मन मिल्दा रोमान्स, नमिलेपछि आत्महत्या (युवतीको सुसाइड नोटसहित)
धरान, १८ माघ । गत बिहीबार धरानस्थित विजयपुर अस्पतालकी नर्स प्र्रिती मुखियाले आफ्नै घरमा आत्महत्या गरिन् । आत्महत्या गर्नुअघि उनले सुसाइड नोट पनि छाडिन् । सुसाइड नोटमा आफ्ना प्रेमीले ‘युज’ गरी अर्कैसँग लागेको बताएकी छिन् ।
स्थानीय आइडियल बोर्डिङ स्कुलका संचालक सागर खड्का आत्महत्याका मुख्य दोषी भएको भन्दै परिवारले घटनाको उचित छानबिन र दोषीलाई कारबाहीका लागि माग गरेका छन् ।
मुखियाकी दिदी भावना राई (मुखिया)ले विगत १० बर्ष देखिको प्रेम सम्बन्ध टुक्राएर अर्कैसँग विवाहको लागि मगनी गरेको खवरले बहिनीले आत्महत्या गरेको बताइन । ‘अर्कासँग विवाहको कुरा छिनेर पनि बहिनीलाई मानसिक यातना दिने काम जारी राख्यो । यही यातना सहन नसकेर मेरी बहिनीले संसार छाडि ।’– गत शुक्रबार दोषीलाई कारवाहीको माग गदै इलाका प्रहरी कार्यालय धरान परिसरमा पुगेकी भावनाले भनिन–‘दोषीलाई कारबाही हुनु पर्छ ।’
बोर्डिङको प्रिन्सिपल भएको कारण नै जोगाउन सबै लागेको भन्दै उनले गुनासो समेत गरेकी छन् । प्रतिष्ठा गुम्ने डरले स्थानिय मिडिया, प्रशासनमा हार गुहार माग्दै हिड्ने गरेको र प्रभावमा परि जोगाउन खोजेको भन्दै उनका परिवारले कारबाहीको माग गदै आइतबार धरानमा पत्रकार सम्मेलन गरि घट्नाबारे जानकारी समेत गराएका छन् ।
सुसाइड नोट
प्रितीका बाबु प्रदीप मुखियाले पत्रकार सम्मेलन गरी प्रितीले आइडल बोर्डिङ स्कुलका प्रिन्सिपल सागर खड्काले नै आत्महत्या गर्न बाध्य पारेकाले ‘आशय अपराध’ गरेको कसुर अनुसारको सजाय दिलाउन माग गरेका छन् ।
प्रदीपद्वारा जारी विज्ञप्तिमा भनिएको छ , ‘सागरले विगतमा आफूले स्थापित गरेको सम्बन्धलाई टुटाउन प्रितीलाई मानसिक तथा भौतिक तनाव सिर्जना गरी उनलाई आत्महत्या गराउन बाध्य पार्ने आशय राखी त्यस प्रकारको व्यवहार सुरु गरेकाले नेपालको कानुनमा आसय कानुनको प्रावधान के छ, अध्ययन गरी सजाय दिलाउने अवस्था सिर्जना गरियोस् ।’
मृतका बाबु प्रदीपले समाजमा यस्ता घटना अरु पनि हुन सक्ने भएकाले त्यस्ता घटनाको उजागर गर्दै दोषीलाई उचित कारवाही दिलाउन समेत माग गरेका छन् ।
यसबारेमा इलाका प्रहरी कार्यालय धरानमा समेत किटानी जारी दिएको बुबा प्रदीपले सम्मेलनमा जानकारी गराएका छन् । तर, कार्यालयबाट अहिलेसम्म निजको खोजी गरे पनि फरार रहेको प्रहरीले बताएको उनले बताए । मुखिया दुई महिना अघिदेखि धरानस्थित विजयपुर हस्पिटलमा कार्यरत थिइन् । प्रितीको आत्महत्याका लागि कारक मानिएका सागर खड्का हाल फरार रहेको प्रहरीले जनाएको छ ।
यता सागरले भने जागिरमा लगाउन सहयोग गरेको तर प्रेम सम्बन्ध नभएको दाबी गदै आएका छन् ।
उनका वुवाले जारी गरेको विज्ञप्ति
आदरणीय सञ्चारकर्मी तथा उपस्थित महानुभावहरु,
समाजमा घट्ने धेरै आत्महत्याका घटनाहरु घट्छन् । यसको मूल कारणमा लक्ष्य प्राप्तिमा असफलता नै मानिन्छ । यसमा कसैलको लक्ष्य अपेक्षित शैक्षिक प्रगति, आर्थिक उन्नति, केही दृढ अपेक्षा, आफन्तजन गुमाउनुको पीडा, मायाप्रेममा धोका लगायत देखिएको छ । यसै सेरोफेरोमा धरान–१८ बुद्ध चोक निवासी बुबा प्रदीप मुखिया र आमा देविका मुखियाकी साहिँली छोरी प्रिती मुखियाले आफ्नै घर धरान– १८, बुद्धचोकको ठीक दक्षिण बुद्धरोडमा मिति २०७१ माघ १५ गते गरेको आत्महत्या प्रकरणमा त्यसका कारण अथवा कारकतत्व र सोको छानविन तथा दोषीलाई हुने सबैखाले कारवाहीका लागि पत्रकारिता तथा सामाजिक सञ्जालहरुको सकारात्मक भूमिकाका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
प्रितीको जीवन र सागरसँग प्रेम सम्बन्ध
उनी महेन्द्र बहुमुखी क्याम्पस, धरानमा अध्ययनरत् रहँदाकै अवस्थमा सागर खडका (हाल धरान–१४ मा आइडल बोर्डिङ स्कुल सञ्चालन गरी बसेका) सँग साथी–साथी भएकी र समयसँगै उसैसँग दाम्पत्य जीवन स्थापना गर्ने निर्णयमा पुगी सोही अनुसारको व्यवहार हुने गरेको प्रितीले आफनै दिदी, बहिनीलाई भनेकी थिइन र ऊ निर्वाध रुपमा घरपरिवारमा आउने सोही अनुसार दिदी, बहिनी, भेनाजु, ज्वाइँ लगायतलाई सम्बोधन गर्ने गर्दथ्यो । ऊ एक शिक्षित तथा सामाजिक प्रतिष्ठा बोकेको मानिस र भविष्यमा आफ्नै परिवारको एक सदस्य हुने विश्वासमा कसैबाट कुनै अवरोध थिएन । समयको क्रमसँगै प्रिती नर्सिङ अध्ययन गर्न जनकपुर गइन् । सो अध्ययन सकेपछि कोशी अञ्चल अस्पतालमा अभ्यास अध्ययन सकी न्युरो अस्पताल विराटनगरमै लगभग १ बर्षको नर्सको नोकरी गरिन् । सो अवस्थामा समेत उनीहरुको भेटघाट भइरहने गरेको प्रितीले आफ्नी दिदीबहिनीलाई बताउँथिन् । आफ्नो भावी जीवनसाथी र आफ्नो घरपायक पर्ने नोकरीको सोच बोकेकी उनले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सको विज्ञापन खुलेपछि त्यहाँ फर्म भरी लिखितमा नाम निकाले पनि अन्तर्वार्तामा नछानिएपछि निज सागर खड्का समेतको सहयोग तथा समन्वयमा पुतलीलाइनस्थित विजयपुर अस्पताल, धरानमा करिब २ महिनादेखि नोकरी थालेकी थिइन्
सागरसँग वैवाहिक जीवनमा बाँधिनेमा पूर्ण विश्वास भएपछि उनी सागरको परिवार र आफन्तजनबीच पनि परिचित नै भएको बताउँथिन् । उनीहरुको सम्बन्ध स्थापित भएको अवधि करिव १० बर्ष भएको सागरकै भतिजसँग प्रितीले खिचेको तस्वीरले पनि देखाउँछ । विवाह पूर्वको सम्बन्ध कानुनले नस्वीकारे पनि पारिवारिक वातावरण सहज हुनाले प्रितीको छुट्टीको दिनमा विभिन्न ठाउँहरुमा घुमाउने समेत गर्दथ्यो र उसको कोठामा आएर बस्ने समेत गर्दथ्यो । यसरी समय बित्दै गइरहेको अवस्थामा केही दिन अघि निज सागरले अर्कै केटीसँग विवाह गर्न इन्गेज्मेन्ट गरेको कुरा प्रितीले थाहा पाएपछि उसँग प्रश्न गर्दा उसले ‘मैले पारिवारिक अप्ठ्यारोमा परी परिवारकै लागि उसँग विवाह गर्नुप¥यो तर तिमी मेरी हौ । म तिमीलाई बिर्सन सक्दिन मेरो अनुमतिबिना कोही कसैसँग बोलचाल, हिँडडुल, कुराकानी समेत गर्न पाउँदैनौ’ भनेको । उनले साथीहरुलाई गरेको तथा साथीहरुबाट आएको फोनको कल हेरी ‘यो के हो ? किन बोलेको ?’ लगायत भन्ने गरेको र एकपटक फोन फुटाइदिएको, सिम फ्याँकिदिएको समेत प्रितीले अन्तिम स्थितिमा दिदीबहिनीलाई बताएकी रहिछन् । प्रितीले आत्महत्या गर्नुअघि उनलाई सागरले फोन गरेको प्रितीकै मोबाइल कल रेकर्डबाट पाइएको छ । यी यावत कारणले गर्दा आफ्नो परिवारमा सामाजिक रुपमा सम्बन्ध स्थापित नगरे पनि सिंगो जीवन बिताउने उद्देश्यले स्थापित गरेको सम्बन्ध अधुरो रहने र बाँकी जीवन दासी, रखौटी र उसको भौतिक उत्पीडनमा बिताउनु पर्ने वातावरण सिर्जना भएपछि अन्ततः उनले आत्महत्या गरेकी छन् ।
स्थिति, मेरो अनुरोध तथा आभार
यस घटनाबाट मेरो पारिवारको एक सदस्यको मृत्यु भएको मात्र नभई राष्ट्रका स्वास्थ्य क्षेत्रको एक दक्ष जनशक्ति गुमेको छ, समाजमा एउटा थप आपराधिक घटना घटेको छ । हामीले मृत छोरीको लाशमा अनेक प्रकरण देखाउन उचित नठानी घटनाबारे इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी गरी दाहसंस्कार गरी मृत्यु संस्कार थालिसकेका छौं । प्रहरी कार्यालयबाट निजलाई पक्राउ गर्न जाँदा हाल निज फरार रहेको तर खोजीका लागि सकारात्मक कुरा आएको समेत छ । हाम्रो यस दुःखद घडीमा सहयोग गर्ने मिडिया तथा सम्पूर्ण महानुभावहरुमा आभार तथा निज स्वर्गीय छोरीप्रति ममता एवम् सम्झनापूर्ण श्रद्धाका साथ यस्तो घटना समाजमा हिजो पनि घटेकै हो, आज मेरोमा घट्यो तर भोलिका दिनमा यसले प्रशय नपाओस् भनी यस घटनाको उचित अध्ययन, छानविन र कारवाहीका लागि सञ्चारकर्मी, मानव अधिकारकर्मी तथा सम्बन्धित सबै सरोकारवालाहरुमा तपसिलका अपेक्षाका लागि सादर अनुरोध गर्दछौं ।
१. प्रितीले आफू स्वयम्ले नै आत्महत्या गरेपनि त्यसका लागि सागरले प्रितीसँग आफूले विगतमा स्थापित गरेको सम्बन्धलाई टुटाउन निजलाई मानसिक तथा भौतिक तनाव सिर्जना गरी उनलाई आत्महत्या गराउने वाध्य पार्ने आशय राखी सो प्रकारको व्यवहार सुरु गरेकाले नेपालको कानुनमा आशय अपराधको प्रावधान के छ ? सो उनीहरुको विगत तथा तात्कालीन सम्बन्ध तथा अवस्थाको अध्ययन गरी आशय अपराध गरेको कसुर अनुसारको सजाय दिलाउने अवस्था सिर्जना गरी सजाय दिलाइयोस् ।
२. साहित्यमा ‘यसका पात्र तथा घटना काल्पनिक हुन् कसैसँग मेल खाएमा संयोग मात्र हुनेछ’ भनिन्छ तर समाजमा घट्ने यस्ता घटनाप्रति कसुर गर्नेहरुलाई समाजले सजाय दिनैपर्दछ नत्र अपराधका घटना तथा सामाजिक विकृति बढ्दै जान्छ त्यसैले ‘यो घटनाका पात्र सागर हो अरु पनि यस्ता घटना अरु पनि हुन सक्छन्, त्यस्ता घटनाहरुको उजागर गर्दै दोषीलाई उचित कारवाही दिलाउन सबैले आ–आफ्नो सचेत सामाजिक भूमिका निर्वाह गरौ ।’
३.आफ्नी छोरीप्रतिको अभिभावकीय जिम्मेवारी पूरा गर्न चुकेको छु । त्यसैले सागरकै भनाइमा परिवारका लागि मात्र विवाह हुन लागेकी चेलीमा पनि बर्षदेखि प्रितीसँग प्रेम गरेको र भावी दिनमा प्रितीसँगै व्यक्तिगत जीवन बिताउँछु भनी प्रण गर्ने सागरप्रति सम्बन्ध स्थापित हुनु अघि एउटा नारी उत्पीडक व्यक्तिप्रति सचेत हुन अभिभावकीय अनुरोध गर्दछु ।
मिति: २०७१ माघ १८ गते
प्रदीप मुखिया, प्रितीको बुबा एवम् शोकाकुल परिवारजन
धरान–१८, बौद्धरोड, सुनसरी
