अर्धनग्न युवती प्रयोग गरेर लुटिए पर्यटक

१० बैशाक, काठमाडौं । नयाँदिल्लीबाट काठमाडौं घुम्न आएका अमित त्यागीले एनसेलको सिम खरिद गरे । सिम मोबाइलमा एक्टिभेट भएको केही मिनेटमै उनको ९८०३८०८७३८ नम्बरमा कल आउन थालेपछि उनलाई अचम्म लाग्यो ।
घटना शनिबारको हो । पुरुष आवाज अपरिचितले भन्यो, ‘हेलो आइएम गाइड’ । उनी आफ्नो समूहका साथ बानेश्वरस्थित होटेल एभेरेन्टमा बसेका थिए । काठमाडौं घुम्ने प्रबन्ध होटेलले नै मिलाएपनि ३० वर्षे त्यागीलाई मोबाइलकर्ताले निरन्तर पछ्याइरह्यो । धेरै कल आउन थालेपछि उनी ती गाइडसँगै घूम्न जान तयार भए । गाइडले त्यागीलाई ट्याक्सीमा राखेर बौद्ध र पशुपति घुमाएर पाटन लैजाने तय गर्‍यो । ग्वार्कोनजिक पुगेपछि ट्याक्सी रोकियो ।
आफूलाई गाइड भन्ने व्यक्तिले त्यागीलाई काम छ भन्दै भीमसेन रेस्टुराँ एनड बारमा लग्यो । उनीहरुका पछिपछि अन्य चारपाँच जना लागे रेस्टुराँमा छिर्न नपाउँदै दुईतीनजना अर्धनग्न युवतीले त्यागीलाई च्याप्प समाउँदै वियर पिउन आग्रह गरे । त्यागीले आफूले नपिउने भन्दै टाढै रहन आग्रह गरे ।
लुट्ने पूर्वयोजना अनुसार बारमा पुर्‍याइएका त्यागीलाई ती युवतीहरुले नगद लुटे । प्रहरीलाई खबर गरे ज्यान मार्ने धम्की दिए । त्यागी आफूसँग रहेको सबै नगद बुझाएर बाहिर निस्कँदा ट्याक्सी चालकले ढिलो भएको भन्दै भाडा माग्न थाल्यो । त्यागीले भाडा होटलमा पुगेर दिने भन्दै फर्किए । ‘ट्याक्सी चालकमाथि शंका लागेपछि त्यागीले फोटो खिच्न खोज्दा ट्याक्सी भागेछ । आफू नियोजित रुपमा लुटिएको थाहा पाए’ त्यागीको उजुरीमा छानविन गरिरहेका बानेश्वर वृत्तका प्रमुख रेवती ढकालले भनेको अन्नपूर्ण पोस्टमा खबर छ । लुटपाटमा संलग्न सिमकार्ड बिक्रेतासमेत संलग्न रहेको आशंका प्रहरीको छ ।
प्रहरीले त्यागीको उजुरीका आधारमा सूर्य तामाङ, अशोक भनिने धनराज लामा, रमेश जीसी, गीता श्रेष्ठ र सृजना गुरुङलाई पक्राउ गरेको छ । पक्राउ चारैजना लुटपाटमा संलग्न रहे पनि मुख्य योजनाकारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

, ,

news and entertainment