साढें ३ महिनाको अवधिमा सोचे अनुसारको काम गर्न सकेनौं : प्रधानमन्त्री

काठमाडौं, जेष्ठ १५ । प्रधानमन्त्री सुशील कोइरालाले सरकार गठन भएको साढें ३ महिनाको अवधिमा आफूहरुले सोचे अनुसारको काम गर्न नसकेको बताएका छन् । गठबन्धन सरकार भएका कारण चाहेजति काम गर्न नसकेको भन्दै प्रधानमन्त्री कोइरालाले सरकारका कमी, कमजोरी औंल्याइदिन सबैलाई आग्रह समेत गरेका छन् ।

राजधानीमा आज नेपाल बार एसोसिएसनले गरेको विशेष संवैधानिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले आफू सरकारमा बसिरहन नचाहेको समेत स्पष्ट पारे ।

उनले अहिलेको सरकारले निर्धारित समयमा संविधान जारी गर्ने दायित्व पूरा गरी छाड्ने प्रतिबद्धता पनि जनाए ।

कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठ न्यायधीश रामकुमारप्रसाद शाहले न्यायपालिकालाई प्रयोगको थलो बनाउनु नहुने भन्दै कानुनकर्मीहरुको काँधमा न्यायपालिकालाई स्वतन्त्र बनाइराख्ने चुनौती रहेको बताए ।

त्यस अवसरमा कानुन व्यवसायीहरुले पछिल्लो समय न्यायपालिकालाई कमजोर बनाउने प्रयत्न भइरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए । संविधानका विवादित विषयमा सहमतिका लागि दबाब दिने उद्देश्यले सुरु भएको सम्मेलन तीन दिनसम्म चल्ने छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

,

news and entertainment