डेनमार्कको ग्रीनकार्ड 'पीआर' होइन

पोहोर साल छुट्टीमा नेपाल जाँदा मेरा एक हितैषीले देशको बिग्रँदो स्थितिले दिक्दार भएर आफू पनि विदेशिने मनस्थितिमा पुगेको सुनाए। स्वदेशमा राम्रै पेशामा आबद्ध उनीलाई जानै चाहेको भए छानेर राम्रो देश छान्न सल्लाह दिएँ। उनले खुसुक्क भने- डेनमार्कको 'पिआर' भरिदिउँ क्यारे !

'नेपाल बसेर डेनमार्कको पिआर भर्न सम्भव छ र ?' मेरो अज्ञानता चिर्न खोज्दै उनले थपे- अँ, पोइन्ट सिस्टममा डेनमार्कले पिआर दिंदो रहेछ। मैले बुझेर आएँ।
उनले डेनमार्कको ग्रीनकार्ड प्रक्रियाको कुरा गरेका रहेछन, त्यो मैले पछि बुझें।
त्यसपछि पनि धेरैजना सम्पर्कमा आए- मास्टर्ससम्मको शैक्षिक योग्यता, २-३ बर्ष कुनै शीपमूलक काम गरेको अनुभव, अंग्रेजी भाषाको राम्रो दख्खल भएका र उमेरको हद पार नगरेका युवाहरुलाई डेनमार्कमा सोझै पिआर मिल्छ रे नि !
बुझ्दै जाँदा थाहा भो- केही कन्सल्ट्याण्टहरूले डेनमार्कको ग्रीनकार्ड प्रक्रियालाई पिआर भनेर काउन्सलिङ्ग गरेका रहेछन। बुझ्ने क्रममा डेनमार्कको ग्रीनकार्डलाई अमेरिकाको ग्रीनकार्ड जस्तै भनेर भ्रमपूर्ण अर्थ लगाउनेहरू पनि भेटिए।
डेनमार्कको ग्रीनकार्ड तेस्रो मुलुकहरूका योग्य जनशक्तिलाई आकर्षित गर्ने प्रकृतिको भए पनि अमेरिकी ग्रीनकार्ड झैं प्राप्त गर्नासाथ स्थाई बसोबासको ग्यारेन्टी यसले दिंदैन।
के हो डेनिस ग्रीनकार्ड ?
डेनिस ग्रीनकार्ड डेनमार्कमा स्थायी बसोबासको अनुमतिपत्र (पीआर) होइन। तर डेनमार्कमा अस्थाई बसोबास गर्ने र आफैंले खोजेर काम गरी कमाउने वैधानिक बाटो हो। डेनिस नीतिमा तोकिएको अवधिभित्र तोकिएका मापदण्ड पुरा गर्न सके शुरुमा प्राप्त गरेको बसोबास अनुमतिको अवधि थप्न मिल्छ। ती मापदण्ड पूरा गरी छ वर्षसम्मको नियमित बसोबास पछि स्थाई बसोबासका लागि नीतिमा तोकिएका अन्य बूँदाहरु समेतको पालना गरे मात्र पिआरको आवेदन दिन सकिन्छ। नीति र मापदण्ड सजिला भने छैनन्।
ग्रीनकार्ड प्रक्रियामा आफू डेनमार्क आउन सफल आवेदकले यहाँ आएर रोजगारी पक्का गरेपछि तोकेबमोजिमको निश्चित आयस्रोत र आयआर्जन देखाएर आफ्नो परिवारका सदस्यहरु पनि (श्रीमान/श्रीमती र छोराछोरी) ल्याउन चाहिं पाउँछन्। एक परिवार एउटै ठेगानामा बस्नुपर्छ र परिवार बस्ने अपार्टमेन्टको बन्दोबस्त आफैंले मिलाउनु पर्छ।
 डेनिस ग्रीनकार्ड पाउने आधार  
शैक्षिक योग्यता, योग्यता अनुसारको कामको अनुभव, अंग्रेजी भाषाको तोकिएको परिक्षामा तोकिएअनुसार प्राप्तांक, उमेर र कुनै युरोपियन मुलुकमा वैधानिक बसोबास, अध्ययन वा रोजगारीको माध्यमबाट त्यहाँको समाजसँगको घुलमिलता लगायतका शीर्षकमा निश्चित अंक तोकिएका छन। प्रत्येक शीर्षकमा प्राप्त हुने अंकको योगफल १०० पुग्यो भने आवेदन दिन पाइन्छ। डेनिस एजेन्सी फर लेवर मार्केट एण्ड रिक्रुट्मेण्टले आवेदनमाथि गहिरो अध्ययन (र अवश्यक परे सम्बन्धित योग्यता र अनुभव सम्बन्धि प्रमाणपत्र प्रदान गर्ने निकायसंग सम्पर्क समेत) गरे पश्चात आवेदन उपर निर्णय लिनेछन। सबै कुरा सही निक्लिएमा आवेदन पेश गरेको निकायमार्फत शुरुमा डेनमार्क प्रवेशका लागि छ महिने अस्थाई प्रवेशाज्ञा (डि टाइप भिसा) प्राप्त हुन्छ। सो अवधिभित्र डेनमार्क प्रवेश गरी आफ्नो लागि आफैंले बासस्थानको चाँजो मिलाउनुपर्छ। डेनमार्कमा बस्नका लागि घर वा कोठा पाउनु सबैभन्दा मुस्किल काम मानिन्छ। डेनमार्क भित्रै आफू बसोबास गर्ने ठेगाना सहित सम्बन्धित नगरपालिकामा आफूलाई दर्ता गराएपछि दुई वर्षे 'सी टाइप रेसिडेन्स परमिट' प्राप्त हुन्छ।
केही कन्सल्टेन्सी वा कन्सल्टेन्टले भन्दिएजस्तो ग्रीनकार्डमा डेनमार्क आउनेलाई डेनिस सरकार, स्थानीय प्रशासन, कुनै निकाय वा रोजगारदाताले काम मिलाइदिन्नन। चिनजान भए सम्पर्कबाट नभए रोजगारीका सम्भावित क्षेत्रमा आफैं ढोका ढक्ढक्याउन जाने हो। आफ्नो देशको योग्यता अनुसारको काम कुनै नवप्रवेशीलाई डेनमार्क प्रवेश गरेको छोटो अवधीमा मिल्यो भने त्योभन्दा ठूलो भाग्य केहि हुने छैन।
डेनिस ग्रीनकार्ड लम्ब्याउने अधार
दुई वर्षे रेसिडेन्स परमिटको अवधि सकिनुभन्दा केही समय अगावै बसोबास लम्ब्याउन चाहेमा नविकरण गर्न सकिन्छ। तर ग्रिनकार्ड पाएर डेनमार्क पसेको पहिलो वर्ष न्यूनतम कति कमाएको हुनुपर्ने तथा नविकरणको आवेदन पेश गर्नु अगाडिको अन्तिम एक वर्षको वार्षिक न्युनतम आम्दानी कति हुनुपर्ने भन्ने तोकिदिएको हुन्छ।  पहिला त डेनमार्कमा काम पाउनै त्यति सजिलो छैन, काम पायो भने पनि  तोकिदिएको न्युनतम वार्षिक रकम बराबरको आम्दानी गर्न सामान्यतया एक पूर्णकालीन रोजगारी मात्र काफी छैन। ग्रीनकार्ड होल्डरले डेनमार्कमा एकभन्दा बढी रोजगारदातासँग पनि भेटेमा चाहे जति काम गर्न र कमाउन भने पाउँछ।  
पिआरको सम्भावना
प्रसस्तै गाह्रा अनि अप्ठ्यारा चरणहरू पार गरी कुनै अवैधानिक, आपराधिक प्रमाण नरहने गरी  डेनमार्कको कुनै सामाजिक सुरक्षण तथा अनुदान, सहयोग नलिई लगातार छ वर्ष बसेको र सो अवधिमा पिआर प्राप्त गर्न तोकेबमोजिम वार्षिक न्युनतम कमाई सहितको सबै योग्यता पूरा गरेमा बल्ल स्थाई बसोबास (पिआर) को लागि आवेदन पेश गर्ने सम्भवन हुन्छ (हालसालै पारित नयाँ नीतिबमोजिम केही अझै अफ्ठेरा चरण र मापदण्ड पूरा गरेमा साँढे चार वर्षमा पिआर आवेदन दिन सकिने प्रावधान छ)।
डेनमार्क प्रवेश गरेदेखि पिआर आवेदन पछि निर्णय नआउञ्जेलको अवधि समेतका आवेदकका सम्पूर्ण गतिविधिका सुक्ष्म अध्ययन तथा सबै सम्बन्धित निकायसँग प्रमाणहरूको संकलन र छानबिनपछि बल्ल पिआर पाउने/नपाउने निर्णय आउँछ।
यो बुझ्नु जरुरी छ- डेनमार्कले आफूकहाँ खड्किएका, विकासनिर्माण र आर्थिक उन्नतिका लागि आफूलाई आवश्यक पर्ने सिक्षित योग्य जनशक्ति भित्र्याउने मध्यम हो डेनिस ग्रीनकार्ड। ती जनशक्तिबाट अपेक्षा गरे झैँ लाभ हुन छाडेमा कुनै पनि बखत यो प्रक्रिया निस्क्रिय हुन सक्छ भन्ने जानकारहरू बताउँछन्। यसर्थ ग्रीनकार्डलाई डेनमार्कमा बसाइँसराइको सजिलो कडी नठान्नु बुद्धिमानी हुनेछ।
 setopati

,

news and entertainment