कसरि पत्तै नपाई ठगिन्छन् मोबाइल प्रयोगकर्ता

उदाहरणहरू नै बताउँछन्, टेलिकम सेवा प्रयोगकर्ताहरूले भोग्नुपरेको हैरानी । पत्तै नपाई मोबाइलबाट पैसा घट्दै गएको सर्वसाधारणको गुनासो अहिले दिनप्रतिदिन बढ्दै गएको खबर आजको अभियानमा छापिएको छ।

अवस्था कस्तो छ भने, सञ्चालनमा रहेका कुनै पनि टेलिकम सेवाप्रदायकको सेवाबारे पूर्ण सन्तुष्ट ग्राहक शायदै भेटिन्छ । तर, अधिकांश प्रयोगकर्ता आफ्नो मोबाइलको ब्यालेन्स घट्दै गएको कारणप्रति भने अनभिज्ञ छन् । ‘कुन प्रयोजनका लागि रकम काटियो त्यसको मलाई अहिलेसम्म जानकारी छैन,’ स्टार्टअपका अधिकारी भन्छन्, ‘यो समस्याको सम्बोधन कसरी हुन्छ, त्यसको समेत उपाय थाहा छैन ।’ उनको बुझाइमा टेलिकम कम्पनी प्रयोगकर्ताको समस्यामा अझै गम्भीर छैनन् । तर, नेपाल टेलिकमको सेवा प्रयोग गर्दै आएकी ललितपुरकी सृष्टि शाक्य भने कम्पनीमा आफ्ना नातेदार भएकाले काटिएको रकम केही समयमै प्राप्त भएको बताउँछिन् ।

भारतको दिल्लीबाट बीटेकको अन्तिम सेमेष्टरको परीक्षा दिएर नेपाल फर्केपछि नतीजाबारे त्यहाँ फोन गर्दा उनको मोबाइलबाट अत्यधिक रकम काटिएको थियो । ‘पछि अति नै भएपछि काकालाई फोन गरेर समस्या बताएँ,’ उनले भनिन्, ‘त्यसको अर्को दिन रकम पनि फिर्ता पाएँ ।’

सेवाप्रदायकहरू भने यस्तो समस्या नरहेको जिकीर गर्छन् । प्राविधिक कारण अथवा प्रयोगकर्ताले नै नबुझेको हुन सक्ने उनीहरूको तर्क छ । नेपाल टेलिकमले भने निर्धारण गरेको ‘ट्यारिफ’भन्दा फरक हुने गरी प्रयोगकर्तालाई समस्यामा नपारेको प्रवक्ता गुणकेशरी प्रधानको भनाइ छ । ‘ट्यारिफमा सबैभन्दा बढी पारदर्शी नेपाल टेलिकम नै छ,’ उनको दाबी छ, ‘अनावश्यक रकम काट्ने तथा ग्राहकलाई भ्रममा पार्ने काम हामीबाट भएको छैन ।’ एनसेलका कम्युनिकेशन एक्सपर्ट मिलनमणि शर्मा कम्पनीले नियमअनुसार अरू पैसा नलिएको बताउँछन् । ‘मोबाइलबाट ब्यालेन्स घट्दै जाँदा प्रयोगकर्तालाई असर त पर्छ नै । तर, आफ्नो कम्पनीले अनावश्यक रूपमा ब्यालेन्स काट्दैन,’ उनले भने, ‘कुनै पनि प्रयोगकर्ताले आफ्नो ब्यालेन्स कसरी काटियो भनेर कम्पनीमै आएर बुझ्न सक्छन् ।’

टेलिकम कम्पनीको नियमन गर्दै आएको नेपाल दूरसञ्चार प्राधिकरणले ट्यारिफ अथवा सेवाको गुणस्तरमा कुनै गुनासो भए त्यसलाई सम्बोधन गरिने बताएको छ । प्रयोगकर्ताले समस्या भएको अवस्थामा प्राधिकरणसँग त्यसको समाधानका लागि उजुरी गर्न सक्ने प्रवक्ता कैलाश न्यौपानेले बताए । तर, इण्टरनेट सोसाइटी नेपाल च्याप्टरका अध्यक्ष बाबुराम अर्याल भन्छन्, ‘टेलिकम कम्पनीले प्रकाशन/प्रसारण गर्ने विज्ञापनमा उल्लेख गरेको ट्यारिफभन्दा बढी लिने गर्छन् ।’ अधिकांश कम्पनीले विज्ञापनमा थोरै मात्र जानकारी उपलब्ध गराउँदा प्रयोगकर्ता वास्तविक सूचनाबाट वञ्चित हुन पुगेको उनको भनाइ छ । ‘विज्ञापनमा उल्लिखित दरभन्दा बढी रकम लिने उदाहरण पनि छन्,’ उनले भने, ‘आवश्यक सूचनाहरूसमेत विज्ञापनमा उल्लेख गरेको पाइँदैन ।’ टेलिकम कम्पनीहरू भने विज्ञापनमा सबै पक्ष समेट्न नसकिने भएकाले थोरै सूचना मात्र उल्लेख गरिएको बताउँछन् । विज्ञापनलाई आकर्षक देखाउनुपर्ने भएकाले सबै सूचना त्यहाँ नअटाउने उनीहरूको तर्क छ ।

, ,

news and entertainment