भारतसँग नझुकेका प्रधानमन्त्री गोपाल खड्कासँग झुक्ने कुरै आउँदैन

एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको कार्यकारी प्रधानमन्त्री छन् । भारतीय नाकाबन्दी खुलेको दुई महिना हुन लाग्दासमेत इन्धनको सहज आपूर्ति हुन सकेको छैन । पेट्रोल पम्पहरुमा सवारी साधनको लामो लाइन देखिन्छ । ग्यासको अभावमा उपभोक्ताको चुल्हो बलेको छैन । कालोबजारीका कारण उपभोक्ताले सहजै इन्धन नपाएको भन्दै सबैले आयल निगमतिर औंला ठड्याइरहेका छन् । सरकार नेतृत्वकर्ता दल एमालेनिकट अनेरास्ववियु नै बालोबजारीविरुद्ध सडक आन्दोलनमा उत्रिएको छ । सरकार नेतृत्वकर्ता दलकै विद्यार्थी संगठन सडक संघर्षमा उत्रनुको कारण, त्यसको दिशा र परिणामबारे काठमाण्डु टुडेले अनेरास्ववियुकी अध्यक्ष नवीना लामासँग कुराकानी गरेको छ । प्रस्तुत छ, लामासँगको कुराकानीको सम्पादित अंशः–
आफ्नै पार्टी नेतृत्वको सरकारविरुद्ध सडक संघर्षमा उत्रनु भयो नि किन ?

आफ्नै सरकारविरुद्ध सडकमा आएको होइन । कालोबजारी गरेर जनता ठग्ने माफियाविरुद्धको आन्दोलन हो । हामीलाई ज्ञापनपत्रमार्फत प्रधानमन्त्रीलाई पनि कालोबजारिया र तस्करी नियन्त्रण गर्न ध्यानाकर्षण गराएका छौं । आयल निगमको केन्द्रीय कार्यालय अगाडि विरोधसभा गरियो । अख्तियारमा मुद्धा दायर गरेका छौं । काठमाण्डुका १० वटै निर्वाचन क्षेत्रमा कालोबजारीविरुद्ध जनचेतनामुलक अभियान चलायौं । सडक बहस चलायौं, संयुक्त विद्यार्थी आन्दोलन सुरु गरेका छौं । एमाले सरकारमा हुँदा होस् वा नहुँदा होस् हामी जनताको पक्षमा सडकबाट दबाब सिर्जना गर्छौं ।
कालोबजारियाहरु सिंहदरबारभित्रै छन् भनेर सार्वजनिक रुपमै भाषण गर्नुभयो, को हुन् तिनीहरु ?
सिंहदरबार मुलुकको मुख्य प्रशासनिक क्षेत्र हो । मन्त्रालयहरु सिंहदरबारभित्रै छन् । कालोबजारियालाई नियन्त्रण गर्न सिंहदरबारको ठूलो भूमिका रहन्छ ।
कालोबजारियाको संरक्षण गर्ने वा कारबाही गर्न सक्ने निकाय प्रधानमन्त्री कार्यालय होइन, सम्बन्धित विभागीय मन्त्रालय हो भन्न खोज्नुभएको ?
होइन । हामीले कसैलाई तोकेर फलानो कालोबजारिया हो, फलानाले संरक्षण गरिरहेको छ भनेर आन्दोलन सुरु गरेका होइनौं । हामीले त कालोबजारियामाथि कारबाही होस् र जनताले सर्वसुलभ रुपमा इन्धन लगायत बस्तु उपभोग गर्न पाउन् भन्ने उद्देश्यले सरकारलाई दबाब दिन खोजेको हो । यो कुनै व्यक्ति वा संस्थाविरुद्धको आन्दोलन होइन । मुलुकमा जुन प्रकारले कालोबजारी भइरहेको छ । कालोबजारियाका कारण जनताको चुल्हो बल्न सकेको छैन । ग्यास छैन, पेट्रोल छैन । ती चिज छिटो र सहज उपलब्ध हुनुप¥यो । हामीले भनेको यत्ति हो ।

कालोबजारी भएको कुरामा त शंका छैन होइन ?
कालोबजारी भएको कुरामा शंका भएको भए हामी खिन अख्तियार जानुपथ्र्यो ? किन प्रधानमन्त्रीलाई ज्ञापन दिनुपथ्र्यो ? किन सडकमा बहस गर्नुपथ्र्यो ? कालोबजारी भएकामा मात्र होइन, आयल निगमको संस्थागत संलग्नतामा कालोबजारी भएकामा शंका छैन । यो कुनै बहसको विषय नै हुन सक्दैन ।
तपाईं संस्थागत रुपमा कसैको विरोधमा छैन भन्नुहुन्छ, तर सरकारका मानिसहरुको संस्थागत संलग्नताबिना कालोबजारी सम्भव छ र ?
आयल निगमको चाहिं हामी संस्थागत विरोधमा छौं । किनकी इन्धन ढुवानीको एक मात्र संस्था आयल निगम हो । जहाँ सरकारले घाटा खाएर लगानी गरिरहेको छ । उसको जिम्मेवारी हो जनतालाई इन्धन उपलब्ध गराउने । तर, आयल निगम आफ्नो जिम्मेवारीप्रति जिम्मेवार देखिएन । आयल निगममा मानिसहरु संस्थागत रुपमै भ्रष्टाचार र कालोबजारीमा संलग्न छन् । यसको छानबिन हुनुपर्छ र दोषीमाथि कारबाही हुनुपर्छ ।
सरकारको सबै संयन्त्रको मिलेमतोबिना आयल निगमका केही कर्मचारीले मात्र कालोबजारी र तस्करी गर्न सक्लान् भन्ने लाग्छ तपाईंलाई ?
नेपालमा ७० वर्षका दौरान पटकपटकको संघर्षपछि जनताका प्रतिनिधिले संविधान लेखे । नेपालमा संविधान आएको हाम्रो छिमेकी भारतलाई मन परेन । हामीले संविधान ल्याएको झोकमा भारतले नेपालमाथि नाकाबन्दी लगायो । नाकाबन्दीपछि देशमा कालोबजारी बढेको हो । केही माफियाहरुले नाकाबन्दीलाई कमाउने अवसरका रुपमा सदुपयोग गरे ।
तपाईंको पार्टी अध्यक्ष नै मुलुकको कार्यकारी प्रधानमन्त्री हुनुहुन्छ, कालोबजारियालाई ठीक पार्न त सडकको मोर्चाभन्दा सिंहदरबारकै मोर्चा बढी प्रभावकारी हुनसक्थ्यो होइन र ?
सडक प्रधानमन्त्रीको होइन, अखिलको हो । सडक युवाहरुका लागि हो । हामीले हिजोको जस्तो सडकमा रेलिङ भाँच्ने, टायर बाल्ने काम गरेका छैनौं । हामी चाहन्छौं कि अबका दिनमा पनि हामीले त्यसो गर्न नपरोस् । नेपालमा गणतन्त्र आइसकेको छ । गणतन्त्रजस्तो उदार व्यवस्थामा पनि जनताले राज्यबाट पाउनुपर्ने सामान्यभन्दा सामान्य सुविधा नपाएपछि हामीले ध्यानाकर्षण मात्र गरेका हौं । सरकार, दलहरु, कर्मचारी सबैले मुलुकका लागि सोच्नुपर्छ ।
तपाईंं व्यक्तिगत रुपमा पनि प्रधानमन्त्रीले रुचाइएको मान्छे भनिन्छ, चाहँदाखेरि जतिबेला पनि प्रधानमन्त्री भेट्न सक्नुहुन्छ । सडकमा आएर दुःख गर्नुभन्दा उहाँलाई कालोबजारियाबारे सूचना दिएर कारबाही गराए हुन्थेन र ?
हामीले समस्या समाधानका लागि ध्यानाकर्षण गराइसकेका छौं । लिखित रुपमा ज्ञापनपत्र नै बुझाएका छौं । आयल निगमले पटकपटक कालोसूचीमा दर्ज भएको विराट आयलसँग महंगोमा तेल बेच्न पाउने गरी सम्झौता गरेको थियो । तै पनि उसले तेल वितरण गर्न सकेन । ग्यासको समस्या उस्तै छ । यसको कारण के हो भनेर हामीले ध्यानाकर्षण गरायौं । आयल निगमभित्रको संस्थागत भ्रष्टाचार रोक्न भन्यौं । उहाँले भन्नुभयो कि भ्रष्टाचारी र कालोबजारीलाई जरैदेखि उखेल्नुपर्छ ।

त्यसका लागि व्यक्तिगत रुपमा आफू र सरकार अग्रसर रहेको साथै कालोबजारी नियन्त्रणका लागि युवा विद्यार्थी र जनताको पनि सहयोग चाहिन्छ भन्नुभयो ।
भनेपछि प्रधानमन्त्रीको सहयोका लागि सडकमा उत्रनुभएको ?
सहयोग वा असहयोगका लागि होइन । तर, कहिले काहीं सकारात्मक दबाबले अप्रत्यक्ष रुपमा सरकार र त्यसको नेतृत्वलाई काम गर्न सजिलो पर्छ । जस्तै हाम्रो आन्दोलनका केहप् माग प्रधानमन्त्रीले सम्बोधन गर्नुभयो । विराटसँगको सम्झौता प्रधानमन्त्रीकै अग्रसरतामा तोडिएको हो । जुन सम्झौता जनताको हितमा थिएन ।
प्रधानमन्त्री भारतसँग पनि झुक्नुभएन भनेको सुनिन्छ, दुनियाँको आँखाले देख्ने गरी बालोबजारी गर्ने गोपालबहादुर खड्कासँग किन थर्कमान हुनुभएको होला ?
हाम्रो प्रधानमन्त्री कालोबजारी, माफिया र भ्रष्टाचारीको विरुद्धमा हुनुहुन्छ । जनता र राष्ट्रियताको पक्षमा उभिन सक्ने नेता हुनुहुन्छ । उहाँको अहिलेसम्मको व्यवहारले त्यो देखाइसकेको छ ।
कालोबजारी आयल निमगका मान्छेहरुबाट मात्र भइहरको छ, यसमा सरकारको, सरकारमा सहभागी पार्टी वा त्यसका नेताहरुको संलग्नता छैन ?
हामी त्यसको पनि अध्ययन गरिरहेका छौं । कसकसको संलग्नता छ भन्नेबारे गोप्य स्रोतहरुबाट सूचना संकलन गरिरहेका छौं । कहाँकहाँ कालोबजारी भइरहेको छ, को–को संलग्न छन्, खोजी भइरहेको छ । हामी यो अभियानलाई अनेरास्ववियुको मात्र होइन । सरोकारवाला सबैको अभियान बनाउन चाहन्छौं ।
आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कालोबजारीको नाइके घोषणा गर्नुएको थियो होइन ?
हो । आयल निगमको मुख्य मान्छे उनै हुन् । उनको जिम्मेवारी नै इन्धन आपूर्ति गर्ने र जनतालाई उपलब्ध गराउने हो । तर, उनले पेट्रोल र खाना पकाउने ग्यास प्रभावकारी रुपमा वितरण गर्न सकेनन, गरेनन् । आएको तेल र ग्यास कालोबजारीयाको हातमा गयो । त्यसको अपजसको भागेदार गोपाल खड्का हुनैपर्छ ।

तपाईंकै नेतृत्वमा अखिलले आयल निगमका उच्च कर्मचारीविरुद्ध अख्तियारमा मुद्धा दायर गरेको सुन्नमा आएको थियो । तर, तपाईंहरुबाटै गोपालबहादुर खड्कालाई पुरस्कृत गर्ने काम भयो भन्ने पनि सुनियो नि ?
कुरा नबुझ्नेहरुले त्यसो भनेका होलान् । अनेरास्ववियुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझायो, आयल निगम घेराउ गरेर कर्मचारीलाई प्रवेश निषेध, काठमाण्डुको १० वटै निर्वाचन क्षेत्रमा जागरण अभियान, अख्तियारमा मुद्धा दायर गरिसकेपछि पनि कालोकजारीको अवस्थामा सुधार आएन । अखिल सडकमा उत्रिन बाध्य भयो । सडकमा आउने कामको सुरुआत हाीले खुला बहसमार्फत गरेका हौं । बहसमा हामीले सबै सरोकारवाला निकायका प्रतिनिधिलाई आमन्त्रण गरेका थियौं । नागरिक समाज, पत्रकार महासंघ, सुरक्षा निकाय, आपूर्ति मन्त्रालय, आयल निगम, विभिन्न पार्टीनिकट जनसंगठनका प्रतिनिधिलाई बोलायौं । हामीले कसैलाई पनि नाम तोकेर होइन, प्रतिनिधि बोलाएका थियौं । आयल निगमबाट गोपाल खड्का आउनुभयो । हामीले उहाँ त्यसरी सार्वजनिक सुनुवाइमा आउनुहोला भन्ने सोचेका पनि थिएनौं । आयल निगम कालोबजारीको प्रमुख पक्ष हो । जनताको अदालत (सडक) मा निगममा मानिसहरुले सत्यतथ्य बोल्नुपथ्र्यो । हामीले गोपाल खड्कालाई त जनताको अदालतमा उभ्याएका हौं । अनि कसरी भयो सम्मान ?
आफैंले कालोबजारीको नाइके करार गरेका व्यक्तिलाई प्रमुख अतिथि नै बनाउन चाहिं हुन्थेन कि ?
यो सरासर झुठो आरोप हो । हामीले कसैलाई अतिथि र प्रमुख अतिथि बनाएका थिएनौं । आसन ग्रहण गराइएको पनि थिएन । सबैलाई वक्ताका हैसियतमा कार्यक्रममा बोलाइएको थियो । प्रमुख अतिथि नै बनाइयो भनेर कसैले हल्ला गरेको छ भने त्यो अखिल र मलाई बदनाम गर्ने उद्देश्यले गरिएको गलत प्रचारबाजी हो । जसले जे सुकै भनिराखोस्, बालोबजारी र भ्रष्टाचारविरद्धको हाम्रो आन्दोलन जारी छ । भोलिका दिनमा परिणामले नै त्यो कुरा सिद्ध गरेर देखाइदिन्छौं ।
गोपाल खड्कामाथि हामीले बालोबजारीको आरोपमा अख्तियारमा मुद्धा दायर गरेका छौं । कानुनी शासनमा आरोप लगाउने र फैसला गर्ने निकाय एउटै हुन सक्दैन । अख्तियारले छानबिन गर्दैछ । हामी चाहन्छौं कि गोपाल खड्का भ्रष्टाचारी हुन् भने उनले कुनै पनि हालतमा उन्मुक्ति पाउनुहुँदैन । जसले जनताको बेहितमा काम गर्छ, हामी त्यसको विपक्षमा छौं ।
तर, गोपाल खड्कालाई आफूमाथि लागेको आरोपबारे प्रष्टीकरण दिने फोरम उपलब्ध गराउनुभएको त सत्य हो नि ?
के हामी लोकतन्त्रका पक्षपाती होइनौं ? हामी गणतन्त्रका पक्षपाती होइनौं ? कसैमाथि कुनै आरोप लागेको छ भन्दैमा उसका कुरा सुन्न सक्दैनौं ? हाम्रो आन्दोलन गोपाल खड्कालाई सडकमा बोलाएर कालोमोसो दल्नका लागि होइन । उनलाई आयल निगमबाट थुतेर सडकमा ल्याएर लखेट्ने काम अखिलले गर्दैन । हामी सिर्जनात्मक आन्दोलनमा छौं । कानूनसम्मत ढंगले छानबिन होस् र दोषी प्रमाणित गरेर कारबाही होस् । हामी त यो चाहन्छौं । गोपाल खड्काविरुद्ध परेको कलोबजारीको उजुरीमाथि छानबिन भइरहेको छ ।
सरकार आफैंले करारमा नियुक्त गरेका आयल निगमका कार्यकारी निर्देशकले कालोबजारी र तस्करी गरिरहेका छन् भने भारतसँग समेत नझुेकका भनिएका हाम्रा प्रधानमन्त्री उनलाई हटाउन किन डराउनुभएको होला त ?
यदि कालोबजारी गरेको प्रमाणित हुन्छ भने हटाउनुपर्छ । अख्तियारमा मुद्धा विचाराधीन छ । छानबिनबाट बालोबजारी प्रमाणित भयो भने गोपाल खड्का मात्र होइन, निगमका उपकार्यकारी निर्देशक, अधिकृतहरु र विराट कम्पनीमा संलग्न मनिसहरुलाई समेत जेल हाल्नुपर्छ । भारतसँग नझुकी नाबान्दीको प्रतिवाद गरेका प्रधानमन्त्री आयल निगमका कर्मचारीसँग डराउने भन्ने त प्रश्नै उठ्दैन नि ?
kathmandutoday

,

news and entertainment