गिरिजाको योजनामा ‘हाइज्याक’ गरिएको विमान संग्रहालयमा राखिने
गिरिजाप्रसाद कोइरालाको योजनामा अपहरण गरिएको जहाज
१९ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको योजनामा अपहरण गरिएको जहाज काठमाडौंमा संग्रहालयमा राखिने भएको छ ।
सुन्दरीजलस्थित वीपी संग्रहालयले पञ्चायत शासनविरुद्धको लडाइँका क्रममा ‘हाइज्याक’ भएको विमान प्रदर्शनीमा राख्ने तयारी गरेको हो ।
दुर्घटनाग्रस्त विमानको क्षत विक्षत भाग अहिले नेपालगञ्जमा सुरक्षित रहेको वीपी संग्रहालयका संरक्षक परशुराम पोखरेलले जानकारी दिए ।
बिराटनगरबाट काठमाडौंमा आउने क्रममा अपहरणमा परेको विमानमा तत्कालीन सरकारको ३० लाख भारतीय रुपैयाँ थियो । वीपी कोइरालाको सहमति एवं गिरिजाप्रसाद कोइरालाको योजनामा विमान अपहरण भएको थियो । अपहरणमा कांग्रेस नेता सुशील कोइराला, दूर्गा सुवेदी लगायतको सहभागिता थियो, जो पछि पक्राउ परेका थिए ।
विमानलाई अपहरण गरेर भारतको फार्बेसगञ्ज पुर्याइएको थियो । पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाले विमान अपहरणको सबै डिजाइन तयार गरेका थिए ।
‘त्यतिबेला नेपाली कांग्रेस पञ्चायत विरुद्ध सशस्त्र लडाइँमा होमिएको थियो । कांग्रेसका मुक्ति सेना व्यवस्थापन गर्न र हतियार किन्न रकम अत्यावश्यक भएकाले बिमान अपहरण गरिएको थियो’ पोखरेल भन्छन्- ‘प्रजातन्त्रका लागि कसरी संघर्ष गरिएछ भन्ने भावी पुस्तालाई बुझाउन त्यो विमान संग्राहलयमा राख्न लागिएको हो ।’
विमानको क्षत-विक्षत भागलाई काठमाडौं ल्याएर विमानकै स्वरुप दिएर प्रदर्शनमा राखिने संग्रहालयको योजना छ । संग्रहालयमा विमानसँगै विमान अपहरणबारे लिखित जानकारीहरु पनि राखिने संरक्षक पोखरेलले बताए ।
विमानका भागहरु काठमाडौं ल्याएर जोड्नका लागि लाग्ने खर्चका लागि पुरातत्व विभागलगायत निकायसँग छलफल भइरहेको संग्रहालयले जनाएको छ ।
-onlinekhabar