रुसका राष्ट्रपति र कुकुरको अनुहार मिलेपछि...
एजेन्सी/ उस्तै–उस्तै अनुहार भएका मानिसहरुबारे धेरै सुनिदैं आएको छ । तर, मानिस र जनावरको अनुहार पनि मिल्दोजुल्दो रहेको विरलै सुन्न पाइन्छ । अहिले यस्तै कुराको सर्वत्र चर्चा छ । युक्रेनको एउटा कुकुरको अनुहार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मिल्दोजुल्दो पाइएपछि यो संयोग चौतर्फी चर्चाको विषय बन्न पुगेको छ । युक्रेनको कालो रङको जर्मन सेफर्ड प्रजातिको कुकुरको अनुहार पुटिनसँग मिल्दोजुल्दो पाइएको हो ।
पुटिनको अनुहारसँग मिल्दोजुल्दो कुकुरसम्बन्धी समाचार पहिलोपटक रुसी भाषाको एउटा वेबसाइटले ब्रेक गरेको थियो । सो समाचारलाई उद्धृत गर्दै अंग्रेजी भाषाका वेबसाइटमा समाचार प्रकाशित भएपछि कुकुरको अहिले व्यापक चर्चा छ ।
पुटिन र कुकुर दुवैका आँखा र नाक तिखा छन् र निधार फराकिलो छ । कुकुर मालिक र कुकुरको नाम खुलाइएको छैन । सुरक्षालगायत कारणले कुकुर मालिकले आफ्नो पहिचान खुलाउन नचाहेको बताइएको छ ।
रुसले युक्रेनमाथि हमला गरेपछि युक्रेनी जनतामाझ पुटिनविरोधी मानसिकता बढिरहेका बेला पुटिनजस्तो कुकुर पत्ता लागेपछि पुटिनका विरोधीहरुले यही तस्बिरका आधारमा पुटिनको उपहास गर्न थालेका छन् ।
‘कुकुर पुटिनजस्तो भन्दा पनि पुटिन कुकुरजस्तो बढि देखिएका छन्,’ पुटिनविरोधी एउटा वेबसाइटले लेखेको छ ।

