ह्यान्डस नेताको प्रेम-प्रसंग

काठमाडौं- पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनपछि सबैतिर उनको विवाह किन भएन भनेर प्रसंग उठिरहे। कोइरालाको पारिवारिक र निकट मानिने मानिस उनको विवाह नहुनु दुर्भाग्यभन्दा पनि प्रेमप्रतिको सम्मानको रूपमा लिन्छन्। युवा अवस्थामा हिरोजस्तो ठाँटिएर हिँंड्ने सुशील कोइरालाले प्रेम गरे। अध्ययनका सिलसिलामा वनारस पुगेका उनलाई हिरो बन्न प्रोत्साहन गर्ने ती प्रेमिकाले धेरै वर्ष सुशीलको प्रतीक्षासमेत गरिन्।



लामो समयसम्म प्रेम र प्रेमिकाबारे सुशील कोइरालाले परिवारलाई जानकारी गराएनन्। छोरा राजनीतिमा लागेपछि उनकी आमाले विवाहका लागि ताकेता लगाउन थालेपछि बल्ल उनले प्रेम प्रसंगबारे सबैलाई जानकारी गराएका थिए। 'विवाहको प्र्रसंग निकाल्यो कि उहाँ झर्किनुहुन्थ्यो। उहाँको आमाले छोरो राजनीतिमा लाग्यो भनेर धेरै चिन्ता लिन थाल्नुभयो। आमाले विवाहका लागि दबाब दिन थालेपछि बल्ल उहाँले प्रेम प्र्रसंगबारे जानकारी गराउनु भएको थियो। उहाँले प्रेमिकासँग मात्र विवाह गर्ने ढिपी गरिरहनुभयो,' सुशील कोइरालाको पारिवारिक स्रोतले भन्यो, 'राजनीति करियरमा व्यस्त हुनुभयो या आमा मान्नुभएन। विवाह हुन सकेन्। पछि उहाँकी प्रेमिकाले अर्कैसँग विवाह गरेको कुरा सुनेपछि उहाँले राजनीतिमा सम्पूर्ण जीवन समर्पित गर्नुभयो।'

राजा महेन्द्रले २०१७ सालमा बिपी कोइराला नेतृत्वको निर्वाचित सरकार र संसद विघटन गरेपछि सुशील बनारसतर्फ लागेका थिए। 'फोटोग्राफीका सौखिन सुशील फोटो खिच्न र खिचाउन माहिर थिए। युवा अवस्थामा हिरो देखिने हुँदा उहाँले बलिउडमा फिल्म खेल्ने रहर गर्नुभएको थियो। कोइराला परिवारका सदस्यहरू नृत्यमा सौखिन भएकाले उहाँ सुशीला आमासँग कहिलेकाहीँ नृत्य प्रशिक्षणमा समेत लागिहाल्नु हुन्थ्यो, ' पारिवारिक स्रोतले भन्यो।

भूमिगत राजनीतिमा सक्रिय भएर वनारसमा निर्वासित जीवन बिताइरहेका सुशील २०३७ सालसम्म भारत बसे। निर्वासित रहँदा हिरो बन्न उनले बलिउडमा लागेका केही व्यक्तिहरूसँग भेटघाट समेत गरेका थिए। सुशीलले उनकी प्रेमिकालाई पहिलोपटक भने अध्ययनको सिलसिलामा भेटेका थिए। 'अल्लारे प्रेमले लामो समय निरन्तरता पाए पनि भारतबाट नेपाल फर्किएपछि उहाँले प्रेमिकाबारे जानकारी गराउनु भएको थियो। विवाह गर्ने भए तिनै प्रेमिकासँग मात्र गर्ने ढिपीको पछाडि उहाँको लामो समयको प्रेम थियो।' राजनीतिमा सक्रिय सुशीलले विवाहलाई प्राथमिकतामा राख्न भ्याएनन्। 'छोरोले विवाहबारे चासो लिन छाडेपछि आमाले पनि दबाब दिन बन्द गर्नुभएको सुनेका थियौं,' स्रोतले भन्यो, 'राजनीतिमा सक्रिय भए पनि उहाँले परिवारका सदस्यलाई सकेसम्म समय निकाल्नुहुन्थ्यो। घरमा राजनीतिक माहोल हाबी भए पनि फुर्सदमा फिल्म हेर्ने गनुहुन्थ्यो।'

राजनीतिक परिवेशमा जोडिएको विमान अपहरण काण्डमा सहभागी भएका सुशील पक्राउ परेपछि तीन वर्ष जेल जीवन बिताइरहँदा प्रेमिकाको विवाह भएको खबर साथीभाइले सुनाएका थिए। विस्तारै राजनीतिक माहोल परिवर्तन हुन थालेपछि उनले विवाह र घरपरिवारबारे सोच्ने फुर्सद पाएनन्।

२०७० माघमा देशको ३७ औँं प्रधानमन्त्री भएलगत्तै सुशील कोइरालासँग उनकी भान्जी मृदुला कोइरालाको निकटताबारे विभिन्न हल्ला सुरु भयो। पारिवारिक स्रोतका अनुसार मृदुला पहिलादेखि घरमा आउनेजाने हुँदा मामा भान्जीको सम्बन्ध भएको हो। कोइरालाको नेतृत्वमा रहेको सरकारले नेपालको नयाँ संविधान २०७२ जारी गर्दासम्म मृदुला निकट रहेकी थिइन्। परिवारका सदस्यलाई समेटेर राजनीति गरिरहेको आरोप खेपिरहेका अविवाहित सुशीलले मृदुलालाई स्वकीय सचिव बनाएपछि धेरैको ध्यानसमेत केन्द्रित भएको थियो। नेपाली कांग्रेसका सभापति भएर १३औँ महाधिवेशनमा लागिपरेको अवस्थामा समेत मृदुला सुशील निकट थिइन्। सुशीलको निधनपछि हाल मृदुला महाधिवेशनमा व्यस्त छिन्।

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा एक सभासद्सँग बालुवाटार पुगेका सुशीलले विवाहको प्रसंग उठेपछि झोक्किएर भनेका थिए, 'डेमोक्रेसी खत्तम भइसक्यो। तपाईंहरू विवाहको कुरोमा अडि्करहनु भएको छ।'

फोटोग्राफीबारे जानकार सुशील अस्पतालको शय्यामा हुँदासमेत फोटो खिच्नुपर्दा उठेर फ्रेस हुने परिवारका सदस्य बताउँछन्। 'फोटोबारे धेरै जानकारी राख्नुहुन्थ्यो,' स्रोत भन्छ, 'उहाँले खिच्नुभएका फोटोहरूको एल्बम थियो। घर सर्नेक्रममा कता परेको छ खोज्न भ्याएको छैनौं।'

उनी अंग्रेजी फिल्म धेरै हेर्ने गर्थे। उनलाई नयाँ पुस्ताका कलाकारको अभिनयले कहिल्यै प्रभाव पारेन। 'परिवारमा नातीनातिना भेट हुँदा फिल्मको गफ गरिहाल्थे। घरमा उहाँका कारण धेरै फिल्म हेर्ने माहोल बनेको थियो।'
nagariknews

,

news and entertainment