एउटै भाषा बोल्दै मोदी र ज्ञानेन्द्र ?

 टिप्पणी । काठमाडौं ।


हुन त नेपाली राजनीति झण्डै ढेड दशक यता नै निरन्तर तरंगित छ । शसस्त्र विद्रोह ताका हत्या हिंसाको श्रृंखलाले तरंगित रह्यो भने शान्ति प्रक्रिया शुरु भएपछि पनि निरन्तर राजनीतिक तरलता कायम छ । दुई पटक चुनाव भैसकेपनि चुनावी परिणामका कारण पालै पालो शक्तिशाली र निर्वल बनेका २ परस्पर विपरित ध्रुवका राजनीतिक शक्तिहरुको टकरावको परिणामस्वरुप देश भने सँधै प्रसव पीडामै छटपटाइरहेको छ । हुन त यही शक्ति सुन्तुलनकै कारण उत्पन्न सन्नाटामा शक्तिको खाडल भर्न नयाँ शक्ति जन्मिने पो हो कि भन्ने विश्लेषण हुने गर्छ तर नयाँ शक्ति होइन पुरानै शक्ति नयाँ रुपमा फर्किने संकेत पनि सुदुर क्षितजमा देखिन थालेका छन् ।


एमाओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वको मोर्चासहित संविधानसभा बाहिर रहेका विभिन्न समूह तथा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सत्तामा रहेका कांग्रेस एमालेबीच आमने सामने हुन लाग्दा नाटकीय ढंगले नेपथ्यबाट फरक शक्तिका भाषाहरु मुखरित भएका छन् । प्रजातन्त्र दिवसको अवसर पारेर पूर्व राजा ज्ञानेन्द्रले माग गरेको अमुर्त सहमतिको कार्यान्वयन र छिमेकी भारतका हिन्दु प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीका नेताले नेपालमा आएर दिएको पछिल्लो अभिब्यक्तिले अव शक्तिको उदय कहाँबाट हुन्छ भन्न कठिन हुने अवस्था पैदा भएको छ । कतिपयको विचारमा कतै मोदी र ज्ञानेन्द्रका चाहाना मिल्ने र नयाँ शक्तिको ठाउँमा पुरानै शक्ति आउने सम्भावना बढेको त होइन भन्ने प्रश्न समेत उब्जिएको छ ।



हुन त पूर्वराजा ज्ञानेन्द्रले पहिलो संविधानसभाको पहिलो बैठकले आफूलाई नागरिकको दर्जामा पुर्‍याउने घोषणा गर्दै नारायणहिटीबाट नागार्जुन दरवारतर्फ पठाइदिने समयमा कुनै प्रतिवादको संकेत सम्म पनि गरेनन् । उनी सरक्क बसाइ सरे । तर उनको मनमा शक्तिमा फर्किने चाहाना सँधै जिवितै छ भन्ने कुरा भने कसैबाट छिपेको कुरा होइन । उनले नागरिक बनेपछि दिएका हरेक जसो अन्तर्वार्ता र अभिब्यक्तिमा जनताले चाहेको हुने भन्दै आफू अनुकुलता पैदा भएमा कुनै बेला पनि पुनः शक्तिमा फर्किन तयार छु भन्ने मनसाय ब्यक्त गर्दै आएका छन् । एक टेलिभिजन अन्तवार्तामा ज्ञानेन्द्रले २०६३ साल बैसाखमा आन्दोलनको उत्कर्षमा आफू र तत्कालीन शक्तिमा रहेका दलहरुबीच राजतन्त्र नफाल्ने सहमति भएको समेत दावी गरेका छन् । उनले प्रजातन्त्र दिवसको अवसरमा बुधबार सार्वजनिक गरेको सन्देशमा पनि सोही कुरालाई घुमाउरो ढंगले बोलेका मात्र छैनन् नेपालमा हिन्दु धर्म नै प्रमुख रहेको भन्दै सनातन धर्मको वकालत गरेका छन् ।

ज्ञानेन्द्रले अहिले देखिएका संघीयता, हिन्दु राष्ट्र सम्बन्धि चर्चा र घुमाउरो शैलीमा राजतन्त्र फाल्ने निर्णयप्रति स्पष्ट बोलेका छन् । उनले भनेका छन्ः 'निषेध, विभेद, अन्यौल, अलमल र कचिगंल मै समय विताउनू भन्दा राष्ट्रको भूवनोट, राष्ट्रिय समाजको स्वरुप र राष्ट्रिय धर्म, परम्परा र मर्मलाई स्पर्श गरेर सहि दिग्दर्शन गर्नेतर्फ अगाडी बढ्नु नै आजको आवश्यकता हो । ६४ बर्ष अघि हाम्रा जिज्यू वूवाले र ९ बर्ष अघिको बर्षारम्भमै म स्वयंले गरे गराएको कार्यविधी पनि प्रजातन्त्र र त्यसको आधार राष्ट्रिययतालाई बलियो बनाउने कार्य कदम थियो भन्ने कूरा म पून स्मरण गराउन चाहन्छू । त्यसैले तत्कालिन राजनीतिक दलहरु र मेरा वीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित जे जती सहमती, समझदारी एवं व्यवस्थापकीय गतिविधी भएका थिए तिनको स्मरण र अनूषरण गर्दै त्यसलाई सही रुपले कार्यान्वयनमा ल्याई मूलूकलाई दिगो शान्ति, स्थायीत्व र समृद्धीतर्फ अघि बढाउन सकेमा नै आजको पूनित दिवसको सार्थकता रहन्छ ।'



यो वाक्यांशमा पूर्वराजाले धेरै कुरा एकै पटक बोलेका छन् । खासगरी वर्तमान राजनीतिक गतिरोध र सँधै भिड्न मात्र जानेका राजनीतिक शक्तिको हातबाट विस्तारै शक्ति नयाँ वा पुरानो शक्तितिर कसरी सर्दैछ भन्ने कुराको संकेत उनको भनाइले गर्छ । उनले संवेदनशील मानिएको संघीयता र हिन्दु राष्ट्र स्थापनाको मागलाई समेत छोएका छन् र भनेका छन् नेपालमा संघीयतामा होश पुर्‍याउनु पर्छ र नेपालको धर्म हिन्दु नै हो ।

संयोग मात्र होइन कि प्रजातन्त्र दिवसकै पू्र्वसन्ध्यामा नेपाल आएकी भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीकी उपाध्यक्ष रेणू देवीले पनि नेपाल हिन्दु राष्ट्र रहेको र हिन्दु राष्ट्र रहने स्पष्ट शब्दमा बोलिन् । त्यतिमात्र होइन उनले नेपालमा हिन्दु राष्ट्र फालिँदा आफूहरु चुप लागेर नबस्ने समेत स्पष्ट पारिन् । भाजपा नेपालमा हिन्दु राष्ट्र चाहन्छ ? भन्ने प्रश्नमा उनले भनिन्,‘नेपाल जहिले पनि हिन्दु राज्य थियो, छ र भइरहनेछ ।’ हिन्दुको अर्थ सभ्यता, सहिष्णुता र संस्कार रहेको उल्लेख गर्दै नेपालमा त्यसको अभ्यास भइरहेको उनको भनाइ थियो ।



त्यतिमात्र होइन नेपालमा संघीयताको विषयमा समेत उनले स्पष्ट शब्दमा भनिन्ः ‘जातीयताका आधारमा संघीयतामा गए नेपाल टुक्रा टुक्रा हुन्छ, विनाश हुन्छ’ । ‘सावधान ! जातका नाममा द्वन्द्व चर्काएर नेपाललाई फुटाउन खोजिएको छ ।’ नेपाललाई टुक्रा टुक्रा पार्न खोज्नेहरूको नियोजित उद्देश्य कहिले पूरा हुँदैन नेपाल विनाश गर्न खोजिएको अवस्थामा भारत चुप लागेर बस्दैन ।

news and entertainment