अब सडक पाँच मिनेट पनि बन्द हुँदैनः गृहमन्त्री


चितवनः गृहमन्त्री शक्तिबहादुर बस्नेतले कुनै पनि बहानामा कसैलाई पनि सडक बन्द गर्न नदिन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।


चितवन जिल्लाका कार्यालय प्रमुखलाई सोमबार निर्देशन दिँदै बस्नेतले भने, ‘अब सडक पाँच मिनेट पनि बन्द गर्न पाइँदैन ।’ बस्नेतले निर्देशन अनुसार काम गर्न स्थानीय प्रशासनलाई सचेत गराए ।

सडक बन्द हुँदा हुने नोक्सानी निकै ठूलो भएको र त्यस्तो नोक्सान पुर्‍याउने अधिकार कसैसँग नरहेको उनको भनाइ थियो ।

मन्त्री बस्नेतले सबै राजनीतिक मुद्दासमेत वार्ता र छलफलमार्फत समाधान हुने हुँदा अब सडक अवरुद्ध गर्नुपर्ने अवस्था नरहेको बताए ।

जिल्लाको शान्ति सुरक्षा र अमनचैनमा कति पनि विचलित नभई काम गर्न निर्देशन दिँदै उनले देशमा संविधान बनिसकेकाले संविधान कार्यान्वयनका लागि सहयोग पु¥याउन आग्रह गरे ।

संविधान जारी भएपछि आउने पहिलो बजेटलाई सदुपयोग गरेर संविधान कार्यान्वयनमा सहयोग पुर्‍याउन पनि आग्रह गरे ।

कार्यालय जनमुखी र उत्तरदायी हुनुपर्ने भन्दै उनले कर्मचारीकै कारण अब जनताले दुःख पाउन नहुने बताए । उनले जिल्ला प्रशासन कार्यालयबाट गरिएको अनुगमनका क्रममा भेटिएका कमी कमजोरीलाई तत्काल सच्याइनुपर्ने बताए ।

विचौलियाको प्रभावमा नपरी जनताको कामलाई उच्च प्रथामिकतामा राख्न पनि उनले कर्मचारीलाई निर्देशन दिए । रासस
annapurnapost

, ,

news and entertainment