सुनको मूल्य अघिल्लो साता दुई महिनाकै सस्तो



 पछिल्लो एकवर्ष यता नेपाली सुन तथा चाँदी बजारमा निरन्तर उत्तारचढाव देखिंदै आएको छ । कहिले बढ्ने त कहिले घट्ने क्रम चलिरहेको छ । दिनदिनै सुनको मूल्यमा उत्तारचढाव देखिने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ स्थिर नभएकोले र डलरसँंगको नेपाली रुपैयाँको विनिमय दरमा उतारचढाब भइरहेको कारणले पनि नेपाली बजारमा सुन चाँदीको मूल्यमा यसरी उतार चढाब आइरहेको हो ।
पछिल्लो साता नेपाली बजारमा सुनको मूल्य असार यताकै सबैभन्दा सस्तो भयो । साताको पहिलो दिन आइतबारको तुलनामा अन्तिम दिन एक तोलामा एक हजार रुपैयाँ घटेपछि सुन दुई महिना यताकै सबै भन्दा सस्तो भएको हो ।
साताको पहिलो दिन आइतबार प्रति तोला ५३ हजार ६ सय रुपैंयाँमा कारोबार सुरु भएको छापावाल सुनको मूल्य साताको अन्तिम दिन एक तोलामा एक हजार रुपैयाँ घटेर ५२ हजार ६ सय पुग्यो । सोमबार र मंगलबार तोलामा एक एक सय रुपैयाँ घटेको बहुमूल्य पहेलो धातुको मूल्य बुधबार एक्कासी ६ सय रुपैयाँ घटेर ५२ हजार आठ सय रुपैयाँ पुगेको थियो । बिहीबार तोलामा एक सय रुपैयाँ बढेर ५२ हजार नौ सय पुगेको छापावाल सुनको मूल्य शुक्रबार पुनःतीन सय रुपैयाँ घटेर ५२ हजार ६ सय पुगेको हो ।
पछिल्लो दुई महिनासम्म प्रतितोला ५३ र ५४ हजारको हाराहारीमा रहेको सुनको मूल्य साउनको चौथो साता बढेर ५५ हजार तीनसय रुपैयाँसम्म पुगेको थियो । गत साता तोलाको ५३ हजार एक सयदेखि ५३ हजार ६ सयको बीचमा कारोबार भएको सुनको मूल्यमा यो साता केही गिरावट आएको हो ।
अमेरिकी अर्थतन्त्रमा सुधार आएपछि डलर अहिले १३ महिनायताकै बलियो स्थितिमा पुगेको छ । जी–२० राष्ट्रहरूको बैठकमा आफूखुशी मुद्राको अवमूल्यन नगर्ने प्रतिबद्धता आएपछि अमेरिकी डलर केही बलियो बन्न पुगेको हो । डलरको भाउ बढ्दा सुरक्षित लगानीको विकल्प मानिएको सुनको मागमा कमी आएकाले मूल्य घटेको व्यवसायीहरु बताउँछन् । युक्रेन र रुसबीचको तनाब कमभएको र इजरायल–हमास युद्धविरामको कारणले पनि सुनको मागमा धक्का लागेको उनीहरुको ठम्याइ छ ।
युरोपेली केन्द्रीय बैंकले ब्याजदर सशून्यको हारहारीमा कायम गरेकाले युरोपको कुल ग्राहस्थ्य उत्पादनमा सामान्य सुधार भएकाले पनि युरोपमा सुनको माग बढ्न नसकेकाले मूल्य केही घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अमेरिकामा बैंकको ब्याजदर बढ्ने संकेत लगायत विभिन्न कारणले सुनको माग घटेकाले पनि सुनको मूल्य घटेको महासंघको दाबी छ ।
यो साता पनि अमेरिकी डलर बलियो हुँदै गएमा नेपाली बजारमा सुनको मूल्य अझै केही घट्न सक्ने अनुमान व्यवसायीहरुले गरेका छन् । त्यसबाहेक सुनको विश्वव्यापी मूल्यलाई युक्रेन र रुस, इराक र सिरियाबीचको भू–राजनीतिक तरल अवस्थाले पनि प्रभाव पार्नेछ ।
सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा एक तोलाको पाँच रुपैयाँको दरले कमी आएको छ । आइतबारदेखि मंगलबारसम्म प्रति तोला आठ सय रुपैयाँ रहेको चाँदीको मूल्य बुधबारदेखि शुक्रबारसम्म सात सय ९५ रुपैयाँमा बिक्री भएको व्यवसायीहरुले बताएका छन् ।

, ,

news and entertainment