इन्टरपोल अनुसन्धानअनुसार भारतीय विमानस्थल हुँदै हरेक दिन ६ देखि १० जना हाराहारीमा नेपाली युवती ती मुलुकमा लगिने गरेका छन् । नेपालका सविन श्रेष्ठ नामका व्यक्ति यसमा संलग्न छन् । तरुण र हीरालाल नाम गरेका दुई भारतीय नागरिकसमेत काठमाडौंमै रहेर युवती रोज्ने र ‘डिमान्ड’ अनुसार पठाउने गरेका छन् ।
तान्जियाको दारेसलाम, केन्याको नैरोबी र मोम्मसामा नेपाली युवतीलाई जबरजस्ती यौन व्यवसायमा समेत लगाउने गरेको प्रहरीको भनाइ छ ।
तान्जियाको दारेसलाममा ६ वटा बारमा नेपाली युवती मुजुरा डान्स गर्छन् । त्यहाँ धर्मा डान्सबार दुईवटा छन् । यस्तै सारेगम बार, सलाम बम्बे, दावत बार र मिर्च मसला नामका ६ वटा बारमा नेपाली युवती छन् । ती डान्सबारमा सञ्चालक भारतीय हुन् ।
प्रहरी अनुसन्धानअनुसार ३ सय डलर दिएर एक रात वा दिनका लागि नेपाली युवतीलाई ग्राहकले लैजाने र ४/५ जनासम्मले एकै युवतीसँग जबरजस्ती शारीरिक सम्पर्क राख्ने गरेको पाइएको छ । तर त्यो पैसा पनि युवतीलाई नदिइने र फर्किन खोज्दासमेत रोक्ने गरेको प्रहरीको भनाइ छ । त्यहाँ १ सय ७५ भन्दा बढी नेपाली युवती छन् ।
काठमाडौं विमानस्थलमा कडा सुरक्षा भएपछि मानव तस्करले रुपैडिया, रक्सोल हुँदै भारतको दिल्ली र मुम्बईस्थित विमानस्थलबाट उनीहरूलाई लैजाने गरेको पाइएको आजको कान्तिपुरमा खबर छ।
केन्याको १४ वटा डान्स क्लबमा नेपाली युवतीलाई जबरजस्ती यौन कार्यमा लगाउने गरेको पाइएको छ । प्रहरीका अनुसार केन्याका डान्सबार पनि प्रायः भारतीय लगानीकै हुन् । त्यहाँका ४ वटा साममा, नसा, रेडी र र गिला बार छन् ।
कसरी लगिन्छ ?
प्रहरीका अनुसार उपत्यका बाहिरबाट काठमाडौंमा आउने धेरै किशोरीलाई फिल्म खेलाउने, डान्सबारको काम दिलाउने भन्दै डान्स सिकाइन्छ । विदेश पठाउने दलालले युवतीलाई उपत्यका बाहिरै गएर खोजेर पनि ल्याउँछन् । डान्स सिकाएपछि महिनाको ५० हजारदेखि लाख रुपैयाँसम्म नेपाली हुने भन्दै विदेश लैजाने गरिन्छ ।
दशकअघि नेपाली युवतीलाई खाडी मुलुक दुबईमा डान्स गर्न लैजाने गरिन्थ्यो । अफ्रिकन मुलुकमा भने भारतीय र पाकिस्तानी युवती बढी जाने गर्थे । त्यहाँ युवतीको यौन शोषण हुने गरेको थाहा पाएपछि ती दुई मुलुकले युवती पठाउन कडाइ गरे । त्यसपछि दलालहरूले नेपाल छिरेर युवतीलाई फकाएर वा आर्थिक लोभ देखाएर लैजाने गरेको प्रहरीले जनाएको छ । दुई वर्षअघिसम्म विमानस्थल अध्यागमनका कर्मचारीसँग सेटिङ मिलाएर युवती यहींबाट उडाउने गरिन्थ्यो । तर पछिल्लो समय सुरक्षा कडा बनाएपछि उनीहरूले भारतको बाटो रोजेका हुन् ।
