भारत र युरोपियन यूनियनलाई चुरेभावरको कडा चेतावनी, चुप नबस्न सरकारलाई आग्रह

काठमाडौं, १९ चैत । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्तालाई आँच आउने गरी लोकतान्त्रिक मुलुक भारत र युरोपियन यूनियन (इयू) ले बेल्जियमको ब्रसेल्स सम्मेलनबाट दिइएको संयुक्त वक्तव्यप्रति गम्भीर आपत्ति प्रकट गरेको छ ।
चुरेभावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानले आज विज्ञप्ति जारी गरेर नेपालको आन्तरिक विषयमा हस्तक्षेप गर्ने गरी भारत र युरोपियन यूनियनले कुनै पनि वक्तव्य जारी गर्ने कार्य सार्वभौम राष्ट्रलाई कदापि मान्य नहरने बताउनुभएको छ ।
‘नेपालको संविधानको बारेमा टिकाटिप्पणी गर्ने कुनै अधिकार र हैसियत छैन’, न्यौपानले भनेका छन्, ‘नब्बे प्रतिशतभन्दा बढी जनताका प्रतिनिधिहरूको सहभागितामा निर्माण भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयन भइसकेको अवस्थामा यसैलाई लिएर भारत जस्तो ठूलो लोकतान्त्रिक मुलुक र युरोपियन यूनियनले दिएको गैरजिम्मेवारीपूर्ण संयुक्त वक्तव्यले नेपाली जनता मर्माहित बनेका छन् ।’
अध्यक्ष न्यौपानले नेपालको समावेशी र लोकतान्त्रिक संविधानका विषयमा टिकाटिप्पणी गर्ने अधिकार कुनै पनि विदेशी मुलुकलाई नेपाली जनताले नदिएको बताउनुभएको छ ।
‘संविधानमा चित्त नबुझेको भए नेपाली जनता आफैले संविधान संशोधन गर्न सक्छन्’, विज्ञप्तिमा भनिएको छ, ‘बाह्य मुलुकले यस विषयमा बोल्नुपर्ने आवश्यक्ता नै छैन ।’
‘थाती रहेका राजनीतिक विषयको सम्बोधन पश्चात मात्रै नेपालमा राजनीतिक तथा आर्थिक स्थिरता आउनेछ’ भन्ने जस्ता विषय संयुक्त वक्तव्यमा राख्ने कार्य एउटा स्वाभीमान नेपालीका लागि कदापि स्वीकार्य छैन’, चुरेभावर पार्टीले भनेको छ ।
चुरेभावर पार्टीले नेपालको अशल छिमेकी राष्ट्र भारत र युरोपियन यूनियनले आउँदा दिनमा यस्ता गैरजिम्मेवार र आन्तरिक मामिलामा हस्तक्षेप हुने गरी कुटनीतिक मर्यादा विपरितका गतिविधि गर्ने छैनन् भन्ने विश्वास लिएको उल्लेख गरेको छ ।
अध्यक्ष न्यौपानले भनेका छन्, ‘अन्यथा आउँदा दिनमा पनि यस्तै कार्य दोहरिए चुरेभावर पार्टी चुपलागेर बस्ने छैन । र यस्ता कार्यप्रति कुटनीतिक माध्यममार्फत ती मुलुकहरूलाई सचेत गराउन नेपाल सरकारलाई पनि आग्रह गर्दछौँ ।’
dainiknepal

news and entertainment