भारतीय अपराधिको धम्कीबाट बीरगन्जका व्यापारी आतंकित
भारतीय अपराधी सुनिल सिहं समूहको फोन धम्कीले वीरगन्जका व्यापारीहरु पुनः आतंकित भएका छन्। भारतीय सिमावर्ती पूर्वी चम्पारण जिल्लाका अपराधीहरुको फोनबाट धम्काउने क्रम बीरगन्जमा आउने केहि बर्षदेखि रोकिए पनि दुई हप्तादेखि व्यापारीहरुलाई सुनिल सिंहबाट फोन गरि धम्काउने क्रमबढेको छ।
भारतीय मोबाइल नम्बर ००९१–८२९४६०२५९१ बाट सुनिल सिहंको नामले फोन गरेर लाखौं रुपैंया नदिए ज्यान मार्ने धम्कीहरु आइरहेको प्रहरीको भनाइ रहेको छ। दुई हप्तामा बीरगन्जका लगभग आधादर्जन व्यापारीहरुलाई भारतीय अपराधी सुनिल सिहंले फोन गरेर पैसा माग गरेकोले वीरगन्जका व्यापारीहरु पुनः फोन धम्कीबाट त्रसित भएका छन्।
केहि वर्ष पहिला वीरगन्जका व्यापारीहरुको लागि आतंक प्राय बनेका मुन्ना शर्मालाई भारतको मोतीहरी नजिकै सुनिल सिहं समूहले एके ४७ बाट फिल्मी सैलीमा हत्या गरेपछि यो समूहको वीरगन्जमा सक्रियता बढेको हो। बिगतमा मुन्नाको सुराकि गर्नेहरुलेनै अहिले सुनिल सिंह समूहलाई सहयोग गरिरहेको पर्सा प्रहरीको ठम्याइ रहेको छ। भारतीय पूर्वी चम्पारण प्रहरीले पर्सा प्रहरीलाई दरिलो रुपमा सहयोग नगरेको कारण बीरगन्जमा फोन आतंक बढेको प्रहरीको भनाइ छ

