'बालिका बधु' की 'आनन्दी'ले गरिन् आत्महत्या

एजेन्सी: भारतीय टेलिभिजन कलर्सको चर्चित धाराबाहिक श्रृंखला 'बालिका बधु' मा आनन्दीको भूमिका निर्वाह गर्दै आएकी कलाकार प्रत्युषा बनर्जीले शुक्रबार दिउँसो आत्महत्या गरेकी छन् ।

ब्वाई फ्रेन्ड राहुल राज सिंहसँग झगडा परेपछि उनले झुन्डिएर आत्महत्या गरेको भारतीय सञ्चामाध्यले जानकारी दिएका छन् ।


झुन्डिएपछि उनलाई तत्कालै मुम्बईको कोकिला बेन अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनलाई डक्टरको टोलीले मृत घोषित गरिदिए । पुलिसले राहुल, प्रत्युषाका भान्सेर र उनका केही साथीसँग घटनाबारेमा बयान लिइरहेको छ।

जानकारी अनुसार प्रत्युषाले मुम्बईको अन्धेरी पश्चिम इलाकामा रहेको आफ्नै घरमा शुक्रवार झुन्डिएर आत्महत्या गरेकी हुन् ।

उनका निकटहरुका अनुसार आफ्ना ब्वाई फ्रेन्ड राहुलसँग केही समयदेखि झगडा चलिरहेको थियो । समाचार अनुसार उनीहरु दुईजना केही दिनमै बिहेको तयारीमा समेत थिए । बिहेको तयारी भइरहेका बेला ब्वाई फ्रेन्ड राहुलले प्रत्युषामाथि धोका दिएको आरोप लगाएका थिए ।


प्रहरीका अनुसार जब प्रत्युषा झुनुडिइन् तब राहुल घरमा थिएनन् । साँझ करिब ५ बजे जब उनी घरमा पुगे त्यो बेला प्रत्युषा रहेको कोठाको ढोका खोल्न सकेनन् । त्यसपछि उनले ढोका फोडेर भित्र पस्दा प्रत्युषालाई झुन्डिएको अवस्थामा भेट्टाए ।

राहुलले पुलिसलाई फोन गरेर यसबारेमा जानकारी गराएका थिए । उनले त्यसपछि प्रत्यूषालाई लिएर कोकीलाबेन अस्पताल पुगेका थिए । अस्पतालमा उनलाई बचाउने कोशिस पनि गरियो तर केहीबेरमै प्रत्युषालाई डाक्टरले मृत घोषित गरिदिए ।

पुलिसलाई प्रत्यूषाको घरबाट कुनै किसिमको सुसाइड नोट मिलेन । उनको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ। प्रत्यूषा अन्धेरी पश्चिममा आफ्नो घरमा साथीसँग बस्दै आएकी थिइन् ।

उनको परिवार मुम्बई बाहिर बस्दै आएको छ । प्रत्युषा झारखन्डको जमसेदपुरको बासिन्दा हुन् । उनको भेट राहुलसँग जमसेदपुरमै भएको एक पार्टीका क्रममा भएको थियो ।

प्रत्युषाको ज्यान गएपछि उनका केही साथी कलाकारहरु उनले आत्महत्या गर्नै नसक्ने बताइरहेका छन् । कलाकार सारा खान भनिन्, 'उनी  एक मजबूत लक्ष्य भएकी युवती थिइन् । उनले आत्महत्या गर्नै सक्दिनन् ।

'बिग बोस' का प्रतियोगी रहेका एजाज खानले त प्रष्ट भाषामा प्रत्युषाको हत्या गरेको बताएकाछन् । उनको भनाइमा प्रत्युषा आत्महत्या गर्ने केटी नै हैनन् ।

प्रत्यूषाको मृत्युको खबरपछि भारतीय टेलिभिजन उद्योग शोकमा डुबेको छ । हरेक कलाकारदेखि कार्यक्रम उत्पादकसम्म आफूहरुलाई झट्का लागेको बताइरहेका छन् ।


उनकी साथी कलाकार काम्या पञ्जाबीले मृत्युको खबर पुष्टि गर्दै आफू यसबारे केही बोल्नै नसक्ने अवस्थामा रहेको प्रतिक्रिया दिएका छन् । प्रत्युषा 'बालिका बधु' मा 'आनन‌्दी' को भूमिकाबाट चर्चामा आएकी थिइन् ।

उनले रियलिटी शो 'बिग बोस-७' मा पनि भाग लिएकी थिइन् । अहिले भने उनी कलर्स च्यानलमै 'ससुराल सिमर का' टीभी सिरियलमा देखिइरहेकी थिइन् ।

समाचार अनुसार पछिल्लो केही समयदेखि प्रत्युषाको जीवनमा केही समस्या आइरहेको थियो। उनका निकट मित्रहरुका अनुसार उनको व्यवहार पनि झनक्क रिसाउने हुँदै गएको थियो । जनवरी महिनामा उनले आफ्नो घरमा चारजना प्रहरी जवान आफ्नो घरमा जबरजस्ती पसेको आरोप पनि लगाएकी थिइन् ।
annapurnapost

,

news and entertainment