नयाँदिल्ली , जेष्ठ ११ - भारतको आम आदमी पार्टी (आप) की प्रखर एवं मुखर महिला नेतृ साजिया इल्मीले सम्पूर्ण पदबाट राजीनामा दिएकी छन् । आपको भ्रष्टाचारविरोधी आन्दोलनबाट प्रभावित भएर राजनीतिमा आएकी उनी चर्चित टीभी पत्रकार हुन् । उनी पार्टीको संस्थापक सदस्य पनि हुन् ।
लामो समयसम्म स्टार न्युजमा आबद्ध उनलाई मुलुककै उत्कृष्ट समाचारवाचिकामध्ये एक मानिन्छ । उनले पुनः जागिर खाने चाहना व्यक्त गरेकी छन् ।
उनी बाहेक आपका प्रवक्ता आशुतोष गुप्ता पनि टीभी-१८ समूहमा पर्ने चर्चित टेलिभिजन च्यानल आईबीएन-७ का प्रबन्ध सम्पादक रहिसकेका छन् ।
साजियाले शनिबार दिउँसो पत्रकार सम्मेलनमा पार्टीमा आन्तरिक लोकतन्त्र नरहेको र गलत दिशामा उन्मुख भएको आरोप लगाएकी छन् । 'म जुन सोचका साथ पार्टीमा आबद्ध भएकी थिएँ, त्योचाहिँ पाइनँ,' उनले भनिन्, 'यसभित्र लोकतन्त्रको कमी छ ।' साँघुरो घेरा बनाएर बसेका सीमित आसेपासेले पार्टीका बुझक्की अध्यक्ष अरबिन्द केजरीवाललाई गलत सल्लाह दिइरहेको उनले बताइन् ।
सञ्चार क्षेत्रदेखि राजनीतिसम्म स्पष्ट वक्ताको रूपमा चिनिने साजियाले स्वजराज -जनताको शासन) को गफ दिने केजरीवालले पार्टीभित्र यो सोचलाई लागू गर्न नसकेको उनले कटाक्ष गरिन् । आपको फैसलामा आफ्नो कुनै साझेदारी नरहेको उनले खुलासा गरिन् । खुलेर बोल्ने आफ्नो बानीको कारणले पार्टीले आफूलाई पाखा लगाएको उनले स्पष्ट पारेकी छन् । उनले यति हुँदाहुँदै पनि
आप र केजरीवालप्रति उही सम्मान रहेको बताइन् ।
लोकसभा निर्वाचनका बेला टिकट वितरणको क्रममा आफूले आपत्ति जनाउँदा अन्य नेतालाई यसको जिम्मेवारी दिइएको उनले बताइन् । पार्टी गलत दिशामा जान थालेपछि आफूले आशा मार्दै राजीनामा दिएको उनले भनिन् । निर्वाचनअघि नै पद त्याग गर्न चाहे पनि प्रतीक्षा गर्नुपरेको उनले जानकारी दिइन् । जनतालाई वाक्क पार्ने जेल जाने राजनीतिबाट आपले आफूलाई अलग राख्नुपर्ने सुझाव दिएकी छन् ।
'हरेक मुद्दामा जेल जानु आवश्यक छैन,' उनले भनिन्, 'पार्टीमा सुधार होला भन्ने आश गर्दागर्दै एकपछि अर्को गल्ती गरिरहेको देखेँ ।' आफ्नो राजीनामापछि पार्टीले आत्ममन्थन गर्ने लागेको उनले धारणा राखेकी छन् । साजियाले तत्कालै कुनै दलमा नजाने भनेकी छन् ।
आपका नेता योगेन्द्र यादवले साजियाको निर्णयबाट पार्टी दुःखी भएको बताएका छन् । उनलाई मनाउने पार्टीको सबै कोसिस असफल भएको यादवले जनाए । उनको भूमिका र महत्त्वलाई बुझिएमा उनी पुनः पार्टीमा आउने उनले विश्वास व्यक्त गरेका छन् । 'उनले उठाएको मुद्दामा पार्टीले चिन्तन गर्नेछ, चुनावपछि यो कार्य सुरु पनि गरिसकेको छ,' उनले भने । अर्को सदस्य क्याप्टेन गोपीनाथले पनि केजरीवालसँग वैचारिक मतभेद रहेको भन्दै आप छाडेका छन् । उनले जनवरीमा पार्टी प्रवेश गरेका थिए । उनी एयरलायन्स सेक्टरमा कम रकममा हवाई उडान सुरु गर्ने डेकन एयरका मालिक हुन् ।
साजियाले आप छाडिन्
news and entertainment
