‘छोराछोरी नहुँदा दसैँ खल्लो’
दसैँका दिनमा आफूभन्दा मान्यजनबाट आशीर्वाद लिने र घर परिवारमा खुसियाली मनाउने गरिन्छ । यस्तो चाडबाडका बेला घर परिवारका सदस्य सबै नजुट्दा खल्लो लाग्ने गरेको विदेशमा छोराछोरी भएका आमाबाबुले बताएका छन् । घरमा रहेका विदेशमा हुनेलाई सम्झिछन् भने विदेशमा भएका घरमा रहेकालाई सम्झिने गर्छन् । घर परिवारको खुसीका लागि विदेश गएका आफ्ना छोराहरुलाई आमाबाबुले अरु दिनको तुलनामा दसैँ लगायतका चाडबाडमा बढी सम्झने गरेको कावासोती–८ का दिवाकर पौडेल बताए ।
देशभित्र रोजगारीको सिलसिलामा विदेश नगएको घर कमै होला तर यस्ता चाडबाडमा भने परिवारका सदस्यको जमघटलाई अर्थपूर्ण मान्निछ । घरमा भएका चार भाइ छोरा मुगलान लागेपछि नाति नातिनी र बुहारीसँग सुखी साट्नु आमाबाबुका लागि अनिवार्य जस्तै बनेको छ ।
गरिबीलाई सम्झेर खाडीमूलक हानिएका छोराहरुको सम्झनाले दसैँमा धेरै आमाबाबुको आँखा रसाएका छन् । खेमलाल सापकोटाका दुई छोरा १० वर्षदेखि साउदी अरबमा बस्दै आएका छन् । ‘यो अवस्थामा घरमा एक न एक छोरा दसैँमा हुन्थे तर यस वर्ष सबै छोराहरु विदेशमा छन्,’ उनले भने – छोराबिनाको दसँै नरमाइलो हुँदो रहेछ ।
बाबुआमालाई खानपिन र रमाइलोमा त फोनमा कुरा गरेर चित्त बुझाउने अवस्था छ । विदेशमा गएका तर दसैँमा टीका जमरा थाप्न नपाएका छोराको सम्झनाले उनीहरुलाई सताउने गरेको छ । ‘पहिलाको तुलनामा अहिले सञ्चार सेवाले सहज त बनाएको छ तर घरमा भएजस्तो हुँदैन बाबुआमालाई,’ कावासोतीकी कलावती सापकोटाले भने ।
कलावली सापकोटाले भने – सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्दा नेपाली युवाले गाउँ घरमै रोजगारी पाउने थिए । अनि आफ्नो संस्कारअनुसार रमाउन पाउँथे होला । गरिबीले टाढा बनायो दसैँ जस्तो चाडबाडमा सरकारले बिदा पाउने व्यवस्था मिलाउनुपर्ने हो ।

