दलहरुको नौटंकी : सत्तारुढले वार्ता नगर्ने, विपक्षीले नाराबाजी नरोक्ने



ओएस नेपाल, काठमाडौं, माघ ९ -दलहरुले तोकिएको समयमा संविधान त दिएनन् नै उनीहरुले केही दिन देखि जनतालाई देखाउँदै आएको नौटंकी समेत बन्द नगर्ने लक्षण देखाएका छैनन् ।

सत्तारुढ नेपाली कांग्रेस र एमालेसहितका सत्तारुढ १० दलले प्रश्नावलीका लागि प्रस्ताव समिति बनाउने प्रक्रिया अघि नबढेसम्म माओवादी र मधेसी मोर्चासँग वार्ता हुन नसक्ने प्रष्ट पारेका छन् ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङले शुक्रबार भएको छलफलमा विपक्षीबाट वार्ताको प्रस्ताव आएको सुनाएका थिए । तर, प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले अरुवद्ध प्रक्रिया अघि नबढेसम्म वार्ता हुन नसक्ने नेम्वाङलाई जवाफ दिएको स्रोतले जनाएको छ ।

बैठकमा नेताहरुले सत्तारुढ १० दल र दुई स्वतन्त्र सभासद गरी ४२१ सभासदको तर्फबाट भन्दै प्रक्रिया अघि बढाउन सभाध्यक्ष नेम्वाङलाई आग्रह गरेका छन् ।

सभाध्यक्षसँगको भेटमा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र एमाले नेता माधवकुमार नेपालले पनि अब सत्तारुढ दलका सभासदहरुलाई रोक्न नसक्ने बताए ।

विपक्षीले नाराबाजी नरोक्ने
यसैबीच एमाओवादी नेतृत्वको ३६ दलीय मोर्चाको शुक्रबार बिहान बसेको बैठकले प्रक्रिया अघि बढाउने तयारीलाई रोक्न आज पनि घेराउ तथा नाराबाजी गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा बसेको एमाओवादी, मधेसी मोर्चा तथा अन्य साना दलहरुको बैठकले सहमतिमै संविधान बनाउनुपर्ने अडानलाई निरन्तरता दिने र अवरोधलाई कायम गर्ने निर्णय गरेको हो। उन्नाइस दलीय मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले आज पनि प्रक्रिया अघि बढ्न नदिने निर्णय भएको जानकारी दिए।

मोर्चाको तर्फबाट सम्वाद गर्ने जिम्मेवारी प्रचण्डलाई दिइएको छ। विपक्षीको अवरोधका कारण संविधानसभा प्रकियमा जान सकेको छैन।

सभाध्यक्षले के गर्लान् ?

सत्तारुढ दल र विपक्षी दलका यस्ता परस्पर विरोधी धारणा सार्वजनिक भए पछि सधै तटस्थ बस्नु पर्ने संविधानसभा अध्यक्ष सुवास नेम्वाङ भने निकै अप्ठ्यरोमा परेका छन् । दलहरुले अब बल उनकै कोर्टमा फालेका छन र उनले के गर्छन भनेर पर्खिरहेका छन् ।

सत्तारुढ दलका नेताहरुसँगको आजको भेटमा नेम्वाङले प्रश्नावली बनाउन प्रस्ताव समिति गठनको प्रक्रिया सुरु भइसकेको र बिहीबारको बैठक नै आफूले अब अघि बढ्ने संकेत दिएको नेताहरुलाई बताएका छन् ।

स्रोतका अनुसार उनले विपक्षीका नाराबाजीका वीचमा रोष्टममा नगई तल बसेकै ठाउँमा उभिएर प्रस्ताव पेश हुन नसक्ने बताएका छन् । उनले आफूले समेत समिति गठनको घोषणा नगर्ने सकेत दिएका छन् ।

तर, उनले नाराबाजीका बीच प्रस्ताव पेश गर्न कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठलाई समय दिन सक्ने अनुमान सत्तारुढ दलको छ ।

,

news and entertainment