प्रचण्डको आन्दोलन असफल हुने मुक्तिनाथ बाबाको दाबी
बिहिबार, माघ २२,
कुनै समय आफूलाई नास्तिक भन्न रुचाउने एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धर्मभिरुको रुपमा बराहक्षेत्रमा गएर भैंसी पुजा गर्न समेत पछि परेनन् । प्रचण्डले समयक्रमसँगै परिवर्तित हुँदै राजनीतिक सफलताको लागि मुक्तिनाथ बाबा अर्थात स्वामी कमलनयनाचार्यकै शरणमा पर्ने र उनकै सल्लाह र सुझावमा चल्दै आएकोमा यो पटक भने छलाङ मारे । सँधै राजनीतिक प्रक्रिया र घटनाक्रममा छलाङ मार्न माहिर प्रचण्डले यस पटक भने बाबाको सल्लाह बिनै अघि बढे ।
स्रोतका अनुसार आन्दोलनको आँधीबेहरी ल्याउन मुक्तिनाथ बाबाको आशिर्वाद र सल्लाह लिनुपर्छ भन्ने सुमार्गीको सुझावलाई प्रचण्डले ठाडै अस्वीकार गरी सडक आन्दोलनमा होमिएका कारण प्रचण्ड असफल हुने स्वयम् मुक्तिनाथ बाबाले नैं दाबी गरेका छन् । अर्कोतर्फ केही दिन अघि कमलनयनाचार्यले जनताको मतले निर्वाचित नेताहरुले जनमतलाई ख्याल नगरेको आरोप लगाएका थिए ।
इटहरीमा पत्रकारहरुसँग कुरा गर्दै उनले संविधानमा गल्तीवश धर्म निरपेक्ष भन्ने शब्द पारिएको बताउँदै ८५ प्रतिशत हिन्दू भएको ठाउँमा धर्म निरपेक्ष नसुहाउने बताएको यूनाईटेड पोष्ट साप्ताहिकमा समाचार छ । उनले नेताहरुले जनताको मन दुःखाएको ठोकुवा गर्दै आफूहरु निरिह भएको नभइ नेताहरु सच्चिएलान् भनेर पर्खेर मात्र बसेको बताएका थिए । आफूहरुले चाहेमा तीन घण्टामा देश ठप्प पार्न सक्ने चेतावनी दिदै उनले नेताहरु सुध्रन्छन् कि भनेर पर्खेको बताएका थिए ।
मुक्तिनाथ बाबाले नेपाललाई हिन्दू राज्य घोषणा गर्न माग गर्नु र प्रचण्डले धर्म निरपेक्षताको पक्षमा वकालत गरेर उनै बाबाको आशिर्बाद लिएर हरेक कामको शुरुआत गर्नुलाई बिडम्बना मानिदै आएको छ । यसपटक प्रचण्डले धर्म निरपेक्षताको मुद्दालाई लिएर बिबादमा पर्ने भयले सुमार्गीको प्रस्ताव र बाबाको भेट्न चाहने इच्छालाई ठाडै इन्कार गरेको समाचार यूनाईटेड पोष्ट साप्ताहिकले छापेको छ ।
