साथीसँग बाइकमा हुइँकिएकी युवती भुइँमा खसिन्, ट्यांकरको चक्काले भेटिहाल्यो

आइतबार बिहान ५ बजेर २० मिनेटमा मोटरसाइकलमा सातदोबाटोबाट बालकुमारी खरिबोट हुँदै इमाडोल जाँदै थिए निरज सिलवाल र उनकी साथी आयुष्मा लिम्बु। निरजले चलाएको बाइकमा पछाडि आयुष्मा बसेकी थिइन्।

खरिबोटबाट खन्ना गार्मेन्ट हुँदै इमाडोल जाने चौडा पार्न सडक खनिएको र खाल्डैखाल्डा पारिएको थियो।

एलपी ग्यास बोकेको भारतीय ट्यांकरलाई निरजले रङ साइटबाट ओभरटेक गरे।

‘अगाडिबाट अर्को गाडी आइरहेकाले ट्यांकर म भएतिरै साइट च्याप्दै आयो,’ सातदोबाटो प्रहरी हिरासतमा रहेका निरजले आइतबार दिउँसो डराएको आवाजमा रुँदै सेतोपाटीसँग भने, ‘ट्यांकरले अलिकति छोएपछि मेरो बाइक अनकन्ट्रोल भयो र पछाडि बसेकी आयुष्मा सडकमा लडिन्।’

निरजले पछाडि फर्केर हेरे। ‘आयुष्मालाई त्यो बडेमानको ट्यांकरको पछाडिको चक्काले चक्काले किचिक्कै पार्यो,’ उनले केही घन्टाअघिको दुखद घटना सम्झिए। दौडाएर नजिकैको बिएन्डबी अस्पताल पुर्याउँदा थाहा भयो, आयुष्माको जीवन सकिइसकेको रहेछ।

निरजले रुँदै थपे, ‘दिँउसोे हामी सपिङ जाने कुरा भएको थियो, उसले मलाई स्यान्डल किनिदिनुपर्छ भनेकी थिइन्, मैले हुन्छ भनेको थिएँ।’

ती सबै कल्पनामै सीमित भए। क्षणभरकै गल्तीले १९ वर्षीया आयुष्माको जीवन उडेर गयो।

‘मैले उनको सपना पूरा गर्न पाइनँँ,’ अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका २१ वर्षीय निरजले आँखाबाट तप्प आँसु खसाले। पाँचथरकी आयुष्माले भर्खरै एसएलसी परीक्षा दिएकी थिइन्। उनी इमाडोलमा दिदीको घरमा बस्थिन्।

बा३५प ८०६१ नम्बरको मोटरसाइकलमा पछाडी बसेकी आयुष्मा लड्नैबित्तिकै उनलाई  एमएच ४३ इ ८८५७ नम्बरको ट्यांकरको पछाडिको चक्काले किचेको थियो।

घटनापछि ट्यांकरका चालक फरार छन्। मोटरसाइकल चालक  निरज प्रहरी नियन्त्रणमा छन्। ट्यांकर र मोटरसाइकल पनि प्रहरी नियन्त्रणमा छन्।

घटनाबारे अनुसन्धान भइरहेको सातदोबाटो प्रहरीका निरीक्षक सुरेशकुमार विष्टले बताए। ‘घटनाबारे अनुसन्धान भइरहेको छ, ट्यांकरका चालक फरार भएकाले अनुसन्धान पूरा भएको छैन,’ उनले भने।
निरजले चलाएको मोटरसाइकल मोडिफाइ गरिएको छ। पछाडि बस्ने सिट निकै माथि उठाइएको छ। उनीसँग लाइसेन्स पनि छैन। लाइसेन्सका लागि ट्रायल भने पास गरिसकेको निरजले बताए।

निमार्णाधीन सडकखण्डमा तीव्र गतिमा मोटरसाइकल चलाएको र खाल्डाखुल्टीका कारण दुर्घटनामा परेको प्रहरीको अहिलेसम्मको ठम्याइ छ। ‘रङ साइटबाट ओभरटेक गरेकाले पनि घटना भएको हो,’ सातदोबाटोका सई जेजंग कार्कीले भने।


⇔घटनास्थल(ग्वार्को-कोटेश्वर सडक खण्ड अन्तर्गत बालकुमारी खरिबोट)
रिङरोडको कलंकी–कोटेश्वर सडक खण्डमा सवारी दुर्घटनामा परी महिनामा कम्तीमा तीन जनाको मृत्यु हुने गरेको प्रहरीले जनाएको छ। आइतबार बिहान बालकुमारी दुर्घटनामा युवतीको मृत्यु भएको केहीबेरमै तीनकुनेमा भएको अर्को दुर्घटनामा बाइक चालक पंकज गौतमको निधन भयो।

तीनकुनेमा आइतबार बिहान साढे आठ बजे मिनीबसको ठक्करबाट गौतमको मृत्यु भएको हो। बा१९प ६७३२ नम्बरको मोटरसाइकलमा सवार तीनकुने निवासी ३७ वर्षीय पंकज गौतमलाई बा१ख ३६३४ नम्बरको मिनी बसको ठक्कर दिएको प्रहरीले जनाएको छ।

मिनी बसको ठक्करबाट गम्भीर घाइते उनको उपचारको क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको हो। मोटरसाइकल चलाइरहेका बेला पछाडिबाट मिनीबसले उनलाई ठक्कर दिएको कोटेश्वरका प्रहरी निरीक्षक श्रीराम भण्डारीले जानकारी दिए। ‘उनी बाइक चलाइरहेका रहेछन्, पछाडिबाट मिनीबसले ठक्कर दिएर पछारिएछन्,’ निरीक्षक भण्डारीले भने।
http://setopati.com/

,

news and entertainment