ढिँडो खाने केटोलाई ब्रेड खाने केटी कहाँ मन पर्छ र ?
चैत्र १९, २०७२-
उनले जम्माजम्मी ८ कक्षा उत्तीर्ण गरेका छन् तर उनको व्यवसायमा पढालेखाहरू जागिर खान्छन् । उनले संस्कृत पढेका छैनन् तर उनी रुसमा पण्डितका नामले चर्चित छन्। २०३० सालमा धादिङको खनियाबासमा जन्मिएका ऋषि अर्थात् पण्डितजीका बुवा स्थानीय विद्यालयमा शिक्षक थिए । बुवाले पढ्न कर गरेपछि उनी घर छाडेर हिँडेका थिए । ५ वर्ष भारतमा हन्डर–ठक्कर खाएपछि अचानक उनको भाग्य खुल्यो । एउटा सिख व्यवसायीले उनलाई घरेलु काममा सघाउन रुस लगेपछि उनका दिन फिरे । सन् १९९७ तिर उनले रसियामा सानोतिनो व्यापार सुरु गरे । ऋषि रूसमा विपद्मा परेका नेपालीहरूको उद्धार गर्ने तथा रोजगार दिने व्यक्तिका रूपमा प्रसिद्ध छन् भने नेपालमा उनी डेरी एवं पर्यटन उद्यमी हुन् ।
मान्छे भाग्यले बन्दो रहेछ कि मेहनतले ?
नेपालबाट भारत जाने तपाईंजस्ता युवा लाखौं हुन्छन्, तपाईंले नै रुस जाने मौका कसरी पाउनुभयो ?
मानिसभित्र अलिकति सत्व भाव पनि हुनुपर्दो रहेछ । म सानैदेखि आध्यात्मिक प्रवृत्तिको थिएँ । भारतमा शान्ति शर्मा नामकी एक जना नेपाली माता ‘हात हेर्न’ प्रसिद्ध हुनुुहुन्छ । उहाँको सहयोगी भएर लामो समय काम गर्ने मौका पाएँ । उहाँको आश्रममा भारतका चर्चित सेलिब्रेटी तथा राजनीतिक व्यक्तिहरू आफ्नो भाग्य हेराउन आउँथे । त्यस्तो स्थानमा काम गरेका कारण मलाई एकजना सिख व्यापारीले पत्याए र रुस पुर्याए । हुन त मजस्ता धेरै मानिस विदेश पुगेका छन् । कसैले मेहनत गरे, कोही मोजमज्जामा रमाए, जसले मेहनत गरे, उनीहरू माथि पुगे । जो रमझममा लागे, उनीहरूको बिजोग छ ।
तपाईं त अरूको घरमा काम गर्न गएको मान्छे, व्यापार गर्नुपर्छ भन्ने सोच कसरी आयो ?
जहाँ सिख व्यापारीको कार्यालय थियो, त्यहाँ दिउँसो मैले उनीहरूलाई खाना पुर्याउन जानुपथ्र्याे । उनीहरूका लागि म रुसी रोटी ‘लाभास’ लिएर जान्थेँ । त्यो रोटी मस्कोको एउटा पसलमा मात्र पाइन्थ्यो । मेरा साहुजीको अफिस ठूलो डिपार्टमेन्टल स्टोरभित्र थियो । त्यहाँ व्यापार गर्ने अरूले पनि मलाई खानेकुरा ल्याउन अर्हाउन थाले । यसरी मैले जागिर खाँदै अरूलाई पनि खाना पुर्याउन थालेँ । जहाँबाट म रोटी अर्डर गर्थें, त्यसको कमिसन लिन्थेँ अनि जसलाई खाना दिन्थेँ, उनीहरूबाट सर्भिस चार्ज पाउँथे । यसो गर्दा मैले दिनको १५ डलर बचाउन थालेँ । यो निकै कठिन काम थियो । ४० जनाको खाना उचालेर म दिनको १० किलोमिटर हिँड्थें । यसरी काम गर्दा मैले एक महिनामा २ हजार २ सय डलर बचाएछु । त्यसपछि त व्यापार अपार छ भन्ने लागिहाल्यो ।
ठूलो व्यवसायी बन्न सकिन्छ भन्ने विश्वासचाहिँ कहिले पलायो ?
त्यति बेला रूसमा मोबाइल सेवा भर्खरै खुलेको थियो । ल्यान्डलाइन सेवा र मोबाइल टेलिकम सेवामा एकै खालको रिचार्ज कार्ड लागू भएको थियो । सिख व्यापारीसँग काम गर्दा मैले धेरै भारतीय चिन्न थालेको थिएँ । मैले तिनै ग्राहकलाई लक्षित गरेर रिचार्ज कार्ड बेच्न थालेँ । म घर–घर पुगेर, पसल–पसल गएर रिचार्ज कार्ड बेच्थें । जब ग्राहक बढ्न थाले, उनीहरूलाई लक्षित गरेर भिसाको सुविधा दिने, भारत वा नेपाल जानेलाई टिकेटिङ गरिदिने काम सुरु गरेँ । मेरो कामले यति विश्वास जित्यो कि पछि मैले मान्छे राख्नुपर्ने अवस्था आयो । त्यति बेला म महिनाको २८ हजार डलरसम्म कमाउँथे । यही बेला ठगिएर रूस पुगेका नेपालीहरूलाई जागिर दिन थालेँ । कतिलाई नेपालबाट बोलाएँ । भारतीयहरूलाई पूजा–पाठ गराउने मान्छे चाहिएका कारण आफैंले पूजापाठ गरिदिएँ । आफूलाई पूजा–पाठ नआउने भएकाले नेपालबाट पण्डितहरू बोलाएर पूजा–पाठ गराउने संस्था पनि खोलेँ ।
तपाईं रुसका भारतीयहरूबीच लोकप्रिय हुनुको कारण चाहिँ के होला ?
मस्कोमा १५ हजार भारतीय छन् । नेपालीहरू त्यस्तै ५ सयजति होलान् । भारतीयहरूलाई आवश्यक पर्ने सम्पूर्ण सेवा हाम्रो कम्पनीले दिन्थ्यो । उनीहरूलाई पण्डित चाहिन्छ कि, कामदार चाहिन्छ कि, कुनै अप्ठ्यारो पर्छ कि सबै हामीले नै हेरिदिन्थ्यौं । नेपालबाट दलालले अमेरिका लान्छु भनेर रूसमा लगेर छाडेका नेपालीहरूलाई मैले उनीहरूको घरमा काम लगाइदिएका कारण पनि विश्वासको सम्बन्ध बढेको हो । मैले करिब २ सय त्यस्ता नेपालीलाई रोजगारीमा लगाएको थिएँ । रिचार्ड कार्डदेखि टिकेटिङसम्मका सेवा गरेका कारण पनि सम्बन्ध बलियो भएको हुनुपर्छ । नेपाली दूतावासले पनि कोही समस्यामा पर्यो भने मेरो फोन नम्बर दिने गरेको थियो । यो मान्छे मेहनती र सहयोगी छ भनेर पनि सम्बन्ध बलियो भएको होला ।
तपाईंले चाहनुभएको भए भारतीय वा रुसी केटीसँग विवाह गर्न सक्नुहुन्थ्यो, नेपाली गर्नुभएछ, किन ?
म ढिँडो खाएर हुर्किएको मान्छेलाई रोटी वा ब्रेड खाने केटी कहाँ मन पर्छ र ? मैले त विवाह गर्दा पनि गाउँकी केटी विवाह गरेको हुँ । आज पैसा कमाएँ भन्दैमा आफ्नो हैसियत पनि त विचार गर्नुपर्छ नि, होइन र ? अहिले मेरा १ छोरा र २ छोरी नेपालमै पढिरहेका छन् । विदेशी केटी विवाह गरेको भए यसरी नेपालमै राख्न पाइन्थ्यो–पाइँदैनथ्यो ? खानपिन र भाषाका कारण पनि आफ्नै देशमा विवाह गर्नुपर्छ ।
नेपालमा उद्योग खोल्नुभएको रहेछ, अहिलेसम्म कति लगानी गरिसक्नुभयो ?
बालाजु औद्योगिक क्षेत्रभित्र सुलभ मिल्क उद्योग रहेछ । त्यसमा धेरै जनाको लगानी भएका कारण समस्या परेछ । त्यसमा अहिलेसम्म ५ करोड रुपैयाँ लगानी गरेको छु । चितवनको सौराहामा होटल हर्मिटेज पनि घाटामै चलिरहेको रहेछ । त्यो रिसोर्ट नेपालको पहिलो आर्टिटेक्ट गंगाधर भट्टले डिजाइन गर्नुभएको हो । त्यसको डिजाइन नै अनौठो छ । मैले त्यो रिसोर्ट २२ करोड रुपैयाँमा किनेको थिएँ, अहिले पनि त्यसमा लगानी थपिरहेको छु । मलाई भोलि नाफा दिन सक्ने समस्यामा परेका उद्योगमा लगानी गर्न मन लाग्छ । खै किन हो, मैले हातमा लिएपछि त्यो माथि जान्छ भन्ने विश्वास छ । मेरो भाग्य नै त्यस्तै छ ।
तपाईंले रुसमा दु:ख गरेर पैसा कमाउनुभयो । सबैले त्यसरी पैसा कमाउन सक्दैनन् नि ?
नेपाली युवाहरू अल्छी गर्छन् । विदेशमा मेहनत गर्नेहरू र राम्रो लाइनमा लागेकाहरूले प्रशस्त पैसा कमाएका छन् । अझ रुसको कुरा गर्नुहुन्छ भने रूसमा त्यहाँका नागरिकजत्तिकै इज्जत कसैको छ भने त्यो नेपालीहरूको छ । विदेशमा कसैले पनि अर्काको काम भन्दैनन्, जसको अफिसमा काम गरे पनि आफ्नै काम गरेको मान्छन् । नेपालमा भने अर्काको काम भनेर घडी हेरेर दिन बिताउने, कामभन्दा बढी अधिकार खोज्ने चलन रहेछ ।
तपाईंले खोलेका उद्योगमा पनि त्यस्तो पाउनुभयो ?
डेरी उद्योग खोलेर म रुस गएको थिएँ । ५ महिनामा फर्केर आउँदा ५० लाखभन्दा बढी घाटा भैसकेको रहेछ । महिनाको ७–८ लाख घाटा भएको देखिएपछि रुसमा बसिरहेको भाइलाई बोलाएर डेरी जिम्मा लगाए । उसले सम्हालेको ६ महिनामा कम्पनीले महिनाको २–३ लाख नाफा दिन थाल्यो । अब भन्नुहोस्, हाम्रो मनस्थिति कस्तो छ ? अनि कसरी हुन्छ देशको प्रगति ?
अहिलेका युवाहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?
तपाईं सुखी भएर बाँच्न चाहनुहुन्छ भने जागिर खानुहोस् । थोरै तलबमा पनि गुजारा चलाउन सिक्नुहोस् । यसले जीवनमा शान्ति दिन्छ । होइन, पैसा कमाउन चाहनुहुन्छ भने व्यापार गर्नुहोस, रात–दिन खट्नुहोस् । मेहनतले तपाईंलाई पैसा दिन्छ । कस्तो जिन्दगी बाँच्ने त्यो आफ्नै हातमा छ । मेरो अर्को एउटा कुरा पनि छ । नेपालमा बसेर जीवन के हो, मेहनत के हो बुझ्न सकिँदैन । पैसा कमाउन कति गाह्रो छ भनेर बुझ्न पनि एकपटक विदेश गएर दु:ख गर्नैपर्छ ।
ekantipur