प्रधानमन्त्री कोइरालाले प्रचण्डलाई यसरी फकाए

काठमाडौँ, ४ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई आफै निवास बालुवाटारमा बोलाएर संविधान निर्माण र शान्ति प्रक्रियाको बाँकी कामको विषयमा सुझाव मागेका छन् । विभिन्न दलका नेताहरुसंग छलफल गर्ने क्रममा प्रधानमन्त्रीले आइतबार बिहान प्रचण्डलाई बोलाएर भने ‘तपाई शान्ति सम्झौतामा हस्ताक्षर गर्ने एक महत्वपूर्ण पात्र हुनुहुन्छ, हस्ताक्षरकर्ता अर्को व्यक्ति नभएको अवस्थामा बाँकी काम कसरी सक्ने तपाई आफै भन्नुस ।’

प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका प्रचण्डलाई प्रधानमन्त्री कोइरालाले फकाउने शैलीमा कुरा गरेको बालुवाटार स्रोतले बताएको छ । मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान निर्माणलगायत विषयमा कुराकानी भएको कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए । विशेषगरी मुलुकको पछिल्लो राजनीतिक अवस्था र संविधानसभामा मनोनयन गरिने २६ जनाको विषयमा कुरा भएको थियो । सो अवसरमा संविधान निर्माण प्रक्रियालाई कसरी गति दिने र शान्ति प्रक्रियाका बाँकी रहेका काम पूरा गर्ने विषयमा कुरा भएको अधिकारीले बताए ।

शान्ति प्रक्रियाको साझेदार शक्ति हुनाको नाताले सबै विषयलाई सहमतिमा नै अगाडि बढाउनुपर्ने तथा जनअपेक्षाअनुसार संविधान निर्माण प्रक्रियालाई गति दिन सरकार र विपक्षी दल मिलेर जानुपर्ने विषय नै छलफलको प्रमुख विषय रहेको थियो ।

प्रधानमन्त्री कोइरालाले शनिबार नेकपा (माले), सद्भावना पार्टी र मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का शीर्ष नेतासँग संविधान निर्माण, न्याय परिषद्को सिफारिसमा देखिएको विवाद र २६ जनाको मनोनयनको विषयलाई लिएर छलफल गरेका थिए ।

,

news and entertainment