भूकम्पबारे भूकम्प मापन केन्द्रका प्रमूखकाे यस्ताे छ बिचार….

भूकम्प भविष्यवाणी गर्न सकिन्न
झण्डै नौ हजार नेपालीको ज्यान लानेगरी गएको गोरखा भूकम्प २०७२ गएको पनि एक वर्ष पुग्यो । उक्त भूकम्पका कारण नेपालबाहेक हाम्रा छिमेकी राष्ट्र भारत, चीन आदिमा पनि केही मानिसको ज्यान गयो भने भौतिक संरचनामा त ठूलै क्षति पु¥यायो । नेपालमा मात्रै झण्डै सात खर्ब रुपियाँको भौतिक क्षति भयो । जुन रकम सिङ्गो राष्ट्रको कुल गार्हस्थ उत्पादनको एकतिहाइ बराबर छ । यो भूकम्प नै विक्रम संवत् १९९० सालको महाभूकम्प साथै यस भूकम्पले मानवीय तथा भौतिक क्षतिका अतिरिक्त हरेक तप्काका नेपालीमा मनोवैज्ञानिक असर धेरै नै गरेको पाइन्छ । मुलुक अहिले यही पीडाबाट मुक्ति पाउने आशामा भूकम्पपछिको पुनःनिर्माणमा होमिएको छ । यसको एउटै उद्देश्य हुनुपर्छ– अब फेरि यस्तै भूकम्पका कारण भविष्यमा हाम्रो देशको यस्तो अवस्था नदोहोरियोस् । भूकम्प त गयो तर यसले हामीलाई विभिन्न पीडाको साथसाथै धेरै पाठ सिकाएर, विपत् व्यवस्थापनमा हाम्रा कमीकमजोरी उजागर गरिदिएको छ । मुख्य कुरा विकास गर्दा भूकम्पलाई नबिर्सनु भनेर गएको छ । अब यस्तै किसिमका भविष्यका प्राकृतिक प्रकोपमा हाम्रो भविष्य यो भूकम्पपछि हामीले के बुझौँ र हामीले बुझे–जानेका कुरा कसरी व्यवहारमा लागू गर्छाैं त्यसैमा निर्भर रहन्छ । भन्नुको मतलब भविष्यमा आउन सक्ने यस्तै भूकम्पका कारण हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न अब बनाउने भौतिक संरचना भूकम्पीय क्षति न्यून रहने प्रविधि प्रयोग गरी बनाउँछौँ कि बनाउँदैनौ, पुराना संरचनालाई समयसँगै बलिया बनाउँदै लैजान्छौँ कि लैजान्नौँ, भूकम्पसम्बन्धी ज्ञान केटाकेटी युवकयुवतीदेखि बूढाबूढीसम्म सबैलाई निरन्तर दिन्छौँको दिँदैनौँ वा भूकम्पको असरबाट बच्न थाहा भएजति तयारीमा हामी जुट्छौँ कि जुट्दैनौँ ।
गोरखा भूकम्प र त्यसका हालसम्मका परकम्पले जनमानसमा धेरै प्रश्न वा जिज्ञासा, डर, त्रास र भय पैदा गरिदिएको छ भने यसका साथै ठूलो जिम्मेवारी पनि सुम्पिएर गएको महसुस हुन्छ । ७.६ रेक्टर स्केलको भूकम्पको धक्का खाएका हामी सानो–सानो परकम्प जाँदा पनि आत्तिने, भाग्ने, झ्यालबाट हामफाल्ने, डराउने, होश गुमाउने आदि गरिरहेका छौँ । जसले गर्दा ठूलो भूकम्पले गराउन नसकेको घटना यस्तै साना–साना परकम्पमा हाम्रो व्यवहारले निम्त्याएको छ । त्यसैले त केही समयअघिका साना–साना परकम्प जाँदा करिब १०० जना मानिस काठमाडाँैमा घाइते हुन पुगे । जुन कुरा भूकम्पसम्बन्धी हाम्रो अज्ञानता तथा पूर्वतयारी कमीका कारणले गर्दा नै भएको हो ।



के हिजोआज संसारभरि धेरै भूकम्प गएकै हुन् त ?
हिजोआज हामी नेपालीलाई नेपाललगायत विश्वमा धेरै भूकम्प गएकोजस्तो लाग्छ । नेपालमै गइरहेका परकम्प तथा भर्खरै पाकिस्तान, अफगानिस्तान, भारत, बर्मा, इक्वेडर तथा जापानमा गएका भूकम्पका कारण यो सोचाइलाई अझ बलियो बनाइदिएको छ । के यो कुरा सत्य हो त ? सन् १९०० पछिका उपलब्ध तथ्याङ्कलाई केलाउँदा हरेक वर्ष पृथ्वीमा औसत साना ठूला गरी १५ लाख जति भूकम्प जाने गर्छन् । यीमध्ये धेरैजसो भूकम्प समुद्रमा वा मानव बस्तीभन्दा टाढा जाने गर्छन्, जसले खासै क्षति पु¥याउँदैनन् भने मानव बस्ति नजिक गएका ठूला भूकम्पहरू मात्रै मानिसलाई थाहा हुन्छ । यसैगरी, सामान्यतया मानव बस्तीनजिक गएका ठूला भूकम्पले नै हामीमा क्षति पु¥याउने गर्छन् । विश्वभरिमा ६ देखि ६.९ रेक्टर स्केलसम्मका भूकम्प वार्षिक औसतमा १३४ वटा जाने गर्छन् भने ७ देखि ७.९ रेक्टर स्केलसम्मका भूकम्प वार्षिक औसतमा १५ वटा जाने गर्छन् । औसतमा एक वर्षमा एउटा महाभूकम्प वा ८ रेक्टर स्केलभन्दा ठूलो भूकम्प गएको पाइन्छ । यसैगरी, नेपालमा भने गोरखा भूकम्प जानुपूर्व दैनिक साना–ठूला गरी १०÷१५ वटा भूकम्प जाने गर्थे भने ४ रेक्टर स्केलभन्दा ठूला भूकम्प वार्षिक २५ वटा बढी ५०÷६० वटासम्म गएको कुरा विगतका तथ्याङ्कले देखाउँछन् । यसबाट हामीले के थाहा पाउन सक्छौँ भने पृथ्वीमा भूकम्प गइरहेका थिए र गइरहेका छन् । फरक के छ भने विगतमा हामीले प्रायजसो भूकम्पले हल्लाएपछि मात्र थाहा पाउँथ्यौँ । हामीले महसुस नगरेका वा बाहिर गएका भूकम्पबारे चासो राख्दैनथ्यौँ तर हाल गोरखा भूकम्पपछि हामी पनि भूकम्पप्रति चनाखो भएका छौँ साथै आधुनिक सञ्चार विकासले गर्दा रेडियो, टीभी, इन्टरनेट, अनलाइन मिडिया अझ मुख्यगरी विभिन्न सामाजिक सञ्जालले गर्दा संसारको जुनसुकै कुनामा भूकम्प गए पनि तुरुन्तै थाहा पाउँछाँै । जसकारण पनि हाल धेरै भूकम्प गएको भान हुन्छ । साथै गत वर्ष वैशाख १२ गतेको पश्चिममा गोरखादेखि पूर्वमा दोलखासम्म चट्टान सतहबाट करिब १५ किलोमिटर तल चिरिएको (करिब १५० किलोमिटर) र दक्षिणमा काठमाडाँैसम्म चिप्लिएर (करिब ५० किलोमिटर) गएको जसलाई रप्चर क्षेत्र भनिन्छ, यसै क्षेत्रमा वा यस क्षेत्रवरिपरि हालसम्म ३० हजारभन्दा बढी परकम्प रेकर्ड भएका छन् भने काठमाडौँ नै केन्द्रबिन्दु भएरसमेत भूकम्प गइरहेका छन् । जसले गर्दा काठमाडाँैमा गएका सानाभन्दा साना म्याग्नेच्युडका भूकम्पले समेत कम्पन गराइरहेको छ । यसैबीचमा करिब एक हजारभन्दा बढी भूकम्पका धक्का यस क्षेत्रका मानिसले महसुस गरिसकेका छन् । काठमाडाँै केन्द्रबिन्दु भएर गएका भूकम्प भने हामीलाई थाहा भएसम्म गोरखा भूकम्पपछि मात्रै आएका भूकम्प हुन् । अमेरिकाको ओक्लोहामा जहाँ सन् २००७ भन्दा अगाडि भूकम्प जाँदैनथ्यो । हाल अमेरिकामा सबैभन्दा बढी भूकम्प जाने ठाउँले पनि चिनिन्छ । योभन्दा पहिला क्यालिफोर्नियामा अमेरिकामै सबैभन्दा बढी भूकम्प जाने गर्थे । तर, हामीलाई थाहा छ– नेपालमा विगतमा पनि भूकम्प गइरहेका थिए, अहिले पनि गइरहेका छन् र भविष्यमा पनि गइरहनेछन् । यसको अर्थ हामी सदा भूकम्पीय जोखिममा थियौँ, छौँ र रहनेछौँ । न त हामी भूकम्पलाई रोक्न सक्छौँ न त विश्वमा हालसम्म भूकम्पको सटिक भविष्यवाणी (जुन कुरा हरेक मानव जातिले आशा गरिरहेका हुन्छन्) गर्न सकिने प्रविधि नै विकास भएको छ । तर, यति हुँदाहुँदै पनि हालसम्मको वैज्ञानिक प्रविधि प्रयोग गरी भूकम्प आउन सक्ने दरार तथा ती दरारमा आउन सक्ने अधिकतम् भूकम्पको म्याग्नेच्युड अनुमान गर्न सक्छौँ, हामी बसोबास गरिरहेको जमिन कस्तो छ, ठूलो भूकम्प आउँदा यसले कस्तो व्यवहार देखाउँदछ वा कति कम्पन गराउन सक्छ, जमिनको तरलीकरण हुन्छ कि हुँदैन आदि थाहा पाउन सक्छौँ । जुन कुरा भविष्यमा आउन सक्ने यस्तै ठूला भूकम्पले कति क्षति पु¥याउन सक्छ भनी अध्ययन गर्न सकिन्छ र प्राप्त नतिजाअनुसार भविष्यमा भूकम्पले गर्ने क्षति न्यूनीकरण गर्न पूर्वतयारी गर्न सक्छाँै । हाल काठमाडौँ उपत्यकामा भूकम्पीय जोखिमसम्बन्धी जाइका जापानको सहयोगमा सन् २००२ पछि अध्ययन भइरहेको छ ।

पूर्वकम्प र परकम्प
कहिलेकाहीँ ठूला भूकम्प जानुपूर्व पूर्वकम्प आउने गर्छन् तर यसपटकको गोरखा भूकम्प जानुपूर्व त्यस्ता पूर्वकम्प आएनन् । उपलब्ध तथ्याङ्कअनुसार गोरखा भूकम्प गएकै स्थानमा करिब यस्तै म्याग्नेच्युडको भूकम्प सन् १८३३ (विसं १८९०) सालमा गएको थियो । त्यतिबेला राति १० बजेर ५८ मिनेटमा मुख्य भूकम्प जानुपूर्व दिउँसो ५ बजेर ३० मिनेटमा र राति १० बजेर ५० मिनेटमा ठूला पूर्वकम्प गएका थिए, जसकारण मानिस बाहिर बसिरहेको अवस्थामा गएको ठूलो भूकम्पले पनि खासै ठूलो क्षति गरेन । यही वैशाख ३ गते जापानको माचुमोतोमा गएको ७.० रेक्टर स्केलको भूकम्प जानुभन्दा ठीक एक दिनअघि ६.२ म्याग्नेच्युडको भूकम्प पूर्वकम्पका रूपमा गएको थियो । जसकारण समेत कम मानवीय क्षति हुन पुग्यो । तर, सधँै ठूला भूकम्पका पूर्वकम्प आउने गर्दैनन् । यसैगरी, सन् १९६० मा गएको हालसम्मकै विश्वको ठूलो ९.५ म्याग्नेच्युडको भूकम्प जानुभन्दा पहिला ७.९ म्याग्नेच्युडको पूर्वकम्प गएको थियो ।
परकम्प सामान्यतया मुख्य भूकम्पले चिरिएको, चिप्लिएको दरार क्षेत्रभित्र वा वरिपरि शक्तिको सन्तुलन हुनेक्रममा आउने गर्छन् । परकम्पको मान मुख्य भूकम्पको मानमा निर्भर हुन्छ । सामान्यतया जहिले पनि परकम्प मुख्य भूकम्पभन्दा १ म्याग्नेच्युड कमका आउने गर्छन् । तर, गोरखा भूकम्पको जत्रो ठूलो परकम्प भने विरलै हुने गर्छ । कम गहिराइमा (गोरखा भूकम्पजस्ता) आउने ठूला भूकम्पका परकम्प धेरै आउँछन् भने धेरै गहिराइमा आउने भूकम्पका परकम्प कम हुने गर्छन् । यसैगरी, परकम्पको संख्या र क्रम ठाउँअनुसार फरक–फरक हुने कुरा विगतका अध्ययनले देखाएका छन् । त्यसकारण ठूलो भूकम्पको परकम्प ठूला र धेरै हुने गर्छ । भूकम्पको गहिराइ बढ्दा परकम्प घट्छ । परकम्प भनेको जहिले पनि मुख्य भूकम्पभन्दा सानो हुन्छ । त्यसैले मुख्य भूकम्पले पहिल्यै कमजोर बनाएका घर संरचनालाई परकम्पले थप क्षति पु¥याउन सक्छन् । साथै मानिसमा थप डर र त्रास फैलाउँछ । जस्तो गोरखा भूकम्पपछिका परकम्प विशेषगरी २०७२ वैशाख २९ गते दोलखामा गएको परकम्पले हामीमा असर पारेको छ ।
अन्य स्थानमा गएका भूकम्प र नेपाल
अर्को अहिले अफगानिस्तानदेखि म्यान्मारसम्म हिमालयमा गएका भूकम्पले नेपालमा भविष्यमा जाने ठूला भूकम्पको सम्भावनालाई कम गर्छ कि भन्ने आशा छ । करिब २५०० किलोमिटर लामो हिमालय शृङ्खलामा दक्षिणको इन्डियन प्लेटको करिब प्रतिवर्ष चार सेन्टिमिटरको गतिमा उत्तरमा रहेको युरेसियन प्लेटसँगको टकरावले उच्च हिमालयदेखि तराईसम्मको भू–भागमा शक्ति सञ्चित भएको कुरा आजसम्मका जिपियसबाट प्राप्त तथ्याङ्कको अध्ययनले देखाएको छ । जुन शक्तिमध्ये केही शक्ति हिमालयको स्थायी उचाइ बढाउँछ भने केही शक्ति हिमालयमा समय–समयमा भूकम्पका रूपमा क्षीण हुन्छ । त्यसैले एक स्थानमा सञ्चित शक्ति भूकम्प जाँदा क्षीण हुने हुँदा अर्को स्थानमा रहेको शक्तिमा कुनै असर गर्दैन वा त्यहाँ जान सक्ने भूकम्पको जोखिमलाई घटाउँदैन । तर, धेरै शक्ति बाँकी रहेको स्थानमा वरिपरि जाने ठूला भूकम्पले भूकम्प निम्त्याउने सम्भावना भने रहन्छ । हिमालयमा भूकम्प फरक–फरक स्थानमा फरक–फरक म्याग्नेच्युडका भूकम्प जाने कुरा विगतका तथ्याङ्कले देखाएको छ ।

मौसम र भूकम्प
ठूला भूकम्प जाँदा उक्त स्थानमा कहिलेकाहीँ ठूलो पानी पर्ने, हिउँ पर्ने आदि देखिएको कुरालाई लिएर भूकम्प र मौसमबीच केही सम्बन्ध छ कि भन्ने शंका पारेको हुन्छ । जस्तो नेपालमै गएको भूकम्प र हालै जापानमा गएको भूकम्पको बेला पनि ठूलो पानी परेको थियो । तर, म्यान्मारमा भूकम्प जाँदा, इक्वेडरमा भूकम्प जाँदा, भारतमा भूकम्प जाँदा त पानी परेको थिएन । भूकम्प पृथ्वीमुनि धेरै गहिराइमा हुने भौगर्भिक प्रक्रियाले गर्दा जाने र मौसमले वायुमण्डल वा पृथ्वीको सतहमा हुने बदलावका कारण जाने हुँदा भूकम्प र मौसमबीच कुनै सम्बन्ध छैन र हालसम्म त्यस्तो सम्बन्ध भएको कुरा अध्ययनले देखाएको पनि छैन । तर, भूकम्पले ध्वस्त पारेको बेला घरबारविहीन भई खुला आकाशमुनि वा पालमा सहारा लिइरहेको बेला मौसम परिवर्तन भई आउने पानी, हावाहुरी, हिउँ, असिना आदिले भूकम्पपीडितलाई थप संकटमा पार्ने गर्छ । जुन कुरा नेपाल र हालै जापानमा गएको भूकम्पको बेला पनि देखिएको छ ।

भूकम्प र क्षति
भूकम्पले कुनै पनि स्थानमा गर्ने क्षति साधारणतया भूकम्पको म्याग्नेच्युड, भूकम्पको केन्द्रबिन्दुबाट उक्त स्थानसम्मको दूरी र त्यस स्थानको भौगर्भिक अवस्था अर्थात् भूकम्पको म्याग्नेच्युड जति ठूलो भयो त्यति नै धेरै क्षति हुन्छ । केन्द्रबिन्दुबाट जति टाढा गयो, क्षति त्यति नै कम हुँदै जान्छ र सम्बन्धित स्थानको भौगर्भिक अवस्था वा माटोअनुसार केन्द्रबिन्दुबाट टाढा रहेको स्थानमा पनि साना भूकम्पका कम्पन बढ्न गई ठूलो क्षति हुन सक्छ । गोरखा भूकम्पले काठमाडौँमा सबैले अनुमान गरे वा पहिलेका अध्ययनले देखाएभन्दा कम क्षति हुनु वा कम कम्पन हुनले सबै वैज्ञानिक जगत्लाई पनि आश्चर्यमा पारेको छ । यसका कारण थाहा पाउन अत्यन्त जरुरी छ । कुन स्थानमा कति कम्पन गरायो भन्ने मापन गर्ने यन्त्र एक्सेलेरोमिटर यन्त्रको कमीले गर्दा गोरखा भूकम्पले काठमाडौँ उपत्यकाका केही स्थान र ककनीबाहेक अन्य स्थानमा गोरखा भूकम्प तथा यसका पराकम्पले कति कम्पन गरायो भन्ने तथ्याङ्कको कमी भयो । यो तथ्याङ्क भविष्यमा ठूलो भूकम्प जाँदा कुन ठाउँमा कस्तो असर गर्छ भनेर अध्ययन अनुसन्धान गर्न अत्यन्त आवश्यक हुन्छ । काठमाडौँ लैनचौरस्थित खानी तथा भू–गर्भ विभागमा रहेकोअनुसार उक्त स्थानमा रेकर्ड भएको तथ्याङ्कअनुसार गोरखा भूकम्पले अनुमानितभन्दा चार गुणा कम कम्पन गराएको थियो, जसको कारणले गर्दा त्यति ठूलो भूकम्पमा पनि काठमाडाँैमा कम क्षति भएको हो ।
यसैगरी, गोरखा पश्चिममा ५०० वर्षभन्दा अघिदेखि ठूलो भूकम्प नगएको र भूकम्प जानका लागि शक्ति सञ्चित भइरहेको अवस्थामा गोरखा भूकम्पको रप्चर पश्चिमतर्फ नजानु पनि अर्को रहस्यको विषय बनेको छ । किनकि हालसम्मको जिपियस, इनसार आदि डाटाको अध्ययनबाट हिमालयमा भूकम्पको रप्चर रोक्ने कुनै भौगर्भिक संरचना देखिँदैनन् ।

भूकम्पको बेला जमिनको चाल

हिमालयमा जाने ठूला भूकम्पलाई अविछिन्न रूपमा सञ्चालित जिपियसको माध्यमबाट मापन गरिएको पहिलो भूकम्प नै गोरखा भूकम्प हो । नेपालका हिमालयमा गोरखा भूकम्प जानुपूर्व नै खानी तथा भू–गर्भ विभागले भूकम्प पहिला नै जमिन कता सरेको छ भन्ने थाहा पाउन २९ वटा जिपियस स्टेसन स्थापना गरेको थियो । यसबाट प्राप्त तथ्याङ्कबाट हामीले इन्डियन प्लेटले नेपाललाई करिब वर्षमा दुई सेन्टिमिटरको दरले उत्तर–पूर्वतर्फ धकेलिरहेको भन्ने कुरा सार्वजनिक भएको थियो । यसैगरी, यसपटक जिपियसबाटै प्राप्त तथ्याङ्कले भूकम्प जाँदा यस क्षेत्रका जमिन कुन दिशामा कसरी कता–कता स¥यो र स्थिर हुन पुगे भन्ने जानकारी प्राप्त भयो । हिमालयमै पहिलोपटक यससम्बन्धी नयाँ तथ्य बाहिर आए । जसअनुसार रसुवा जिल्लाको सदरमुकाम धुन्चेबाट उत्तरतिरको भू–भाग पहिलाको स्थानभन्दा तल धस्सियो, पश्चिम र दक्षिणतर्फ स¥यो । रसुवाको चिलिमेमा रहेको जिपियस स्टेसनको तथ्याङ्कअनुसार उक्त स्थान करिब ७० सेन्टिमिटर तल धस्सियो, ६० सेन्टिमिटरजति पश्चिम स¥यो भने एक मिटर ५० सेन्टिमिटरजति दक्षिणतर्फ स¥यो । यसैगरी, धुन्चे दक्षिणको भाग माथि उठ्यो, पश्चिम र दक्षिणतर्फ स¥यो । काठमाडौँ उत्तर नुवाकोट जिल्लाको ककनीमा रहेको जिपियस स्टेसनको तथ्याङ्कअनुसार उक्त स्थान पहिलाको स्थानबाट करिब एक मिटर ६० सेन्टिमिटर माथि उठ्यो, ४० सेन्टिमिटर जति पश्चिम स¥यो भने एक मिटर ८० सेन्टिमिटर जति दक्षिणतर्फ स¥यो ।

अर्को भूकम्प कहिले
यसैगरी, हालसम्मको अध्ययनले इन्डियन प्लेटले उत्तरतर्फ धकेल्दा हिमालयको चुरेदेखि उत्तरतर्फ करिब १०० किलोमिटर उत्तरको उच्च हिमालयसम्म भूकम्पीय शक्ति जम्मा हुने र त्यस्तो सञ्चित शक्ति महाभूकम्प जाँदा क्षीण भई भूकम्पका धाँजा चुरे र तराईको क्षेत्रमा सतहसम्म आउने कुरा देखाएको छ । एक अध्ययनले १९९० को भूकम्पको धाँजा पूर्वी नेपालको चुरेको सतहसम्म आएको देखाएको छ । गोरखा भूकम्पका कारण उत्तरबाट करिब ५० किलोमिटर दक्षिण काठमाडौँसम्मको शक्ति क्षीण भएको वा सकिएको वा रिलिज भएको तर काठमाडौँ दक्षिणदेखि तराईसम्मको भागमा सञ्चित रहेको शक्ति बाँकी नै रहेको र उक्त शक्ति कसरी र कहिले निःसृत हुन्छ भन्ने कुरा थप अध्ययनको विषय बनेको छ । यससम्बन्धमा विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा पछिल्लो समयमा लेख प्रकाशित भएका छन् । यसरी बाँकी रहेको शक्ति यस क्षेत्रमा साना–साना परकम्प आएर र वा बिस्तारै चिप्लिएर सतहसम्म निःसृत हुन पनि सक्छ अर्थात् मझौला म्याग्नेच्युडको भूकम्पले एकैपटक सतहसम्म ल्याउन पनि सक्छ भने अर्को अन्य क्षेत्रमा आएको भूकम्पसँगै बाँकी शक्ति निःसृत हुन पनि सक्छ । तर, यी सबै अनुमानबीच हालसम्मको तथ्याङ्कअनुसार ठूला भूकम्पका केन्द्रबिन्दु उच्च हिमालय (करिब ३५०० मिटर उचाइ) मुनि रहेको तथ्य हामीसामु नै छ । यसरी भविष्यमा कहिले कत्रो भूकम्प कहाँ केन्द्रबिन्दु बनाएर जान्छ भन्ने कुरा हालसम्मका अध्ययन अनुसन्धानबाट भन्न सकिने अवस्था छैन । त्यसैले पुनः एकपटक भूकम्पका भविष्यवाणी जसले गरेको भए पनि विश्वास नगरी, त्यस्ता कुराबाट नआत्तिई भूकम्पसम्बन्धी आफूले जाने बुझेका कुरा सबैमा सम्प्रेषण गर्नु नै उपयुक्त हुन्छ ।
अन्त्यमा गोरखा भूकम्पसम्बन्धी गत वर्ष वैशाख १२ देखि हालसम्मका गोरखा भूकम्पका तथ्याङ्कको अध्ययन अनुसन्धान तथा विश्लेषणबाट प्राप्त नतिजालाई एकैठाउँमा प्रस्तुति तथा छलफल गर्ने उद्देश्यले यही आउँदो वैशाख १२ र १३ गते खानी तथा भू–गर्भ विभागले काठमाडौँमा एक अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गर्दै छ । यस्ता किसिमका कार्यक्रमबाट यस विधामा काम गर्ने भूवैज्ञानिकको ज्ञान र सीपमा वृद्धि भई भूकम्पीय जोखिम न्यूनीकरणमा थप टेवा पुग्ने देखिन्छ ।

 nepalnewslive

news and entertainment