अख्तियारले थाल्यो ठुला माछा समात्न, एमाले काठमाडौं अध्यक्षविरुद्ध भष्टचार मु्द्दा
ओएस नेपाल,काठमाडौं, माघ ९- सधै साना तहका भ्रष्टाचारी माथि मात्र कारबाही गरको भन्दै आलोचना खेपिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब भने ठुला माछा(उच्च तहका भ्रष्टाचारी) पनि समात्न थालेको छ ।
आजै अख्तियारले पशुपति क्षेत्र विकास कोषको रकम हिनामिना गरेको आरोपमा एमाले काठमाडौं जिल्ला अध्यक्ष निर्मल कुइँकेलविरुद्ध भष्ट्रचार मुद्दा दायर गरेको छ ।
आयोगले उनी कोषको सदस्यसचिव भएको समयमा ४६ करोड ५६ लाख ८७ हजार बराबरको रकम हिनामिना गरेको भन्दै शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनीसँगै अख्तियारले कोषका पूर्वसदस्य सचिव सुशील नाहाटा, कुईँकेल, काठमाडौंका पूर्व स्थानीय विकास अधिकारी महेन्द्रलाल श्रेष्ठ, प्रेमराज जोशी ,गोपाल पराजुली, पूर्व योजना अधिकृत भिष्मकुमार मल्ल, बालुवा उत्खननकर्ता बच्चुराम दाहाल र मिठाराम दाहालका विरुद्धमा पनि अदालतमा मुद्दा दायर छ ।
कोषको स्वामित्वमा रहेको गोठाटारस्थित ५ सय ३४ रोपनी बन क्षेत्र वरपर रहेको बालुवाखानि ठेक्का प्रकरणमा अनियमता गरेको भन्दै अख्तियारले भष्ट्रचार मुद्दा दायर गरिएको अख्तियारका प्रेस सल्लाहाकार भवानी सुवेदीले जानकारी दिए।
कुईँकेल विरुद्धको मुद्धालाई राजनीतिक तहको अहिलेसम्मकै उच्च कारबाही ठानिएको छ ।
माघ ८ अघि नै आफुले उच्च तहका राजनीतिक व्यक्ति विरुद्ध कारबाही चलाउदा दलहरु संविधान निर्मानबाट अन्तै मोडिने खतरा रहेको भन्दै माघ ८ सम्म ‘पर्ख र हेर’को रणनीतिमा रहेको उसले अब भने आफुलाई अघि बढाउने संकेत दिएको छ ।
अख्तियारले आफुले संविधान आए पनि नआए पनि माघ ८ पछि भने उच्च तहका व्यक्ति विरुद्ध भ्रष्टाचारका मुद्धा दायर गर्ने प्रष्ट यस अघि नै पारेको थियो ।
