उद्योगपति चौधरीले दिए सफलताका सुत्र, धनी बन्न काम लाग्ने
चितवन, १९ चैत । उद्योगपति विनोद चौधरीले पेसाप्रति निष्ठा र आफूप्रतिको इमान्दारिता कायम गर्न सके सफल बन्न सकिने बताउनुभएको छ ।
उहाँले लेख्नुभएको आत्मवृत्तान्त ‘विनोद चौधरी’को उद्योग वाणिज्य सङ्घ चितवनले बिहीबार नारायणगढमा आयोजना गरेको समीक्षा कार्यक्रममा उहाँले सफल हुन सपना देख्नुपर्ने बताउनुभयो । केही साहित्यकार, केही व्यवसायी र धेरै उद्योगपतिको बीचमा उहाँले पुस्तकको भन्दा आफ्नो जीवनमा भएको सफलता र अनुसरण गर्नुपर्ने विषयमा बोल्नुभएको थियो ।
आफ्नो पुस्तक लेखनका सम्बन्धमा सुरुमा लेख्ने वा नलेख्ने निर्णय गर्न समय लागेको बताउँदै उहाँले सबैखाले चुनौती मोलेर अन्ततोगत्वा पुस्तक लेख्ने निष्कर्षमा आफू पुगेको बताउनुभयो । पाँच वर्षको मिहिनेतपछि आत्मवृत्तान्त तयार भएको पनि उहाँले बताउनुभयो । आत्मवृत्तान्तमा आफ्ना कमीकमजोरीसमेत समावेश भएको उहाँले बताउनुभयो । कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी नीर शाहले आफ्नो जीवनपछिको अध्ययन विनोद चौधरीको गरेको बताउँदै सामुदायिक पाठशालाको अध्ययनबाट यो अवस्थामा आउनु उदाहरणीय काम भएको बताउनुभयो ।
चौधरीले सामुदायिक विद्यालयमा पढ्दा पाठ्यक्रम मात्रै होइन मानिसको जीवन पढ्ने अवसर मिलेकै कारण उहाँमा सफलता मिलेको शाहले बताउनुभयो । चौधरी उद्योगपति मात्रै नभएर लेखक, कलाकार, साहित्यकार र सङ्गीतकार पनि रहेको शाहले बताउनुभयो ।
पुस्तकमाथि समीक्षा गर्दै प्राध्यापक एलवी क्षेत्रीले आफ्नो कमीकमजोरीसहित समावेश हुने आत्मवृत्तान्त लेख्नु ठूला व्यापारीका लागि आफँैमा चुनौतीपूर्ण भएपनि चौधरीको आत्मवृत्तान्त नेपाली उद्योगी, व्यवसायी र युवाका लागि पाठ भएको बताउनुभो । रासस