सीमा जोडिएका जिल्लाका १२ सभासद्लाई चीनले बोलायो

८ फागुन, काठमाडौं । आफ्नो मुलुकसँग सीमा जोडिएका जिल्लाका सहित १२ जना सभासद्लाई चीनले बेइजिङ भ्रमणमा लैजाने भएको छ। आगामी सोमबार चीन जानेमा सीमा जोडिएका सिन्धुपाल्चोक, दोलखा, मुस्ताङ र रसुवासहित जिल्लाका सभासद् छन्।



कांग्रेसका पाँच, एमालेका पाँच र एमाओवादीका दुई सभासद् चीन जान लागेका हुन्। भ्रमणमा जाने सभासद्मा कांग्रेसका विमलेन्द्र निधि, मोहनबहादुर बस्नेत, शारदा पौडेल, रोमी गौचन थकाली र रमेश लेखक, एमालेका भीम आचार्य, सीता गिरी, रञ्जु झा, जनार्दन ढकाल र आनन्द पोखरेल तथा एमाओवादीका अग्नि सापकोटा र टोपबहादुर रायमाझी छन्। सभासद् बस्नेत र सापकोटा सिन्धुपाल्चोकका, ढकाल रसुवाका, थकाली मुस्ताङका र पोखरेल दोलखाका सभासद् हुन्।

एमाले सभासद् आचार्यले आफूहरू साताव्यापी भ्रमणका लागि चीन जान लागेको बताए। उनका अनुसार बेइजिङ र संघाईका सभासद् र सरकारी अधिकारीसँग नेपाली सभासद्को भेटघाट र अनुभव आदानप्रदान कार्यक्रम रहेको अन्नपूर्ण पोस्टमा खबर छ ।

दोस्रो संविधानसभाका सभासद्लाई भ्रमणको निम्तो दिने चीन पहिलो मुलुक भएको छ। चिनियाँ दूतावासले संविधानसभा सचिवालयसँग भ्रमण कार्यतालिका मिलाएको हो। यसअघि दूतावासले आफ्नो मुलुकसँग सीमा जोडिएका क्षेत्रका सभासद्लाई ‘भोज’ दिएको थियो।

पछिल्लोपटक चीनले संविधानसभाप्रति निकै चासो देखाइरहेको छ। कांग्रेसका एक नेताले भने, ‘विघटित संविधानसभामा जुन प्रकारले राज्य पुनर्संरचनाको खाका आयो, त्यसबाट चीन झस्केको देखिन्छ। अब उसले आफ्नो चासो प्रस्ट अघि सार्न थालेको छ।’

, ,

news and entertainment