नेपाल चीनसँग नजिक हुँदा भारत भित्रभित्रै कुँडियोः परराष्ट्रविद्

काठमाडौँ, २२ चैत । मुलुकलाई आत्मनिर्भर बनाएर देशको राष्ट्रियता तथा स्वाधीनताको संरक्षण गर्न सकिनेमा विभिन्न बुद्धिजीवी तथा परराष्ट्रविद्ले जोड दिएका छन् ।
यहाँ आज आयोजित कार्यक्रममा सहभागी वक्ताले नेपालका अधिकांश राजनीतिज्ञ जनताप्रति जिम्मेवार तथा देशप्रति संवेदनशील हुन नसक्दा देश परनिर्भरतातर्फ उन्मुख भएको विचार व्यक्त गरे ।
परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी चीनसँग गरेको सम्झौता सकारात्मक भएको बताउँदै नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने उत्तम उपाय भनेको देशभित्रै सम्भावित खानीको उत्खनन गरेर आत्मनिर्भरका दिशामा लैजानुपर्ने बताउनुभयो ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल चीनसँग नजिक भएको भारतलाई मन नपर्ने भएकाले अहिले भारत भित्रभित्रै  कुँडिएर बसेको र त्यसको प्रतिक्रियास्वरुप युरोपेली सङ्घ(इयु)सँग मिलेर भारतले ब्रसेल्सबाट नेपालविरुद्ध संयुक्त विज्ञप्ति निकालेको आरोप लगाउनुभयो ।
नेकपा (माओवादी)का नेता धर्मेन्द्र बास्तोलाले वर्तमान सरकारको ठाउँमा अर्को सरकारको निर्माण गर्न इयु र भारत लागिपरेको विचार व्यक्त गर्नुभयो भने नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य हरिभक्त कँडेलले नेपालमा अस्थिरता कायम राखेर स्वाधीनतालाई कमजोर बनाइराख्ने खेल भारतले गरेको बताउनुभयो । देशभक्त सङ्घीय जनवादी मोर्चाका अध्यक्ष तिलक परियारले भारत र इयुको संयुक्त विज्ञप्ति योजनाबद्ध रुपमा नेपालको राष्ट्रियतामाथि हस्तक्षेप गर्न ल्याइएकामा चिन्ता गर्नुभयो ।
एमाओवादीका पोलिटब्युरो सदस्य विश्वभक्त दुलाल ‘आहुति’ले ‘भारतले नेपालका क्रान्तिकारीलाई योजनाबद्ध रुपमा अवसरवादी र आत्मसमर्पणवादी बनाउने परिस्थिति खडा गरिरहेकाले’ अब सम्पूर्ण क्रान्तिकारी माओवादी एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो । वाम बुद्धिजीवी एकराज भण्डारी, पूर्व नेपाली सैनिक कुमार फुदुङ लगायतले राष्ट्रियता खतरामा परेको अहिलेको अवस्थामा क्रान्तिकारी विचार र नेतृत्वमा देशभक्त शक्ति गोलबन्द हुनुपर्ने बताउनुभयो । रासस
-dainiknepal

,

news and entertainment