घले गाउँलाई संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाइने
५ बैशाख, लमजुङ । बेसीसहर घलेको पुख्र्यौली थलो उत्तरकन्या गाविसको घले गाउँमा भेला भएका देशभरका घले अगुवाले घले गाउँलाई सार्कको मात्र नभइ संसारकै नमुना गाउँ बनाउने प्रण गरेका छन् ।
चैत अन्तिम साता घले गाउँमा देशभरका घले प्रतिनिधि भेला भएका थिए । सार्क राष्ट्रको नमुना गाउँका रुपमा रहेको घले गाउँ देशकै नमुना पर्यटकीय गाउँका रुपमा विकास भइरहेको छ ।
प्राकृतिक दृश्यावलोकन र गुरुङ संस्कृतिको अध्ययन गर्न देशविदेशका पर्यटक यहाँ आउने गरेका छन् । घलेको पुख्र्यौली थलो, जीवित संस्कृतिको भण्डारसमेत रहेको घले गाउँमा घलेहरुका पूर्वज राजा क्याल्बु घलेको शालिक राखी पार्कसमेत बनाइ यसलाई ऐतिहासिक थलोका रुपमा विकास गर्न घले समुदाय कस्सिएका छन् । सोही क्रममा घलेगाउँमा देशभरबाट घले अगुवाहरु आइपुगेका थिए ।
घलेहरुको राष्ट्रिय भेलाको नाम दिइएको सो भेलामा क्याल्बु घलेको शालिक र पार्क निर्माणका लागि रु ११ लाख सङ्कलन भएको बताइएको छ । भेलाले घलेहरुको ऐतिहासिक थलोको संरक्षण, संवद्र्धन र विकास गर्न विभिन्न निर्णय गरेको छ । यसका लागि देश विदेशमा रहेका सबै घले बन्धुलाई आग्रह गर्ने निर्णय भएको भेलाका सहभागी तथा घलेगाउँका अगुवा समाजसेवी लीलबहादुर घलेले बताउनुभयो । “आफ्नो परम्परा, रीतिरिवाज र संस्कृति जोगाउन भेलाले महत्वपूर्ण निर्णय गरेको छ”, लीलबहादुरले भन्नुभयो ।
भेलाले घलेगाउँमा आगामी एक वर्षभित्र घले राजा क्याल्बु घलेको शालिकसहित घलेपार्क निर्माण गरिसक्ने निर्णय गरेको घलेगाउँ ग्रामीण पर्यटन समितिका अध्यक्ष प्रेम घलेले बताउनुभयो । घलेगाउँलाई संसारकै उत्कृष्ट ग्रामीण पर्यटकीय गन्तव्यस्थल बनाउन देश विदेशमा छरिएर रहेका सबै घलेलाई आफ्नो संस्कृति, परम्परा र रीतिरिवाज बुझ्न घलेगाउँ आउन प्रोत्साहन गर्ने निर्णय भएको अध्यक्ष घलेले बताउनुभयो ।
घले समाजका केन्द्रीय अध्यक्ष दिनेश घलेको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले घले राज्यको ऐतिहासिक तथ्यसमेत पत्ता लगाउने निर्णय गरेको थियो । रासस