झुर हुँदैछ एडीएसएल इन्टरनेट
साना कार्यालय तथा घरेलु प्रयोगका लागि सबै भन्दा सस्तो र उत्तम इन्टरनेट कनेक्सनको एक मात्र विकल्प हो नेपाल टेलिकमको एडीएसएल (एसीम्याटि्रक डीजीटल सब्स्क्राइबर लाइन) इन्टरनेट। जुन न्यूनतम ६ सय ५० रुपैंयामा नै उपलब्ध छ। न्यूनतम भनेको नेपाल टेलिकमले चलाएको आधारमा पैसा लाग्ने (भोलुम बेस) प्याकेजमा दिएको एडीएसएल सुविधालाई लिँदा हो। थोरैले मात्र यसखालको सुविधा लिएका छन्। वास्तवमा कार्यालयमा धेरै समय बिताउने तर घरमा पनि इन्टरनेटको सुविधा चाहनेका लागि मात्र यो उपयुक्त एडीएसएल सेवा हो। यसको राम्रो पक्ष भनेको चाहिँ प्रयोगकर्ताले आफूले लिएको भोलुमको डाटा चाहेको गतिमा चलाउन सक्छ। भनेको यसखालको सुविधा लिएकाले एक एमबीपीएसको गति सम्म आफ्नो इन्टरनेट कनेक्सनलाई बढाउन र त्यो भन्दा तल घटाउन पनि सक्छन्।
एडीएसएल इन्टरनेट लिने धेरैले भने यसको सेवा जति चलाए पनि एउटै शुल्क लाग्ने (अनलिमिटेड) प्याकेजमा लिन्छन्। त्यसका लागि शूल्क पनि जम्मा एक हजार १७ रुपैंया लाग्छ कर सहित। नेपाल टेलिकमले सुरुमा १२८ केबीपीएस भनेर वितरण गरेको भएपनि हाल एडीएसएलको न्यूनतम गति भनेको १९२ केबीपीएस रहेको छ। यस हिसाबमा नेपाल टेलिकमले उपभोक्तालाई थप सुविधा दिएको छ। इन्टरनेटको गति बढाएर। शहरी जिवनको अभिन्न अंगका रुपमा लिइन्छ टेलिफोनलाई। मोबाइल त हातहातै भइसक्यो, ल्याण्डलाइनर तारको माध्यमबाट उपभोक्ताको घरसम्म पुग्ने भएकाले यसलाई तारभएको फोनका रुपमा पनि बुझ्छन् मानिसहरु। जमिनको माध्यम भएर आउने भएकाले यसखालको टेलिफोन सेवा प्रति मानिसहरुको विशेष खालको विश्वास रहेको हुन्छ। तामाको तार हुँदै घरसम्म आइपुग्ने यो फोन लिनेको संख्या मोबाइल लिनेको तुलनामा निक्कै कम छ। यसमा रहेको कल सुविधा मोबाइलको तुलनामा कमै मात्र सस्तो र सुलभ भएपछि यसको आफ्नै खालको महत्व र माग छ। विशेष गरेर यसखालको ल्याण्डलाइन फोन भएको कार्यालय वा मानिसलाई बढी विस्वासको नजरले हेरिन्छ। त्यसो त यो शानको पनि विषय हो। किनभने काठमाडौंमा आफ्नै घर वा व्यवसायिक कार्यालय नभएका कमैले मात्र ल्याण्डलाइन फोन लिने गर्दछन्। त्यही ल्याण्डलाइनमा नेपाल टेलिकमले तामाको तार मार्फत वितरण हुने इन्टरनेट सुविधा दिएको छ एडीएसएल। भइरहेको टेलिफोनको लाइनबाट नै चलाउन सकिने र इन्टरनेट चलाउँदा टेलिफोनको कल पनि खर्च नहुने अनि फोन चलाउनमा पनि कुनै फरक नपर्ने भएकाले ल्याण्डलाइन फोन भएका धेरैको रोजाइ टेलिकमको एडीएसएल इन्टरनेट भइरहेको छ। भरखरै विकास भएका बस्ती तथा काठमाडौंको रिङरोड बाहिर नीजि इन्टरनेट सेवा प्रदायकका सेवा कमै मात्र ठाउँमा पुगेका छन्। जसले गर्दा कतिपय क्षेत्रमा त नेपाल टेलिकमको यो एडीएसएल निर्बिकल्प पनि भइरहेको छ। त्यसो त एउटै लाइनबाट धेरै कम्प्युटरमा इन्टरनेट चलाउन सकिने भएकाले पनि यो घर तथा साना कार्यालयमा लोकप्रिय भएको हो। धेरै नीजि इन्टरनेट सेवा प्रदायकका यही शूल्कको इन्टरनेट सेवा भने एउटा कम्प्युटरका लागि मात्र उपलब्ध हुन्छ। अन्य सेवा प्रदायकका वायरलेस इन्टरनेट राम्रो भनिएपनि मूल्य निक्कै महँगो छ। त्यसैले निर्बिकल्प र सस्तो बनेको एडीएसएल इन्टरनेट सेवा भरपर्दो र गुणस्तरिय भने छैन। टेलिकमले मुलुकभर वितरण गरेको यो सेवा पछिल्लो समय गुणस्तरको हिसाबमा खत्तम मात्र नभएर झुर नै बनेको छ।
तपाइँको घरमा आधारभूत टेलिफोनका रुपमा लिइने ल्याण्डलाइन फोन छ र त्यसमा एडीएसएल इन्टरनेट लिनुभएको छ भने तपाइँले गुणस्तरमा सम्झौता र इन्टरनेट चलाउनमा हैरानी सहनु परेको अनुभव पक्कै छ। टेलिकमको यो इन्टरनेट सेवामा कनेक्सन नहुने बिचमा कनेक्सन टुट्ने साथै मर्मतका लागि कर्मचारीले निक्कै ढिलाइ गरिदिने समस्या छ। लोडसेडिङको समयमा त टेलिकमको मोबाइल मात्र होइन ल्याण्डलाइन टेलिफोन पनि कामै नलाग्ने हुन्छ। त्यस्तो अवस्थामा एडीएसएल इन्टरनेट चल्ने कुरै भएन। यतिखेर टेलिकमको एडीएसएल एकलाख दुर्इहजार पाँचसय २१ भन्दा बढि लाइन वितरण भइसकेको छ। यसको आधारमा पनि टेलिमको एडीएसएलको हैरानी बेहोर्नेको संख्या धेरै छ देशमा।