सगरमाथा लेजेन्ड्सको दोस्रो जित


 cricket
विशाल ग्रुप वारियर्सविरुद्ध शनिबार बलिङ गर्दै पञ्चकन्या तेजका बलर विनोद दास । तस्बिरः कौशल अधिकारी/कान्तिपुर
महेन्द्रनगर, जेष्ठ ४ - विनोद भण्डारीका लागि योभन्दा खुसीको क्षण अर्को के हुन सक्छ र ? उनी अहिले आफ्नो जन्मभूमि सुदूरपश्चिममै एनसेल नेपाल पि्रमियर लिग वान-डे प्रतियोगिता खेल्दै छन् । जुन नेपाली क्रिकेटकै महत्त्वपूर्ण प्रतियोगिता हो । र, उनले सगरमाथा लेजेन्ड्स टिमको नेतृत्व पनि गरिरहेका छन् । आफूले ब्याट समाउन सिकेको भूमिमा उनको नेतृत्वमा रहेको टिमले दुवै खेलमा जित दर्ता गरिसकेको छ ।
cricket
सगरमाथा लेजेन्ड्सले शनिबार कान्तिपुर गोर्खाज्लाई ५ विकेटले हरायो । त्यसअघिको पहिलो खेलमा उसले विशाल गु्रप वारियर्सलाई निराश पारेको थियो । वसन्त रेग्मीको कप्तानीमा रहेको कान्तिपुर गोर्खाज्माथिको जितमा विनोदले टिमका लागि सर्वाधिक ३५ रन जोडेर टिमलाई सहज जित दिलाए । पहिलो खेलमा पनि उनले ९८ रनको सानदार इनिङ्स खेलेका थिए ।

घरेलु मैदान, घरेलु समर्थकलाई खुसी पार्दै विनोदको ब्याट निरन्तर चलिरहेको छ । आफ्नो र टिमको प्रदर्शनदेखि उनी खुसी पनि छन् । त्यसैले खेलपछि उनको प्रतिक्रिया थियो,'टिममा बलिङ र ब्याटिङ राम्रो भइरहेको छ । टिमको प्रदर्शनदेखि सन्तुष्ट छु ।' कञ्चनपुरको मैदानमा कान्तिपुर गोर्खाज्ले पहिले ब्याटिङ गर्दै प्राविधिक रूपमा ४० ओभरमा छोट्याइएको खेलमा ३८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७९ रन जोडेको थियो । सुरेन्द्र चन्दले ५७ रन र आकाश गुप्ताले ३२ रन जोडे । बलिङमा सगरमाथा लेजेन्ड्सका चन्द्र साउदले ३ र 'म्यान अफ द म्याच' महबुब आलमले २ विकेट हात पारे ।

जवाफमा विनोदसँगै ब्याटिङमा चम्केका आलमले नटआउट ३१ रनको लोभलाग्दो इनिङ्स खेलेपछि सगरमाथा लेजेन्ड्सले ३३ ओभर ४ बलमा १ सय ८३ रन जोड्यो । कान्तिपुर गोर्खाज्का आकाश विष्टले ३ विकेट लिएका थिए ।

पञ्चकन्या तेज सफल

मोहन बुढाऐर

धनगढी

विनोद दास र दीपेन्द्र ऐरीको उत्कृष्ट बलिङ मदतले पञ्चकन्या तेजले एनसेल नेपाल पि्रमियर लिग वान-डे प्रतियोगितामा शनिबार जित दर्ता गरेको छ । उसले राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको विशाल गु्रप वारियर्सलाई १ सय ३३ रनले हरायो । यो विशाल वारियर्सको लगातार दोस्रो हार हो ।

फाप्ला मैदानमा दीपेन्द्र ऐरीले ४, विनोद दासले ३ र राजकुमार प्रधानले २ विकेट लिएपछि २ सय ९ रनको लक्ष्य पाएको वारियर्स २३ ओभर ४ बलमा ७५ रनमै समेटियो । वारियर्सका मञ्जित श्रेष्ठले सर्वाधिक १२ रन जोडे । उनीबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो स्कोर गर्न सकेनन् ।

उल्लेख्य दर्शकको उपस्थिति रहेको पहिले ब्याटिङ पञ्चकन्या तेज निर्धारित ५० ओभरमा २ सय ८ रनमा अलआउट भयो । पुस्कर थापाले सर्वाधिक ३१ बनाए । यस्तै, भुवन कार्कीले २९ रन जोडे भने करन केसीले नटआउट २० बनाए । कप्तान शरद भेषवाकरले २० बटुले । बलिङमा विशाल गु्रप वारियर्सका दीपेश खत्री भारी र रामनरेश गिरीले २/२ विकेट लिए । कप्तान पारस, यज्ञमान कुमाल र मञ्जित श्रेष्ठले १/१ विकेट लिए ।

पञ्चकन्या तेजका कप्तान शरद भेषवाकरले  ब्याटिङसँगै बलिङमा पनि अझ राम्रो गर्न सकेकामा जित निकाल्न सफल भएको बताए । विशाल गु्रप वारियर्सका कप्तान पारसले ब्याटिङ खराब भएको बताए ।

,

news and entertainment