‘मधेसीका माग पुरा भए, अब के का लागि आन्दोलन?’

विराटनगरः उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले मुलुकमा देखिएको प्राधिक समस्या समाधानका लागि राजनैतिक स्थिरता कायम हुनु पर्नेमा जोड दिएका छन् ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले बिहीबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रिय राजनीतिका सन्दर्भमा सहमतिको विकल्प नभएको बताए ।


मधेसवादी दलहरुले राख्दै आएका मागहरु यसअघिनै पूरा भइसकेकाले आन्दोलनको तयारी गरिरहेका मधेसवादी दलहरुले आन्दोलन केका लागि र किन भन्ने कुरा प्रष्टरुपमा राख्नु पर्नेमा मन्त्री गच्छदारको जोड छ ।


सबै खालका आन्दोलन शान्तिपूर्ण हुनुपर्नेमा जोड दिँदै उनले छलफल र वार्ताबाटै समस्याको निकास निस्कन्छ भन्ने कुरा कसैलेपनि भुल्न नहुने बताए ।

मन्त्री गच्छदारले राजनैतिक स्थिरता कायम भए मात्र संविधान कार्यान्वायन, भूकम्पपछिको पुनर्निर्माण र मुलुकमा आर्थिक विकासले सहजता पाउने बताए ।

राजनैतिक दलहरुबीच सहमति हुन नसक्दा मुलुकमा विकासले गति लिन नसकेको स्वीकार गर्दै उनले भने, ‘मुलुक राजनैतिक अस्थिरतामा लामो समयदेखि अल्झिएर रहेकाले विविध समस्या सिर्जना भइरहेका छन् ।’

नेपाली जनताको मर्म र भावना अनुरुप सत्ता र सत्ता बाहिर रहेका सबै दल एक ठाउँमा उभिएर संविधान कार्यान्वायन गर्नुको विकल्प नभएको प्रति गच्छदारको जोड छ ।

उनले सहमतिको सरकार आवश्यक रहेको भन्दै कांग्रेस लगायतका दलहरुलाई तत्काल सरकारमा सहभागी हुन आब्हान पनि गरे ।

उनले दलहरुबीच भएको १६ बुँदे भद्र सहमति पुरानो भएपनि इतिहासमा रहिरहने भएका कारण त्यो कहिल्यैपनि नमेटिने र त्यसलाई कसैलेपनि भुल्न नहुने तर्क गरे ।
annapurnapost

,

news and entertainment