'प्रेममात्र गर्छु बिहे गर्दिनँ भनेर कसैले प्रेम गर्दैन'
फस्ट लभ
१. पहिलो प्रेम ?
कक्षा ८ मा पढ्दा पहिलो पटक उसलाई देखेकी थिएँ । फुपूको साथीको भाइ भएकाले घरमा आइरहन्थ्यो । उसले पनि मलाई मन पराएको थाहा थियो तर कहिल्यै दोहोरो कुरा हुन पाएन।
२. कुराकानी किन भएन ?
त्यतिबेला अहिलेजस्तो मोबाइल फोन थिएन । ल्यान्डलाइन पनि सबैको घरमा हुँदैनथ्यो । पीसीओबाट गफ गर्ने कुरा भएन ।
३. त्यो प्रेमले निरन्तरता पाएन ?
मलाई थाहै नदिई ऊ विदेश गएछ । कुन देश गएको पनि थाहा थिएन । प्लस टु सक्नेबित्तिकै विदेश गएको मान्छे चार वर्षअगाडि नेपाल आएर फेरि निरन्तरता दिन खोज्यो तर टिनएजमा जस्तो भावना आएन । पहिलो पटक मन पराएको, माया गरेको मान्छे हो तर फेरि सम्बन्ध अगाडि बढाउने विषयमा सोच्नै सकिन । टिनएजमै बिहे गरौं भनेको भए सायद हुन्थ्यो पनि होला तर अब ती सोचाइहरू सकिइसके छन् ।
४. उहाँको कुन कुरा मन परेको थियो ?
राम्रो थियो । बोल्दै नबोल्ने हेरेर हाँस्नेमात्र । टाढाबाट पनि मलाई नै हेरिरहेको हुन्थ्यो । जति बेला हेर्दा पनि हाँसिरहेको देख्थेँ । मभन्दा दुई ब्याच सिनियर भए पनि मेरो ग्रुपसँग पिकनिक गएको थियो । मेरै लागि पिकनिक गए पनि मसँग एक वचन पनि बोलेन ।
५. प्रेम के जस्तो लाग्छ ?
प्रेम विश्वास, साथ हो । साँचो प्रेम गर्ने मान्छे भयो भने आधार भएजस्तो महसुस हुन्छ । आफ्नो काममा साथ दिने कोही छ भन्ने विश्वास हुन्छ । कसैलाई भन्न नसकेका कुराहरू प्रेमीलाई भनिन्छ । प्रेम रिलिफ हुने ठाउँ पनि हो ।
६. प्रेम गरेकै व्यक्तिसँग विवाह हुनुपर्छ ?
प्रेममात्र गर्छु बिहे गर्दिनँ भनेर कसैले पनि प्रेम गरेको हुँदैन । कुनै कारणले नजुर्नु अलग कुरा हो ।
७. जीवन साथी कस्तो व्यक्ति चाहनुहुन्छ ?
आफूलाई बुझ्नेमात्र भएर हुँदैन आफूले पनि बुझ्ने खालको हुनुपर्छ ।
८. खोजेजस्तो मान्छे पाउनुभयो त ?
खोजेकै जस्तो त भेटिन्छ जस्तो लागेन । कसैले पनि आफूले चाहेजस्तो भेट्दैन । केही न केही सम्झौता जहाँ पनि गर्नैपर्छ ।
९. अहिलेको प्रेमको ट्रेन्ड कस्तो लाग्छ ?
छिट्टै ब्रेकअप र प्याचअप हेर्दा नराम्रो लाग्छ । साँच्चै एकअर्कालाई बुझ्न सकिँदैन भने सँगै नबसेकै राम्रो । आफूले चाहेको काम गर्न पाउनुपर्छ । तर सम्बन्ध जोड्ने बेलामा समय लिएर सोचविचार गर्नु राम्रो।
annapurnapost