एसएलसीमा भाईबर र म्यासेन्जरबाट चीट !


सिन्धुलीः प्रवेशिका परिक्षा (एसएलसी) मा शिक्षक र विद्यार्थीबीच चिट चोर्ने र चोराउने गरेको आरोप लागेको छ ।


मोबाइलको भाईबर र म्यासेन्जरबाट शिक्षक र अभिभावकले विद्यार्थीलाई चिट चोराउने तथ्य भेटिएको हो ।

परीक्षा हलका विद्यार्थी तथा मर्यादा कायम गर्न खटिएका गार्डले मोबाइलबा प्रश्नपत्रको फोटो खिचेर बाहिर रहेका शिक्षक र अभिभावकलाई म्यासेन्जरमार्फत पठाउने गरिएको खुलेको हो ।

सोही प्रश्नपत्रका आधारमा उत्तर तयार गरी पुनः भाइबर र म्यासेन्जरबाटै परीक्षा केन्द्रमा परीक्षा दिइरहेका विद्यार्थीलाई चीट पठाउने गरिएको पाइएको हो ।

परीक्षाको पहिलो र दोस्रो दिन सदरमुकाम माढी भित्रकै परिक्षा केन्द्रमा भाइबर र म्यासेन्जरमार्फत प्रश्न आउट गरी म्यासेन्जरबाटै विद्यार्थीसम्म उत्तर पु¥याउने नयाँ तरिका अपनाइएको शिक्षकहरुले नै बताएका छन् ।

जिल्ला सदरमुकाम माढीस्थित जनज्योती उमावि परिक्षा केन्द्रमा परिक्षाको पहिलो दिन र दोस्रो दिन यसरी चीट चोराएको बताइएको छ ।

‘केन्द्रबाट वा बाहीरी कुनै केन्द्रबाट प्रश्न आउट भएको भन्ने एकिन भएन । तर, परीक्षाहलमा सहभागी विद्यार्थीहरुमा भने म्यासेन्जरमार्फत प्रश्नको तयारी उत्तर म्यासेन्जरमार्फत परीक्षा हलसम्म आएको परीक्षापछि थाहा भयो’ उक्त परीक्षा केन्द्रका केन्द्राध्यक्ष कृष्णप्रसाद निरौलाले भने, ‘त्यस विषयमा अनुसनधानका लागि जिल्ला शिक्षा कार्यालयमा समेत जानकारी गराइएको छ ।’

परीक्षा केन्द्रमा म्यासेन्जर र भाईबरमार्फत चिट चोर्ने र चोराउने गरेको गुनासो आएपछि आइतबारबाट परीक्षा केन्द्रमा खटिने सबै सुरक्षा गार्ड, सहायक केन्द्राध्यक्षसहितका शिक्षक र विद्यार्थी तथा अन्य कर्मचारीलाई समेत परीक्षा हलभित्र मोबाइल प्रयोग गर्न निषेध गरिएको निरौालले बताए ।

केन्द्रभित्र स्वीच अफ गरेर मोवाइल राख्न थालिएको केन्द्राध्यक्ष निरौलाको भनाइ छ ।

‘केन्द्रको नाम लिएर गुनासो आएपछि आफैँले शिक्षा अधिकारीलाई जानकारी गराइ मोवाइल प्रयोगमा निषेध गरिएको छ’, उनले भने, ‘अहिले परीक्षामा खटिने कुनै पनि शिक्षक,  कर्मचारी र विद्यार्थीहरुले मोबाइल प्रयोग गर्न पाउने छैनन् ।’

मोवाइल मार्फत चिट चोर्ने र चोराउने काम भएको भन्दै शिक्षा कार्यालयमा उजुरी समेत गरिएको छ । यसैबीच परीक्षाका क्रममा भाईबर र म्यासेन्जरमार्फत चिट चोर्ने र चोराउने नयाँ प्रविधि अपनाइएपछि गेस पेपर, गाइड र चिटमामात्र निगरानी गरेका प्रहरी र शिक्षा कार्यालयका अधिकारीले त्यसतर्फ पनि निगरानी बढाएका छन् ।

परीक्षार्थीहरुले चीट चोर्न नयाँ प्रविधि अपनाएको थाहा भएपछि शिक्षा कार्यालयले आइतबारबाट जिल्लाभरकै परिक्षा केन्द्रमा मोबाइल प्रयोग नगर्न निर्देशन दिएको छ ।

‘परीक्षाहल भित्र कसैलाई पनि मोबाइल नलैजान भनिएको छ’, जिल्ला शिक्षा अधिकारी बद्रीबहादुर पाठकले भने, ‘यदि कसैले मोबाइल लगेर अमर्यादित गतिविधि गरे त्यस्ता कर्मचारी र विद्यार्थीलाई कारबाही गरिनेछ ।’

जिल्लाका कतिपय परीक्षा केन्द्रहरुबाट केन्द्रमा खटिने कार्यालय सहयोगी, प्रहरी र चिया पसलका सञ्चालकहरुबाट चिया पु¥याउने बहानामा परिक्षा केन्द्रबाट प्रश्नपत्र बाहिर ल्याउने र उत्तर भित्र पुर्याउने गरेको समेत आरोप लागेको छ ।

यसअघि निजी स्तरका बोर्डीङका विद्यार्थीहरुबाट टाइमा समेत लुकाएर चिट परिक्षा हलमा पुर्याउने गरेको पाइएपनि यस पटक मोबाइलको भाइबर र म्यासेन्जरको प्रायेग गरी नयाँ तरीकाबाट चिट चोर्ने र चोराउने काम भएको पाएको हो ।

यस्तो कार्य देशै भरी हुन सक्नेमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । जिल्ला सदरमुकाम माढीभित्रैका केही निजी विद्यालयहरुको प्रतिस्पर्धाका कारण यस्तो अवस्था आएको स्थानीय बताउँछन् ।

अघिल्ला वर्षको तुलनामा परीक्षा केन्द्रमा अभिभावक र शिक्षकको भिड लाग्ने ठूलो परिणाममा गेस गाइडहरु परीक्षार्थीले लैजाने काममा भने कमी आएको छ ।
annapurnapost

,

news and entertainment