भावुक हुँदै अमेरिकाबाट प्रधानमन्त्रीले किन गरे प्रचण्डलाई फोन ?

१२ असार, काठमाडौं ।
अमेरिकामा स्वास्थ्य उपचार गराइरहेका प्रधानमन्त्री सुशील कोइरालाले विभिन्न दलका नेताहरुसँग सरकारको कामकारवाही तथा संविधान निर्माणको बिषय चासो राखेका छन् । हिजो एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गरेका कोइरालाले आज कंग्रेस उपसभापति रामचन्द्र पौडेल र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग टेलिफोनमा कुराकानी गरेको उहाँ निकट स्रोतले जनाएको छ।

प्रचण्डसंग के भयो ?

प्रचण्डलाई हिजो फोन गरेका कोइरालाले आफू अमेरिकामा रहँदा सरकार ढाल्न कंग्रेसकै केही नेता लागेको भन्दै अहिलेको स्थितिमा सरकारलाई सहयोग गर्न आग्रह गरेको बताइएको छ । कोइरालाले संविधान निर्माणमा सहयोगी बन्न समेत दाहाललाई आग्रह गरेका थिए । प्रचण्ड निकट स्रोतका अनुसार, सो क्रममा कोइरालाले भनेका थिए– म गिरिजाबाबुकै पथमा छु । त्यसपछिको नेता तपाईं नै हो । तपाईंले सहकार्य र सहमतिलाई नतोड्नुहोला ।
भावुक हुँदै कोइरालाले आफू विदेशमा हुँदा सरकार परिवर्तनका लागि भित्री खेल शुरु भएको भन्दै त्यतातिर नलाग्न आग्रह गरेको माओवादी स्रोतको दावी छ ।

रामचन्द्र र माधव नेपालसँग बातचित

त्यस्तै, कंग्रेस उपसभापति पौडेललाई टेलिफोनमा कोइरालाले आफ्नो चिन्ता नगर्न र पार्टीका गतिविधिलाई सक्रियतापूर्वक अघि बढाउन आग्रह गरेका थिए । उपचारका लागि बढी नै समय अमेरिका बस्नुपर्ने भएकाले पार्टीका काम प्रभावकारी बनाउन उनले पौडेललाई भनेका थिए ।
एमाले नेता नेपालले भने टेलिफोनमा मुलुकको चिन्ता नगर्न र आफुहरुको महाधिवेशनपछि सबै कुरा अघि बढ्ने भएकाले स्वास्थ्यमा ध्यान केन्द्रित गर्न सुझाव दिएको स्रोतको भनाइ छ ।

,

news and entertainment