काठमाडौं, ८ बैशाख । गृहमन्त्री शक्तिबहादुर बस्नेतले प्रहरी प्रधान कार्यालयस्थित खेल मैदानमा आयोजित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षा कारबाही सम्बन्धी अभ्यास कार्यक्रमको बुधबार अवलोकन गर्नुभयो ।
गृहमन्त्री बस्नेतले दुई प्रहरी संगठनबीच कार्यक्षेत्रमा सामुहिक भावनाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुहुँदै सुरक्षाका चुनौतिलाई समीक्षा गरी आगामी योजनालाई थप व्यवहारिक बनाउन यस्ता अभ्यासले प्रभावकारी भूमिका खेल्ने बताउनुभयो ।
स्थानीय प्रशासन ऐन २०२८ अनुसार भीड व्यवस्थापनको क्रममा बल प्रयोगको सिद्धान्त बमोजिम हुने प्रहरी कारवाहीका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई संयुक्त र प्रभावकारी परिचालन गर्न, जिम्मेवारीको अन्यौलता हटाउन, जिम्मेवारी प्रष्ट्याउन, आधारभूत मानव अधिकारको संरक्षण गर्न, क्षति न्यूनिकरण गराउन र प्रहरी कारवाहीलाई जवाफदेही बनाउने उदेश्य अनुरुप आवश्यक व्यावहारिक ज्ञानका लागि अभ्यास प्रदर्शन गरिएको हो ।
उक्त अवसरमा भिड नियन्त्रणको क्रममा गरिने शक्ति प्रयोगको सिलसिलेवार सिद्धान्तलाई प्रभावकारी तरिकाले संयुक्त रुपमा अभ्यास गराइएको थियो ।
कार्यक्रममा गृहसचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक केदार प्रकाश साउदले व्यवसायिक प्रहरी आजको आवश्यकता भएको बताउँदै सुरक्षा निकायहरुबीचको समन्वयले कार्य सम्पादनमा सहजता हुनुका साथै भातृत्व र सहयोगको भावनामा अभिबृद्धि हुने बताउनुभयो ।
dainiknepal
गृहमन्त्री गएकै बेला जब प्रहरी हेडक्वाटरमा भागदौड मच्चियो…
news and entertainment
