मुस्ताङ, उपल्लो मुस्ताङवासीको अग्रसरतामा चीनको सिमाना कोरला नाका जोड्ने समर–भियना सडकको मर्मत सुरु गरिएको छ । जोमसोम–कोरला सडकखण्डअन्तर्गत पर्ने उक्त सडकखण्डलाई उपल्लो मुस्ताङको प्रवेशद्वार मानिन्छ । सबैभन्दा जोखिमयुक्त मानिने करिब दुई किलोमिटर समर–भियना सडकखण्ड मर्मत गर्न करिब ३० लाख रुपैयाँ बजेट आवश्यक पर्ने भए पनि जिविसले १२ लाख रुपैयाँ मात्र उपलब्ध गराएको छ ।
बजेट अपुग हुने भएकाले लोमान्थाङ, छोसेर आदिका सर्वसाधारणले दैनिक श्रमदान गर्ने सहमतिमा मर्मत सुरु गरिएको हो । व्यापारिक कारोबारका लागि कोरला नाका सञ्चालन गर्नुपर्ने सर्वत्र माग भएपनि सडक मर्मतका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा स्थानीयवासी भने आक्रोशित बनेका छन् । स्थानीयवासीको पहलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले पनि केही दिन श्रमदान गर्ने भएका छन् । सरकारले बजेट कम उपलब्ध गराए पनि विभिन्न सङ्घसंस्था र स्थानीयवासीको लगानीमा सडक मर्मत गरिने लोमान्थाङका स्थानीयवासी टासी गुरुङले जानकारी दिनुभयो ।
जिविसले उपलब्ध गराएको बजेटबाट ढुङ्गा, बालुवा र माटो सङ्कलन कार्य गरिने उहाँको भनाइ छ । जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर रवीन्द्र तिवारीले सडक फराकिलो र सतह मिलाउने काम सुरु गरिएको बताउनुभयो । “पैसा थोरै भए पनि श्रमदान गर्न स्थानीयवासी तयार छन्, त्यसमा सुरक्षा निकायले पनि राम्रो साथ दिएको छ”, उहाँले भन्नुभयो । उक्त सडकखण्ड मर्मत भएमा ९३ किलोमिटर लामो जोमसोम–कोरला सडक सञ्चालन गर्न समस्या नहुने इन्जिनियर तिवारीको भनाइ छ । रासस
स्थानीयवासी आफै जुटे, कोरला जोड्ने सडक मर्मत सुरु
news and entertainment