भारतको हेपाहा प्रवृत्ति विरुद्ध नेपालका सबै शक्तिहरु एक भएर प्रतिकार गर्न जरुरी
नेपाललाई चिढ्याएर भारतले के प्राप्त गर्न खोजेको हो भन्ने विषयमा जानकारहरु आश्चर्यमा, नेपालविरुद्ध भारतको अन्तर्राष्ट्रिय मोर्चावन्दी बुझिनसक्नु
भारतको छिमेकी नीति पुरातन र प्रभूत्ववादी भएको भन्दै निकै आलोचना हुने हुने गरेको छ । गरीब र साना छिमेकी चिढ्याएर भारतले के प्राप्त गर्न खोजेको हो जानकारहरु आश्चर्य मान्दछन् । दक्षिण एसियामा केही राम्रो सम्वन्ध मानिएको नेपाललाई समेत एकपछि अर्को गर्दै चिढ्याउन थालेपछि भारतको रवैयालाई लिएर सर्वत्र प्रश्न गर्न थालिएको छ ।
नेपालमा आफु अनुकल नयाँ संविधान जारी नभएपछि भारतको नरेन्द्र मोदी सरकारले नेपाल विरुद्ध कठोर कदमहरु चाल्न सुरु ग¥यो । एक भूपेरिवेष्ठित मुलुकले पाउने अधिकारलाई कुष्ठित गर्दै नेपाल विरुद्ध पाँच महिना लामो नाकाबन्दी गरेपछि मोदी सरकार विरुद्ध नेपालमा मात्र नभई भारतमा समेत तीव्र विरोध भयो । नाकाबन्दी अन्त्य भएपछि पनि भारतले नेपालको नयाँ संविधानप्रतिको असन्तुष्टि अझै अन्त्य गरेको छैन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणताका संयुक्त विज्ञप्ती जारी गर्न अस्वीकार गरेर भारत सरकारले छिमेकी नेपालको घोर अपमान गरेको जगजाहेर छ । त्यतिमात्र होईन भारतीय प्रधानमन्त्री मोदीको वेलायत र ब्रसेल्सस्थित युरोपेली युनियन ईयु भ्रमणका क्रममा जारी भएका संयुक्त वक्तव्यमा भारतले अनधिकृतरुपमा नेपालको नयाँ संविधानप्रतिको असन्तुष्टि व्यक्त गराई छाड्यो । जसलाई लिएर नेपालमा यतिखेर तीव्र प्रतिक्रिया उठने क्रम तीब्र नै बनेको छ
नेपालमा भएको राजनीतिक एवं सामाजिक परिवर्तन, जनताको चेतनास्तर र कूटनीतिक सम्वन्ध विस्तारलाई कम आक्नु नै भारतको नेपाल नीति अपूर्ण र समस्याग्रस्त हुनुको कारक भएको जानकारहरु बताउँछन् । जवाहारलाल नेहरु र इन्दिरा गान्धीको असफल छिमेकी नीतिलाई वर्तमान भारत सरकारले अझै आत्मसात गर्नु चरम भूल र घातक भएको भारतकै कूटनीतिक विज्ञहरुको टिप्पणी छ । कुनै पनि देशको संविधानमात्र नभई सवै नीति एवं कार्यप्रक्रिया पूर्ण हुँदैन् । क्रमिकरुपमा लोकतान्त्रिक विधि र आर्थिक समृद्धिवाटवाट समाधान गर्दै जाने हो । नेपाल जस्तो लोकतान्त्रिक संस्कार स्थापित नभईसकेको र आर्थिकरुपमा कमजोर मुलुकलाई आवश्यक सहयोग गरी स्थिरता र विकासकोलागि समाधान गर्नुपर्नेमा भारतले नाजायज चर्तिकला देखाउँनु दूर्भाग्य हो ।
भारतको हेपाहा प्रवृत्ति विरुद्ध नेपालका राजनीतिक शक्तिहरु र जनता एकतावद्ध भएर प्रतिकार गर्न जरुरी छ । विश्वकै पुरानो मुलुक साथै प्राचीन सभ्यता भएको नेपालले आफ्नो सार्वभौमसत्ता र स्वाभिमानको रक्षाकोलागि कडा र नरम दुवै कूटनीतिक सक्रियता र पहल कदमी बढाउनु जरुरी छ ।
News24Nepal