फोटो :१२ औँ दक्षिण एसियाली खेलकुद (साग) फुटबलको उपाधि जितेपछि नेपाली टोली। तस्बिरःरजेन्द्र केसी
२०७२ सालमा नेपाली खेलकुद
नेपाली खेलकुदका लागि २०७२ साल अन्तर्राष्ट्रिय सहभागिता र उपलब्धिको हिसाबले सामान्य रहे पनि खेलकुदभित्र हुने राजनीति र स्थायित्वको दृष्टिकोणले भने निकै उतारचढावपूर्ण बन्न पुग्यो । अन्य खेलको तुलनामा फुटबलले कहिले राम्रो त कहिले दुःखद समाचार दिएर वर्षैंभरि नेपाली खेलकुदलाई तताइरह्यो ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा बढी उमेरका खेलाडी खेलाएर प्रतिबन्ध भोग्नु परेको समाचार होस् वा चर्चित खेलाडीहरू खेल मिलेमतोको आरोपमा समातिएको घटना होस्, नेपाली फुटबल सधैं चर्चामा रह्यो ।
दुई दशकभन्दा लामो समय नेपाली फुटबलमा एकक्षत्र राज गरेका अखिल नेपाल फुटबल संघ (एन्फा) का तात्कालीन अध्यक्ष गणेश थापा आर्थिक अनियमितताको आरोपमा विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) बाट प्रतिबन्धमा परेको समाचारले पनि बितेको वर्ष नेपाली खेलकुदलाई नराम्ररी ततायो । नेपाली फुटबलसँग जोडिएका यी यस्ता अप्रिय घटना बने, जसले अन्तर्राष्ट्रिय जगतमा समेत नेपाली खेलकुदको साखलाई गिराउने काम गर्यो ।
एकातिर फुटबलसँग जोडिएका केही घटनाले अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको प्रतिष्ठालाई धुमिल तुल्याउने काम गर्यो भने अर्कोतिर त्यही फुटबलले विश्व खेलकुद वृत्तमा केही महवपूर्ण सफलता हात पार्दै देशको शिर उच्च पनि बनायो । लामो समयदेखि नेपाली फुटबलमा देखिएको उपाधिको खडेरीलाई चिर्दै नेपाली खेलाडी बंगलादेशबाट बंगबन्धु गोल्डकपको उपाधि बोकेर स्वदेश फर्किए भने २०७२ सालमै नेपाली युवा टोलीले घरेलु मैदानमा साफ यू-१९ फुटबल प्रतियोगिताको उपाधि जितेर खेलप्रेमीलाई गतिलो उपहार दियो ।
सबैभन्दा ठूलो खुसी त नेपाली फुटबलले दक्षिण एसियाली खेलकुद (साग) मा दियो । २०७२ सालको उत्तरार्धतिर भारतको गुवाहाटी र मेघालयमा आयोजना भएको १२ औं साग खेलकुदमा भारतलाई उसैको मैदानमा हराउँदै नेपाली फुटबल टोली २३ वर्षपछि च्याम्पियन बन्यो । प्रतियोगिताको प्रारम्भदेखि नै उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोलीले फाइनलमा चिरप्रतिद्वन्द्वी भारतलाई २-१ गोलले हरायो । नेपालको जितमा प्रकाश बुढाथोकी र नवयुग श्रेष्ठले गोल गरेका थिए । नेपालले यसअघि सन् १९८४ र सन् १९९३ को साग फुटबलमा स्वर्ण पदक जितेको थियो । १२ औं सागको महिला फुटबलमा पनि नेपाली टोलीले रजत पदक जित्यो । नेपाली टोली फाइनलमा भारतसँग पराजित भएको थियो ।
यू-१९ साफ फुटबल प्रतियोगिताको फाइनलमा पनि नेपालले भारतलाई नै पेनाल्टी सुटआउटमा ५-४ गोलले हराएको थियो । निर्धारित र थप गरिएको समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि हारजितको निर्णय पेनाल्टी सुटआउटबाट निकालिएको थियो । साफ यू-१९ फुटबलको पहिलो पहिलो संस्करण भएकाले पनि यो उपाधि नेपालका लागि विशेष बन्यो । यसैगरी ढाकामा भएको बंगबन्धु गोल्डकपको फाइनलमा भने नेपालले बहराइनलाई ३–० गोलले पराजित गरेको थियो । यद्यपि १२ औं सागअघि भारतमै भएको साफ च्याम्पियनसिप फुटबलमा भने नेपाली टोली समूहगत चरणबाटै बाहिरिएको थियो ।
पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबलमा हासिल गरेको एकपछि अर्को सफलताले एकतिर नेपाली फुटबलको भविष्य उज्ज्वल छ भन्ने सन्देश दियो भने अर्कोतिर नेपाली खेलाडी पनि विश्व खेलकुदको ध्यान आफूतिर तान्न सफल भए । सागबाट फर्किएलगत्तै राष्ट्रिय टोलीका तीन खेलाडी विमल घर्तीमगर, अनन्त तामाङ र अञ्जन विष्टलाई प्रशिक्षणका लागि स्पेनिस क्लब मार्बेल्ला युनाइटेडले बोलाउनु यसैको उदाहरण हो । सन् १९९७ मा स्थापना भएको मार्बेल्ला स्पेनको ‘बी’ डिभिजन क्लब हो ।
लगातार तीनवटा महवपूर्ण प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि मैत्रीपूर्ण खेलका लागि मलेसियाली फुटबल संघले एन्फामा निम्तो पठाउनुले पनि पछिल्लो समय नेपाली फुटबललाई विश्व खेल जगतले नजिकबाट नियालिरहेको अर्को उदाहरण हो । आयोजक मलेसियाको यू-२२ टोलीविरुद्घको पहिलो मैत्रीपूर्ण खेलमा पनि नेपालले उत्कृष्ट प्रदर्शन गर्दै १-१ को नतिजा निकालेको थियो । मलेसियाको राष्ट्रिय टोलीसँग भने नेपालले अर्को मैत्रीपूर्ण खेल खेल्न बाँकी छ ।
एकातिर खेलाडीले हासिल गरेका यी उपलब्धिले नेपाली फुटबलमा सुनौलो गोरेटो कोर्ने काम गर्यो भने अर्कोतिर यही अवधिमा नेपाली खेलाडीको खेल मिलेमतोमा संलग्नता रहेको समाचारले राष्ट्रले नै लज्जाबोध गर्नुपर्ने अवस्था सिर्जना भयो । नेपाल प्रहरीले एएफसी र स्पोर्टराडरको सहयोगमा म्याच फिक्सिङको आरोपमा राष्ट्रिय टोलीका तात्कालीन कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलरक्षक रितेश थापा, पूर्वरक्षकद्वय विकाससिंह क्षेत्री र अञ्जन केसीलाई पक्राउ गरेको थियो । अहिले यो मुद्दा अदालतमा विचाराधीन छ । प्रहरीले खेलाडीमाथि राज्यविरुद्घको अपराधमा मुद्दा चलाएको छ भने खेलाडी धरौटीमा रिहा भएका छन् । एएफसीले पनि खेल मिलेमतोको आरोप लागेका खेलाडीलाई फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी निलम्बन गरेको छ ।
यसैगरी निर्धारितभन्दा बढी उमेरका खेलाडी खेलाएको विषयलाई लिएर यू-१६ टोलीमाथि एएफसीले गरेको कारबाही नेपाली फुटबलका लागि अर्को दुःखद पक्ष बन्न पुग्यो । कीर्गिस्तानमा भएको एएफसी यू–१६ च्याम्पियनसिप छनोटमा नेपाल सफल भए पनि एएफसीले बढी उमेरका खेलाडी खेलाएको आरोपमा नेपाली टोलीलाई निलम्बन र एन्फालाई जरिबाना गर्ने निर्णय गरेको थियो । नेपाली फुटबल २०७२ सालमा पदाधिकारीको आर्थिक अनियमितताका कारण पनि निकै चर्चामा रह्यो ।
एन्फाकै निर्वाचित उपाध्यक्ष कर्माछिरिङ शेर्पा, विजयनारायण मानन्धर र किशोर राई तथा सदस्य पकज नेम्बाङलगायतका पदाधिकारीले एन्फामा चरम आर्थिक अनियमितता रहेको आरोप लगाउँदै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायमा उजुरी दिए । आर्थिक अनियमिताकै विषयलाई लिएर फिफा र एएफसीले तत्कालीन एन्फा अध्यक्ष गणेश थापालाई कारबाही गरेपछि त यो विषयले झनै चर्चा पायो । फिफा र एएफसी थापालाई आर्थिक जरिबानासहित १० वर्ष लामो प्रतिबन्धको कारबाही गरेको छ । एन्फाको कार्यवाहक अध्यक्षको जिम्मेवारी अहिले नरेन्द्र श्रेष्ठले बहन गर्दै आएका छन् ।
क्रिकेटमा विवादै विवाद
नेपाली क्रिकेटका लागि २०७२ साल निरश रह्यो । एकातिर अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रदर्शन विगतको तुलनामा फितलो देखियो अर्कोतिर नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीबीचको विवादले पनि चरम रूप लियो । गत पुस २ गते पुरानो कार्यसमितिको कार्यकाल सकिनुअघि क्यानको एउटा समूहले निर्वाचन गरी नयाँ समिति बनाएको थियो । तर राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्यो निर्वाचनलाई मान्यता दिन मानेन । आफ्नो निर्देशनविपरीत निर्वाचन गरेको राखेपको तर्क छ । क्यानको साधारणसभाले गत मंसिर २९ गते चन्दको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । कार्यकाल सकिन लागेकाले तत्कालीन कार्यसमितिले मंसिर २९ गते रातारात निर्वाचन सम्पन्न गरेको थियो ।
उक्त निर्वाचनलाई मान्यता नदिएको राखेपले केही समयका लागि क्यानकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेलाई क्यानको नियमित कार्य सञ्चालनको जिम्मा दियो भने त्यसपछि रमेश सिलवालको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गर्यो । राखेपले तदर्थ समिति गठन गरेपछि क्यानको विवादले झनै चरम रूप लियो । आफ्नो समितिलाई बेवास्ता गर्दै राखेपले तदर्थ समिति गठन गरेपछि चतुरबहादुर चन्दको नेतृत्वमा रहेको क्यानको निर्वाचित समिति कानुनी उपचारको खोजीमा रिट निवेदन लिएर सर्वोच्च अदालतको शरणमा पुग्यो । चन्दले दर्ता गरेको रिटमा तदर्थ समितिका १५ जना पदाधिकारीसँगै राखेप, राखेपका सदस्यसचिव केशवकुमार विष्ट, युवा तथा खेलकुद मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राखेपका आर्थिक विभाग प्रमुख वासुदेव आचार्य, क्यानकी सीईओ भावना घिमिरे, आर्थिक व्यवस्थापक राजेश महर्जन र नेपाल इन्भेस्टमेन्ट बैंकलाई समेत विपक्षी बनाइएको छ ।
विधानतः बनेको निर्वाचित समितिलाई बेवास्ता गरी समानान्तर समिति बनाएर राखेपले नेपाल क्रिकेट संघलाई विवादित बनाउन खोजेको चन्द पक्षको आरोप छ । यो मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ । खेल पदाधिकारीबीचको यो विवादका कारण यतिबेला समग्र क्रिकेट नै प्रभावित बन्न पुगेको छ । क्यानको विवादले एकातिर खेलाडीमाथि नराम्रो मनोवैज्ञानिक असर पारेको छ भने अर्कोतिर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले समेत यथाशिघ्र विवाद समाधान नभए आफूहरू अप्रिय निर्णय लिन बाध्य हुने चेतावनी पनि दिँदै आएको छ ।
विवादकै कारण नेपालले क्रिकेट विकासका लागि आईसीसीबाट पाउनुपर्ने रकमसमेत लामो समयदेखि रोकिएको छ । यस्तै विषम परिस्थितिमा आगामी शनिबार र सोमबार नेपालले घरेलु मैदानमा नामिबियाविरुद्घ आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्दैछ । वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा हालसम्म एक खेल पनि जित्ने नसकेको नेपाल तालिकामा सबैभन्दा तल छ । यसैगरी २०७२ सालमै बंगलादेशमा सम्पन्न आईसीसी यू–१९ विश्वकपमा पनि नेपाल क्वार्टरफाइनलबाटै बाहिरियो । नेपाल यो प्रतियोगितामा हालसम्म अन्तिम आठभन्दा अगाडि बढ्न सकेको छैन । नेपाल यसपटक १६ वर्षपछि अन्तिम आठमा पुगेको थियो ।
सामान्य रह्यो साग
दक्षिण एसियाली क्षेत्रको ओलम्पिकका रूपमा परिचित साग खेलकुदको १२ औं संस्करण २०७२ सालमै भारतको गुवाहाटी र मेघालयमा आयोजना भयो । प्रतियोगिताको सबै खेलमा भाग लिए पनि नेपालले तीनवटा स्वर्ण पदकमात्र जित्न सक्यो । अपर्याप्त तयारी, खेलाडीलाई वैदेशिक प्रशिक्षणको अभाव, समयमै बजेट निकासा नहुनेजस्ता कारणले प्रतियोगितामा नेपाली खेलाडीको प्रदर्शन सोचेजस्तो हुन सकेन । यसअघिका संस्करणमा प्रभाव जमाउँदै आएको मार्सल आर्टका विभिन्न विधामा पनि नेपालको स्तर खस्किएको भान भयो ।
नेपाली फुटबलले १२ औं सागमा स्वर्ण पदक जित्दै केही हदसम्म सहभागितालाई सार्थक बनाउने प्रयास गर्यो । १२ औं सागमा उसु खेलाडी निमा घर्तीमगरले नेपालका लागि पहिलो स्वर्ण पदक जितेकी थिइन् । उनले थाउलो नान छवाङ स्पर्धाको अलराउन्डरतर्फ स्वर्ण जितेकी हुन् । यसैगरी अर्को स्वर्ण पदक जुडो खेलाडी फुपूल्याह्मु खत्रीले जितिन् । तीन स्वर्णका अतिरिक्त प्रतियोगितामा नेपालले २३ रजत र ३४ वटा कांस्य पदक पनि हात पार्यो । उसु, तेक्वान्दो र जुडोका अधिकांश स्पर्धामा नेपाली खेलाडी फाइनलमा पुगेर पराजित भएका थिए, जसबाट नेपाली खेलाडीमा वैदेशिक प्रशिक्षणको अभाव रहेको स्पष्ट देखिन्थ्यो ।
१३ वर्षीया नेपाली किशोरी गौरिका सिंहको प्रदर्शन पनि सागमा लोभलाग्दो रह्यो । उनले एउटै सागमा चारवटा पदक जितेर पौडीको आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले भविष्य उज्ज्वल रहेको संकेत दिइन् । उनले एउटा रजत र तीनवटा कांस्य पदक हात पारिन् । यसअघि कुनै पनि नेपाली पौडी खेलाडीले सागको पौडीमा दुई वा सोभन्दा बढी पदक जित्ने सकेको थिएन ।
अन्तिम पदक तालिकामा नेपाल छैटौं भयो । स्वर्ण जित्न नसकेका माल्दिभ्स र भुटानमात्र नेपालभन्दा पछाडि रहे । प्रतियोगितामा आयोजक राष्ट्र भारत एक सय ८८ स्वर्ण, ९० रजत र ३० कांस्यसहित पदक तालिकाको पहिलो स्थानमा रह्यो । दोस्रो भएको श्रीलंकाले २५ स्वर्ण, ६३ रजत र ९८ कांस्य पदक जित्यो । १२ स्वर्ण, ३७ रजत र ५७ कांस्यसहित पाकिस्तान तेस्रो तथा सात स्वर्ण, नौ रजत र १९ कांस्यसहित अफगानिस्तान चौथो भए । पाँचौं भएको बंगलादेशले चार स्वर्ण, १५ रजत र ५६ कांस्य पदक हात पार्यो । यसअघि बंगलादेशको ढाकामा भएको ११ औं सागमा नेपालले आठ स्वर्ण, नौ रजत र २० वटा कांस्य पदक जितेको थियो ।
साग आयोजनाको जिम्मेबारी
१३ औं दक्षिण एसियाली खेलकुद आयोजनाको जिम्मेवारी नेपालले पाएको छ । १२ औं सागको गुवाहाटीमा भएको समापन समारोहमा दुई वर्षपछि आगामी साग नेपालमा आयोजना गर्ने गरी झन्डा हस्तान्तरण गरिएको थियो । झन्डा हस्तान्तरण कार्यक्रममा युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतका पदाधिकारी उपस्थिति थिए । २०७२ मै सम्पन्न ओलम्पिक कमिटिको चुनावबाट जीवनराम अध्यक्ष भएपछि नेपालको ओलम्पिकमा देखिएको विवाद विस्तारै मत्थर भएको छ । सरकार, राखेप र ओलम्पिक सञ्चालन गर्ने पदाधिकारी एउटै पार्टी (एमाले) सर्मथक भएकाले पनि ओलम्पिक विवाद साम्य भएको हो ।
गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पले नेपाली खेलकुदको संरचनामा समेत व्यापक क्षति पुर्याएको वर्तमान स्थितिमा नेपालका लागि दुई वर्षभित्र १३ औं साग आयोजना गर्नु निकै ठूलो चुनौतीका रूपमा रहेको छ । अर्कोतिर आठौं दक्षिण एसियाली खेलकुद नेपालमा आयोजना हुँदा चीन सरकारले बनाइदिएको नेपाली खेलकुदका भौतिक पूर्वाधारसमेत जीर्ण भइसकेका छन् । नेपालले आयोजना गर्न लागेको यो तेस्रो दक्षिण एसियाली खेलकुद हुनेछ । सन् १९८४ मा पहिलो दक्षिण एसियाली खेलकुद पनि नेपालमै आयोजना भएको थियो ।
हुन सकेन राष्ट्रिय खेलकुद
पटकपटक मिति सारिँदै आएको राष्ट्रिय खेलकुद प्रतियोगिताको सातौं संस्करण २०७२ सालमा पनि आयोजना हुन सकेन । सातौं राष्ट्रिय खेलकुद २०७० सालमै पूर्वाञ्चाल विकास क्षेत्रमा आयोजना हुनुपर्ने थियो । कहिले पदाधिकारीबीचका आपसी विवाद त कहिले बजेटको अभावले पटकपटक रोकिएको सातौं राष्ट्रिय खेलकुद अन्तिम पटक २०७२ साल फागुन १७ गतेदेखि पूर्वाञ्चलका विभिन्न जिल्लामा आयोजना गर्ने तयारी भएको थियो ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमै गर्न पटकपटक अर्थ मन्त्रालयलाई आग्रह गर्दा पनि बजेट निकास नगरेकाले प्रतियोगिता हुन नसकेको दाबी युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल र सदस्यसचिव केशवकुमार विष्टको छ । मन्त्री मण्डल र सदस्यसचिव विष्ट दुबैले २०७२ सालमै आआफ्नो जिम्मेवारी सम्हालेका हुन् । सुदूरपश्चिमाञ्चलका भएको छैटौं राष्ट्रिय खेलकुदको समापन समारोहमा सातौं संस्करण पूर्वाञ्चलमा गर्ने गरी झन्डा हस्तान्तरण गरिएको थियो । पछिल्लो पटक १२ औं सागपछि आयोजना गर्ने भनिए पनि सातौं राष्ट्रिय खेलकुदको नयाँ मिति अझै घोषणा गरिएको छैन ।
annapurnapost
फुटबलले तताएको वर्ष- २०७२
news and entertainment
