काठमाडौंमा ट्युसन पढ्न गएकी दुई किशोरीमाथि एसिड प्रहार
२०७१ फागुन १० गते
१० फागुन, काठमाडौं । काठमाडौंको बसन्तपुरमा आइतबार विहान अज्ञात समूहले दुई किशोरीमाथि एसिड छ्यापेको छ ।
बसन्तपुर झोछेस्थित ए प्लस ट्युसन सेन्टरमा बसिरहेको अवस्थामा रामेछाप खनियापानी ८ घर भई बसन्तपुर बस्ने १६ वर्षकी संगिता मगर र रौतहटकी १५ वर्षीया सीमा बस्नेतमाथि एसिड प्रहार भएको हो ।
दुबै किशोरी एसएसलसी तयारीका लागि ट्युसन पढ्न गएका थिए ।
‘विहान करिव सवा ६ बजे ट्युसन सेन्टरमा बसिरहेको अवस्थामा मास्क लगाएर आएको समूहले एसिड प्रहार गरेर भागेको खुल्न आएको छ’ प्रहरीले भनेको छ । पीडितहरुले बताए अनुसार मास्क लगाएर आएको ३÷४ जनाको समूहले एसिड छ्यापेर भागेको थियो ।
प्रहरीका अनुसार एसिडले संगिताको छाती र खुट्टामा गम्भीर चोट लागेको छ । उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।
सीमाको भने अनुहारमा नै एसिड परेको छ । उनलाई केएमसी अस्पताल सिनामंगल रिफर गरिएको अस्पतालले जनाएको छ ।