एपिएफको उपाधि ह्याट्रिक

काठमाडौं- एपिएफ क्लबले लगातार तेस्रोपटक सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय खुला महिला भलिबलको उपाधि जितेको छ। एपिएफले शुक्रबार हल्चोकस्थित घरेलु कोर्टमा विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २५–८, २५–२३, २५–२० ले पराजित गर्योक। दुई संस्करण जित्दा एपिएफको फाइनल प्रतिद्वन्द्वी न्यु डायमन्ड एकेडेमी थियो। तर, यसपटक एसएलसी परीक्षाका कारण डायमन्डले भाग लिएन।

एपिएफकी स्पाइकर रेश्मा भण्डारीले प्रतिद्वन्द्वी सहज भएकाले खेल जित्न कठिन नभएको बताइन्। 'सुरुआती सेटमा हामीले राम्रो खेल्दै उनीहरूलाई दबाबमा राख्यौं। त्यसले अन्य सेट जित्न सहज भयो,' उनले भनिन्, 'पुलिसले विगतको जस्तो खेल्न सकेन। उनीहरूले राम्रोभन्दा हामीले नेगेटिभ अंक बढी दियौं। हाम्रो टोलीको स्पाइक सबैको राम्रो छ। उनीहरूको डिफेन्स बलियो थियो।'


नेपाल पुलिसले २ वर्षअघि एपिएफलाई नेपालगन्जमा भएको प्रधानमन्त्री कप भलिबलमा हराएको थियो। त्यसपछि पुलिस एपिएफसँग खेलेका सबै खेलमा पराजित हुँदै आएको छ।

पुलिसका पूर्व प्रशिक्षक सुदेशकुमार रिमालले अहिले एपिएफ टोली हेरिरहेका छन्। रिमालपछि रुपेश विष्टले ८ महिनायता पुलिसको जिम्मेवारी लिएका छन्। प्रशिक्षक विष्टले बेन्च खेलाडी बलियो नहुँदा खेल हार्नुपरेको बताए। 'एपिएफको नराम्रो भन्ने केही छैन। सबै पोजिसनमा बलियो छ। बेन्च पनि बलियो छ। हाम्रा बेन्च खेलाडी त्यति अनुभवी छैनन्,' विष्टले थपे, 'पहिलो सेटमा नियन्त्रण गुमाएपछि हामीलाई अप्ठ्यारो भयो। दोस्रो सेटमा हामी खेलमा फर्कने प्रयास गरेको थियौं। तर, रिसिभ बिग्रिएरदोस्रो सेट जित्न सकेनौं।'

एपिएफले २ लाख ५० हजारर पुलिसले १ लाख २५ हजारतथा तेस्रो टोली पश्चिमाञ्चलले ५० हजार रुपैयाँ पुरस्कार पाए। एपिएफकी उषाकुमारी विष्ट उत्कृष्ट खेलाडी भइन्। उषाले स्कुटर पुरस्कार जितिन्।

स्पाइकरमा पुलिसकी कोपिला उप्रेती,डिफेन्डमा पुलिसकी शान्ति तामाङ, सर्भरमा एपिएफकी नबिता चौधरी, ब्लकर एपिएफकी सरस्वती चौधरी, सेटरमा पश्चिमाञ्चलकी शशि चौधरी र प्रशिक्षकमाएपिएफका सुदेश रिमाल उत्कृष्ट भए। व्यक्तिगत विधामा उत्कृष्टले समान ५ हजार थापे।

प्रतिभावान खेलाडी बनेकी एपिएफकी निशाना बललाले १० हजार पाइन्। विजयी खेलाडीलाई सशस्त्र प्रहरी महानिरीक्षक दुर्जुकुमार राई, नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङ लगायतले पुरस्कृत गरे।
nagariknews

,

news and entertainment